उदयपुर । जङ्गली हात्ती आतङ्कले उदयपुरका स्थानीयबासी जाग्राम बस्न बाध्य भएका छन् । रातको समयमा जङ्गली हात्ती आएर घर भत्काउने, अन्नपात खाएर नष्ट गर्ने गरेपछि स्थानीयबासी रातभर आगो बालेर जाग्राम बस्न बाध्य भएका हुन् ।

जङ्गली हात्तीको समूह सप्तरीको रूपनी, फत्तेपुरलगायतका विभिन्न गाउँबस्तीमा क्षति गर्दै उदयपुर प्रवेश गरेको प्रहरीले जनाएको छ । भारतबाट नेपाल प्रवेश गरेका ६ वटा सेता हात्ती रहेको स्थानीयले बताएका छन् । दुईवटा बच्चा, दुईवटा दँतार र दुईवटा माउ हात्ती रहेको प्रहरीले जनाएको छ । सप्तरीबाट उदयपुरको चौदण्डीगढीको हडैया, त्रियुगा नगरपालिका–१ को जोगीदह, २ को भुल्के, ३ को मोतीगडा चाँप हुँदै ४ नम्बरको बगाहामा क्षति गर्दै पुगेको प्रहरीले जनाएको छ ।

यही मङ्सिर १६ गते त्रियुगा–३ चाँपमा राति नमिता राई र प्रशान्त बस्नेतको घर भत्काएको प्रहरीले जनाएको छ ।
एक तले टिनको छानो भएको घर र भान्साकोठा भत्काई अन्नपात खाएर नष्ट गरेको प्रहरीले जनाएको छ । राईको ८ हजार र बस्नेतको २२ हजार रुपैयाँको क्षति गरेको प्रहरीले जनाएको छ । त्यस्तै मङ्सिर १७ गते राति २ः२० बजे चाँपकै गङ्गामाया राईको एक तले टिनले छाएको घर पूर्णरूपमा भत्काई अन्नपात नष्ट गर्दा करिब ३ लाख रुपैयाँ बराबरको क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

स्थानीयबासीलाई हात्तीले दुःख दिएपछि सशस्त्र प्रहरी बल नं. ५ गण उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त टोलीले हात्तीलाई जङ्गलतर्फ लखेटेको प्रहरीले जनाएको थियो । अहिले ४ नम्बरको बगाहामा धान, कोदो बाली खाएर नष्ट गर्न थालेको प्रहरीले जनाएको छ ।

जङ्गल छेउछाउ घर भएका स्थानीयबासीहरू गाउँका बीच–बीचमा आगो बालेर जाग्राम बस्न बाध्य भएको त्रिनपा–४ का वडाध्यक्ष सुवासकुमार निरौलाले बताए । हात्तीको समूहले अहिलेसम्म वडामा १९ वटा घरमा क्षति पु¥याएको बताउँदै स्थानीयबासी त्रासमा रात कटाउन बाध्य भएको उनले बताए ।

घर भत्काएर अन्नपात खाने गरे पनि अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको वडाध्यक्ष निरौलाले बताए । हात्ती आतङ्क नियन्त्रण गर्नका लागि सुरक्षा निकायसँग छलफल गरी जनचेतना फैलाउने निर्णय भएको छ । सशस्त्र प्रहरी बल नं. ५ गण उदयपुर, जिल्ला प्रहरी कार्यालय र नेपाल आर्मीको १८ नं. बाहिनी भुल्केबाट समेत सुरक्षा टोली आएको उनले बताए ।
त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बलको संयुक्त सुरक्षा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।