उदयपुर/ अज्ञात रोगले उदयपुरको मझौलेमा गोठ रित्तो भएको छ । एकै रातमा रौतामाई गाउँपालिका–५ मझौलेका हर्कबहादुर राईको चारवटा गाई, गोरु मरेका हुन् ।

बेलुका सञ्चै बाँधेका गाई, गोरु बिहान घाँस दिन जाँदा मृत अवस्थामा फेला परेको राईले बताए । उनले भने, ‘गाई थलामा दाम्लाले बेलुका बाँधेकै अवस्थामा मरेको भेटेँ ।’ दुईवटा ठूलो गोरु, एउटा दूध दिँदै गरेको (दुहुना) गाई र एउटा बहर गोरु मरेको उनले बताए ।
गोठमा पाँचवटा गाईवस्तु भए पनि सानो बाच्छा मात्रै जिउँदो रहेर अरू सबै मरेको रौतामाई गाउँपालिका–५ का वडाध्यक्ष पाण्डव राईले बताए । एक्कासि गाईवस्तु मरेको जानकारी आएपछि गाई, गोरु मरेको ठाउँमा पुग्दा एउटा गोरु सुतेकै अवस्थामा मरेको र अरूले खुट्टा फालेको अवस्थामा मरेको राईले बताए ।

बेलुका गोठमा सञ्चै बाँधेका गाई, गोरुलाई कोदोको नल दिएको राईले जनाएको रौतामाई गाउँपालिकाका पशु शाखा कार्यालयका प्रमुख तथा नायव पशु प्राविधिक लक्ष्मण कार्कीले बताए । घटनाको प्रकृति हेर्दा फुड पोइजन भएजस्तो देखिन्छ । तर ल्याव टेष्टको रिपोर्टपछि मात्रै के हो भन्ने एकिन हुने उनले बताए ।

पशु प्राविधिक कार्कीले भने, ‘हामीले मरेका गाई, गोरुको ल्याव टेष्टका लागि आवश्यक सेम्पल विराटनगर ल्यावमा पठाएका छौँ । सोमबारसम्ममा त्यसको रिपोर्ट आउने भएकाले त्यसपछि मात्रै के कारणले गाई, गोरु मरेको भन्ने कारण खुल्नेछ । अहिले के कारणले मृत्यु भएको भन्न सक्ने अवस्था छैन ।’

बेलुका गाई, गोरुलाई लगाइदिएकै नल भैँसी र बाच्छालाई पनि लगाइदिएको राईले जनाएका छन् । तर भैँसी र बाच्छालाई केही नभएको कार्कीले बताए । र्याल काढेर र जिब्रो टोकेर गाई, गोरु मरेको उनले बताए ।

पोष्टमार्टम गरेर हेर्दा मरेका वस्तुको पेटमा पनि कोदोको नलभन्दा अरु विषालु कुनै घाँस छैन भने गाईगोठ वरिपरि पनि कुनै त्यस्तो विषालु घाँस नभएको कार्कीले बताए । ‘के कारणले गाई, गोरु मरेका हुन् भन्न सकिँदैन, रिपोर्ट आएपछि मात्रै एकिन हुनेछ’ –उनले भने ।