विराटनगर/ चारजना महिला मिलेर प्रदेश १ को राजधानी शहर विराटनगरमा साढे ७ करोडको लगानीमा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार हुने हस्पिटल खुलेको छ । विराटनगर–२ सौगातमार्ग वरगाछीस्थित ओम वेल्नेस हस्पिटल खोलेका हुन् । उक्त हस्पिटलको औपचारिक रूपमा उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हस्पिटलको उद्घाटन गरी सञ्चालनमा ल्याउने जानकारी दिइयो । यो हस्पिटलको अध्यक्ष शिवा उपाध्याय (अञ्जु) रहेकी छन् । सञ्चालकहरूमा नमिता न्यौपाने, राधा ढकाल (अधिकारी) र बिना कार्की छिन् ।

अस्पतालमा प्राकृतिक चिकित्सा एवम् वैकल्पिक चिकित्सा विज्ञानका माध्यमबाट अनुभवी, विज्ञ र दक्ष चिकित्सकबाट हस्पिटलले सेवा दिने सञ्चालक नमिता न्यौपानेले जानकारी दिइन् । तीन कठ्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासम्पन्न भवनमा रहेको हस्पिटलको सञ्चालन तयारीमा रहेको उनले बताइन् । ‘हस्पिटल सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएको छ, औपचारिक रूपमा प्रदेश १ का मुख्यमन्त्रीज्यूले उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारीमा छौं’ सञ्चालक न्यौपानेले भनिन् ।

हस्पिटल खोलेको जानकारी पाएपछि अहिले प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्न बिरामीहरू आउन थालेका उनले बताइन् । पहिलो चरणमा १० शय्याको अस्पताल सञ्चालन गर्ने स्वीकृति पाएको जानकारी दिँदै उनले चाँडै ५१ शय्याको पुर्याएर प्राकृतिक चिकित्सा पद्धतिबाट गुणस्तरीय सेवा दिने लक्ष्य रहेको उल्लेख गरिन् । अस्पतालमा प्राकृतिक चिकित्सा एवम् वैकल्पिक चिकित्सा विज्ञानमा रहेर शिरोधारा, योगामड थेरापी, जाकुजी, स्टीम बाथ, साउना बाथ, अकुप्रेसर, अकुपञ्चर फिजियोथेरापी, डाइट तथा न्युट्रिसन आदिको माध्यमबाट विभिन्न रोगहरूको सर्वसुलभ र प्रभावकारी उपचार गरिने सञ्चालक न्यौपानेले बताइन् ।

‘रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने यस पद्धतिको प्रमुख उद्देश्य हो’ उनले भनिन्, ‘जीवनशैली, हाडजोर्नी तथा नशासम्बन्धी सफल उपचारको लागि सुविधा सम्पन्न योग तथा प्राकृतिक चिकित्सा हस्पिटल हो यो ।’ अस्पतालको पहिलो तलामा ओपिडीसहित विशेष सेवाहरू रहेका छन् । दोस्रो तलामा बेड भर्ना भएका बिरामीहरूका लागि वार्ड रहेको छ । अहिले उक्त अस्पतालमा कन्सल्टेण्ट फिजियोथेरापिष्ट डा. मो. जावेद र प्राकृतिक चिकित्सक डा. प्रकृति सिंहले सेवा प्रदान गर्ने भएका छन् । हस्पिटलमा विभिन्न प्रकारका उपचार प्राकृतिक चिकित्सा पद्धतिबाट हुने अध्यक्ष उपाध्ययले जानकारी दिइन् ।

ढाड, कम्मर, गर्धन, घुँडा तथा अन्य जोर्नीहरू दुख्ने, हड्डी खिइएको, नसा च्यापिएको, साइटिका र अन्य रेडिकुलोपेथी, बाथ रोगहरूको उपचार हुनेछ । त्यस्तै पिनास, एलर्जी, दम, पुरानो खोकी, टाउको दुख्ने, माइग्रेन, मानसिक तनाव, अनिद्रा (स्लिप क्लिनिक), सर्जरीपश्चात चाहिने फिजियोथेरापी र पुनस्र्थापना, मोटोपन, कोलेस्टेरोल, उच्च रक्तचाप तथा मधुमेह, ग्याष्टिक, कब्जियत, अपच, अल्सर र पाइल्सको उपचार पनि अस्पतालमा हुने व्यवस्थापनले जनाएको छ ।

अस्पतालले आकस्मिक सेवा, बहिरङ्ग र अन्तरङ्ग सेवा, फिजियोथेरापी, अत्याधुनिक इलेक्ट्रोथेरापी, रिह्याबिलिटेसन सेवाहरू रहेको छ । यस्तै अर्थोपेडिक, न्यूरो पुनस्र्थापना, स्पोर्ट्स इञ्जुरी पुनस्र्थापना, माया तथा मसाज थेरापी रहेको छ । यस्तै विशेष सेवाहरूमा हेल्थ स्पा, समाज थेरापी, जल चिकित्सा, जाकुजी, अकुपञ्चर, मड थेरापी, स्टिम बाथ, साउना बाथ, शिरोधारा, डिलक्स हाइड्रो मसाजलगायत रहेका छन् ।