विराटनगर । मुख्य न्यायाधीवक्ताको कार्यालय १ नम्बर प्रदेश कार्यालयले तयार पारेको आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेको छ ।
मुख्य न्यायाधीवक्ताले तयार पारेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन शुक्रबार १ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रदेशका मुख्य न्यायाधीवक्ता चूडामणि आचार्यले पेश गरेका हुन् । आर्थिक वर्ष सकिएको तीन महिनाभित्र न्यायाधीवक्ताको कार्यालयले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने हो ।

तर, मुख्य न्यायाधीवक्ताको कार्यालयले एक महिना ढिलो गरी प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुखले उक्त वार्षिक प्रतिवेदन अध्ययन गरिसकेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् प्रदेश सभामा पेश हुनेछ ।

प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गरेपछि आयोजिक कार्यक्रममा बोल्दै मुख्य न्यायाधीवक्ता आचार्यले प्रदेशको मुख्य न्यायाधीवक्ताको कार्यालयको काम, कर्तव्य, अधिकार र सुझावसहितको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेको बताए । उनले स्थानीय तह र प्रदेश सरकारले कानून कार्यान्वयन गरिरहेको भन्दै कतिपय स्थानीय तहमा भने कानूनबारे अनभिज्ञता प्रकट भएको उनले सुनाए । कार्यालयले प्रदेशका १४ वटै जिल्लामा पुगेर अन्तरक्रियामार्फत् कार्यालयको काम र कर्तव्यबारे जानकारी गराएको प्रतिवेदनमा उल्लेख छ ।