ताप्लेजुङर/ताप्लेजुङ सदरमुकाम फुङ्लिङको बसपार्क नजिकैको तागेरा होटलमा एक पुरुष मृत भेटिएका छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–९ का ३६ वर्षीय अशोक भनिने भीमकुमार मादेन लिम्बू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर बिष्णुबहादुर खड्काले जानकारी दिए । मृतक र एक महिला आफन्त घुम्नका लागि ताप्लेजुङ आएका थिए । उनीहरू घुम्ने क्रममा उक्त होटलमा कोठा बुकिङ गरी बसेका थिए । होटलमा बसेका मादेनको मृत्यु भएपछि महिलासहित होटल साहुले प्रहरीले खबर गरेका थिए ।

मृतक मादेन मुटुको बिरामी रहेको बुझिएको छ । उनको साथबाट मुटुको औषधिहरू फेला परेको थियो । ‘मृतक मादेन प्रेसर र मुटुका बिरामी रहेको उनका बुबाले हामीलाई जानकारी गराएका छन्’ सूचना अधिकारी इन्स्पेक्टर खड्काले भने ‘उनको मृत्यु सोही रोगका कारण हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौ ।’ घटनाबारे अनुसन्धान जारी रहेको र शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उनले जनाए ।