दमक/ दमकमा सञ्चालित विभिन्न कोठे सहकारीहरूले सेवाग्राहीको बचत रकम कुम्ल्याएर सुइँकुच्चा ठोक्ने गरेका छन् । फितलो सञ्चालक समिति, कमजोर व्यवस्थापन समूह भएका कारण दमकका कोठे सहकारीहरू एकपछि अर्को बन्द हुँदै भाग्ने क्रम बढ्दो छ । बुधबार ब्लाष्ट टाइम्स दैनिकले दमक–६ मा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको विजोग भएको समाचार सार्वजनिक गरेपछि दमकमा अन्य सहकारीका पीडितहरू पनि सम्पर्कमा आएका छन् । मेहनत र दुःख गरेर बचाएको रकम सहकारीमा राख्दासमेत असुरक्षित भएको भन्दै गुनासो गरेका छन् ।

नारायणी बचत तथा ऋण सहकारी संस्थाले दमक–६ स्थित घिमिरे मार्केट नजिकैको एक घरमा कार्यालय सञ्चालन गरी आएको र सो संस्थामा बचत गरेका बचतकर्ताहरूको लाखौं रुपैयाँ निक्षेप फिर्ता नगरेको भन्दै पीडितहरू हारगुहार गरिरहेका छन् । सो सहकारीमा आफ्नो, आफ्नी श्रीमती र छोराछोरीका नाममा समेत करिब १३ लाख रुपैयाँ बचत गरेर त्रैमासिक रूपमा ब्याज रकम बुझ्दै आएका दमक–८ का टीका भट्टराईले पछिल्ला केही दिनयता बचत रकम फिर्ता लिन खोजे पनि पाउन नसकेको बताएका छन् । उनले बचत रकम फिर्ता दिलाउने निकाय कुन हो र कसरी फिर्ता लिन सकिन्छ ? भन्ने बारेमा आफूलाई जानकारी नहुँदा दिनहुँ कार्यालयसम्म आउने गरेको बताए ।

सोही सहकारीमा आफ्ना छोराछोरीले कमाएर पठाएको १२ लाख रुपैयाँ बचत गरेको बताउने कोहबरा बालुबथान स्थायी घर भएकी सरस्वती घिमिरेले १६ प्रतिशत ब्याज पाउने आशामा राखेको बचत रकम फिर्ता पाउन नसकेको बताउँछिन् । २ लाख रुपैयाँ हाराहारीमा बचत गरेर ब्याज लिँदै आएका वृद्ध नन्दलाल आचार्यले पनि संस्थामा गरेको बचत रकम फिर्ता पाउन नसकेको गुनासो गरे ।

सो सहकारीका करिब १५ जना पीडित बचतकर्ताहरू बुधबार दमक नगरपालिकाको सहकारी शाखामा गएर आफ्नो समस्या सहकारी शाखाका प्रमुख इच्छाराम चौलागाईंसँग राखेपछि उनले नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर समस्या राख्न सुझाव दिएका थिए । तर पीडितहरूले नगरप्रमुख रोमनाथ ओली काम विशेषका कारण विराटनगर गएको र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा उनलाई भेट्न नसकेको गुनासो गरेका छन् ।

नारायणी सहकारीको सञ्चालक समितिका अध्यक्षसहित बहुमत पदाधिकारीहरूलाई बचतकर्ताहरूले भेट्न सकेका छैनन् भने दुई जनासँग भेट भए पनि आफूहरूले मात्रै सो रकम फिर्ता गर्नसक्ने अवस्था नरहेको भन्ने जवाफ पाएका छन् ।

नियमितरूपमा सञ्चालन हुँदै आएका संस्थाहरूले वार्षिकरूपमा हरेक आर्थिक वर्षको ६ महिनाभित्र अनिवार्यरूपमा वार्षिक साधारणसभा गरी, साधारणसभाको निर्णय पुस्तिकाको एकप्रति नगरपालिकाको सहकारी शाखामा बुझाउनु पर्ने, लेखापरीक्षण प्रतिवेदन पेश गर्नुपर्ने, मासिकरूपमा वित्तीय कारोबारको विवरण बुझाउनु पर्ने र चुनावी साधारणसभा भए निर्वाचित समितिको नामावली पेश गर्नुपर्ने लगायतका व्यवस्था भए पनि दमकमा सञ्चालित नगरको नियमन तथा रेखदेखको क्षेत्राधिकारभित्र रहेका ९० बढी सहकारीमध्ये चालू आर्थिक वर्षको हालसम्म १६ वटाले मात्रै त्यस्तो विवरण बुझाउने गरेका नगरपालिकाका सहकारी प्रमुख इच्छाराम चौंलागाईंले जानकारी दिए ।

स्थानीय सरकार सञ्चालनमा आएको अढाई वर्ष बिते पनि सहकारी संस्थाहरूले स्थानीय सरकारलाई अटेर गरिरहेका छन् भने स्थानीय सरकार र सरकारका अधिकारीहरूले पनि सहकारीमाथि नियमन गर्न खोजेको देखिँदैन ।