धरान/तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) का कारण टुबोर्ग बूढासुब्बा गोल्डकपको २२ औं संस्करण प्रभावित भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को तालिका अनुसार बिहीबारबाट हुने भनिएको बूढासुब्बा गोल्डकप सागका कारण अनिश्चित बनेको हो । एन्फाले अर्को मिति तय नगरिञ्जेलसम्म बूढासुब्बा कहिले हुने भन्ने निश्चित नभएको आयोजक धरान फुटबल क्लबले जनाएको छ । क्लबले अर्को मितिका लागि एन्फालाई मङ्सिरको पहिलो साता नै पत्राचार गरेको जनाएको छ । मङ्सिर २८ गतेदेखि शहीद स्मारक लिग शुरु हुँदै छ । लिग फागुनको पहिलो साता अर्थात् ५ गतेसम्म जारी रहने छ ।

त्यो बीचमा बूढासुब्बा गोल्डकप हुने सम्भावना लगभग टरेको एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्षसमेत रहेका क्लबका अध्यक्ष किशोर राईले बुधबारको पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘हामीले अर्को मितिका लागि एन्फालाई पत्राचार गरिसकेका छौं, नयाँ मिति आएपछि हामी सार्वजनिक गर्छौं ।’ २०५५ सालदेखि शुरु भएको बूढासुब्बा सबैभन्दा जेठो गोल्डकप मानिन्छ । यसअघि मोफसलमा कुनै पनि गोल्डकप हुने गरेको थिएन । अध्यक्ष राईले शहीद स्मारक लिग समापनपछि मात्रै प्रतियोगिता हुने सम्भावना रहेको बताए । ‘लिग हुँदै गर्दा प्रतियोगिता हुने सम्भावना न्यून छ, लिग सकिएपछि नै मिति निर्धारण होला’–उनले भने ।

गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भए पनि प्राविधिक कारणले अर्को मिति तय गर्नुपरेको क्लबका महासचिव प्रताप तामाङले बताए । उनका अनुसार यसपटक एन्फाले मोफसलका गोल्डकपहरूलाई वर्गीकरण गरेर दिएको र सोही अनुसार गोल्डकपको तालिका बनाइएको थियो । बूढासुब्बा एन्फाकाे श्रेणीमा क वर्गमा रहेकाे छ । ‘मङ्सिर १९ देखि गर्ने भनेर एन्फाले नै मिति तोकिएको थियो, त्यहीअनुसार तयारी पनि भइसकेको थियो’–उनले भने । यसपटक प्रतियोगिताका लागि १० वटा टिमहरू अन्तिम तयारीमा रहेका थिए । 

जसअनुरूप एन्फाले २ विदेशी टिमसँग समन्वय गरेको थियो भने बाँकी ए डिभिजनका क्लबहरू समावेश गर्ने तयारी भएको अध्यक्ष राईले बताए । यस पटक पनि बूढासुब्बामा विजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउँदै छ भने उपविजेताले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउँदै छ । त्यस्तै व्यक्तिगततर्फ भने पुरस्कारको राशि केही बढ्ने सङ्केत क्लबले गरेको छ । २१ औं बूढासुब्बा गोल्डकपको उपाधि विदेशी क्लब दाउफिन्स क्लबले जितेको थियो । जसमा आयोजक उपविजेतामा सीमित बनेको थियो ।