अहिले के गरिरहनु भएको छ ?
मैले कार्यकारीको अधिकार पाएको दुई महिना पनि भएको छैन । शुरुमा तलब खुवाउने र दैनिक काम गर्ने भन्दा केही अधिकार थिएन । असोजमा फुल अधिकार पाए पछि यहाँका समस्या र बेथितिलाई ध्यान दिएर काम अगाडि बढाएको छु । बीपी प्रतिष्ठान तपाई हामीले बुझेकै हो । यहाँ समस्यै समास्या छन् । ती समस्यालाई किनारा लगाउने पय्रत्न गरिरहेको छु ।

तपार्इं कार्यवाहक उपकुलपति भएपछि प्रतिष्ठानमा के के सुधारका काम भए ?
म कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा आए पछि नयाँ काम त केही गर्न पाएको छैन। सिनेटको बैठक बस्न पाएको छैन। यहाँ भएका समस्यालाई सुल्झाउन लागि परेको छु । मुख्य यहाँ अक्सिजनको समस्या थियो । दैनिक ७० हजारको सिलिण्डर किनेर काम चलाउँदै आइएको थियो । यहाँ भएको अक्सिजन प्लान्टलाई मर्मत गरेर ७५ प्रतिशत अक्सिजन अभावलाई पूर्ति गरिएको छ । यहाँ दैनिक ८ सय सिलिण्डर अक्सिजन खपत हँुदै आएको छ । दैनिक १६ सय क्षमताको प्लान्ट हो । मेसिनमा समस्या भएर पूर्ण क्षमतामा अझै उत्पादन भइरहेको छैन। मर्मत गर्ने काम गरिरहेका छौं । इमरजेन्सीको सिटी स्क्यान ढेड वर्षदेखि बिग्रिएर थन्किएको थियो । म आएपछि २ स्लाईसबाट स्तरोन्नति गरी १६ स्लाईसको बनाएर १० वर्षसम्मका लागि ल्याएका छौं । ब्रिटिस सरकारले डोनेसन गरेको एमआरआई मेसिन पनि चलेको थिएन । त्यसलाई मर्मत गर्न लगाएर अहिले सञ्चालनमा छ । राजधानी बाहिर राम्रो मुटुको उपचार हुने प्रतिष्ठानमा क्याथल्याब समेत बिग्रिएको थियो । म आउने बितिकै मर्मत गरेर हाल सञ्चालनमा छ । प्रतिष्ठानमा ९ वटा अल्ट्रासाउण्ड मेसिनमध्ये ७ वटा मेसिन सञ्चालनमा छन् । नचलेका मेसिन मर्मतको प्रक्रियामा छन् ।

अनि डाइलोसिस गर्न पालो नपाएर बिमारीहरु समस्यामा परेका छन् नि ?
वास्तावमा बीपी प्रतिष्ठानमा बिमारीको चाप अत्यधिक बढेको छ । बिमारीको चाप अनुसार यहाँ जनशक्ति भए पनि श्रोतसाधानको कमी भएकै हो । यहाँ डाइलसिस गर्ने बिमारीको चापलाई मध्यनजर गरेर २८ वटा डाइलसिस मेसिनहरू आउने प्रक्रियामा छन् । अहिले ७ वटा सञ्चालन भइरहेका छन् । डाइलसिसका नयाँ मेसिन आएपछि छट्टै भवनमा डाइलसिस मेसिन राखेर उपचार गराउँछौ । २८ वटा थपिएपछि बिमारीलाई समस्या हुने छैन। अहिले डाइलसिस भएको बेडमा १० वटा आइसियु थपेर आइसियु अभावलाई समेत हटाउने तयारी गरिरहेका छौं ।

अनि आकस्मिक कक्षमा बिमारीको चापलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
आकस्मिक कक्षमा अत्यधिक बिमारीको चाप छ । भवन अभावले यस्तो समस्या भएको हो। हामीलाई जनशक्तिको अभाव छैन तर श्रोत र साधानको अभाव छ । त्यसका लागि आकास्मिक कक्ष पछाडि ४० बेडको भवन बनिरहेको थियो । बिचमा समस्या भएर स्वास्थ्य मन्त्रालयले गर्दा निर्माण कार्य बन्द भएको थियो । हाल त्यो मेरै पहलमा स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर धमाधम बनाउँदै छौं । त्यो भवन तयार भएपछि आकस्मिक कक्षको समस्या हल हुनेछ । प्रसूती विभागमा पनि समस्या उस्तै छ । त्यसका लागि एमसिएच भवन निर्माण हुँदै गर्दा रोकिएको थियो । त्यो पनि स्वास्थ्य मन्त्रालयले निर्माणका लागि अनुमति दिएको छ । तर सिनेट बैठक नभएर बजेट स्वीकृितका लागि रोकिएको छ । सिनेट भएपछि सबै काम सुचारु हुनेछन् र त्यहाँको पनि समस्या समाधान हुनेछ ।

गत महिना हुने भनेको सिनेट किन रोकियो नि ?
आन्तरिक तयारी नभएर सिनेट रोकिएको हो । यहाँ रजिष्टारको पनि नियुक्ति भएको छैन। हामीले प्रक्रिया शुरु गरेका छौं । अब रजिष्टार नियुक्ति भए पछि सिनेट हुने छ । सिनेटले भवनको, कर्मचारीको बढेको तलव सरुवा, बढुवा तथा अन्य कर्मचारी नियुक्तिको प्रक्रिया गरी यहाँ भएको अभावलाई समाधान गर्नेछौं ।

हालसम्म त बीपी प्रतिष्ठान विना योजना चलिरहेको छ, तपाईंले केही योजना बनाउनु भएको छ ?
वास्तवमा अहिलेसम्म बीपी प्रतिष्ठान विना योजना चलिरहेको थियो । मैले उपकुलपतिको कार्यभार लिएसँगै १० वर्षे योजना बनाएर काम गर्ने तयारीमा जुटेको छु । दीर्घकालीन र अल्पकालीन गरेर दुई खालका गुरु योजना बनाउँदै छौं ।त्यसका लागि योजना आयोग निर्माण गर्दै छौंं । योजना आयोगले योजना बनाएर पेस गर्नेछ र त्यही योजनाअनुसार काम अगाडि बढाउँछौं । अब प्रतिष्ठान कुनै व्यक्तिले हाँक्ने नभई योजना आयोगको योजना अनुसार चल्नेछ ।