बिर्तामोड/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारले जुनसुकै समयमा पनि व्यक्तिको नाममा दर्ता रहेको जमिन अधिग्रहण गर्न सक्ने बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय चन्द्रगढीले मङ्गलबार बिर्तामोडमा आयोजना गरेको ‘विमानस्थल विस्तारका लागि तयार गरेको गुरुयोजना’ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले निजी स्वामित्वको जमिन भएका स्थानीयले स्थानान्तरणका लागि सरकारलाई सहयोग गर्नुपर्ने बताए । ‘जमिनको स्वामित्व भएका स्थानीयले त्यो जमिन पक्रेर राख्नुपर्छ भन्ने छैन, भट्टराईले भने(‘उनीहरूलाई सरकारले चित्त बुझ्दो ढङ्गबाट व्यवस्थापन गर्छ ।’

स्थानान्तरण गरिएकालाई जमिन उपलब्ध गराउनेदेखि रोजगारीको व्यवस्था गर्नेसम्मका कार्यक्रम ल्याउने उनले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) को मापदण्डअनुसार चन्द्रगढी विमानस्थलको धावनमार्गदेखि भौतिक संरचनासमेत पूर्ण भएका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइकाओको मापदण्ड बमोजिम चन्द्रगढी विमानस्थलको संरचना निर्माण गर्न बहस शुरु गरेको छ । सोही क्रममा विमानस्थलसँग जोडिएको बस्ती स्थानान्तरण गर्नुपर्ने योजनामा सरकारले पहल गर्ने मन्त्री भट्टराईले आश्वासन दिए ।

‘विमानस्थलको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध छ, यसको विकासमा बाधा पु¥याउन कसैलाई उचाल्ने काम नगर्नुस्, मन्त्री भट्टराईले भने–‘हामी उनीहरुलाई त्यो भन्दा आकर्षक स्थानमा स्थानान्तरण र रोजगारीको व्यवस्था गर्छाँै ।’ उनले धावनमार्ग पश्चिममा रहेका जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको गणलाई समेत स्थानान्तरण गर्नुपर्ने हुनसक्ने बताए । ‘पूर्वमा नेपाल भारत सिमाना भएका कारण धावनमार्गको पश्चिममा विस्तार गर्नुपर्ने अवस्था आएको मन्त्री भट्टराईले बताए । नेपालको नागरिक उड्डन प्राधिकरणलाई १० वर्षमा अन्तराष्ट्रिय मापदण्ड बमोजिमको बनाउन गृहकार्य भइरहेको उनले बताए । सोही बमोजिम चन्द्रगढी, विराटनगर, धनगढी लगायतका विमानस्थलबाट नजिकैका अरू देशमा उडान भर्ने र निजगढ विमानस्थललाई विश्वस्तरको बनाउने काम भइरहेको उनले बताए ।

पर्यटन वर्ष २०२० नजिकिदै गरेको सन्दर्भमा भट्टराईले पूर्वका पर्यटन ब्यवसायीहरू ‘अल्छे’ भएको आरोप लगाए । ‘यहाँ पर्यटनको अथाह सम्भावना छ, भट्टराईले भने–‘आफूलाई त जसो तसो दाल भात खान पु¥याउँदै हुनुहुन्छ होला, भावी पुस्ताका लागि पनि जाँगर चलाउनुहोस् ।’ पर्यटन व्यवसायी अल्छे भएका कारण झापाको चन्द्रगढी विमानस्थलबाट दैनिक ९ वटामात्र जहाज सञ्चालन भइरहेको उनले बताए । उनले भने–‘दैनिक ५० भन्दा बढी र राती १२ बजेसम्म जहाज सञ्चालन हुने वाताबरण बनाउन पर्यटन व्यवसायीले भूमिका खेल्न सक्छन् ।’ मानिसमात्र नभएर अब विमानस्थललाई सामान ढुवानीको ट्रान्जिट बनाउन उनले सुझाव दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल धनगढीदेखि चन्द्रगढीसम्मका विमानस्थलको मास्टर प्लान बनाएर काम गर्न शुरु गरेको बताए । उनले अहिले सञ्चालनमा रहेका जहाज नै पूर्ण क्षमतामा सञ्चालन गरियो भने पनि सफल भएको मान्न सकिने बताए । विमानस्थल विस्तारको लागि योजना तथा बजेटको व्यवस्था रहेको समेत उनले बताए । इन्जिनियर तथा चन्द्रगढी विमानस्थलका डिजाइनरले अहिले ६२ बिगाहा क्षेत्रफल रहेको विमानस्थललाई १ सय १ बिगाहा क्षेत्रफलको बनाउन आवश्यक रहेको बताए । आइकाओको मापदण्ड २०२२ सम्ममा क्षेत्रफल तथा भौतिक पूर्वाधार पूर्ण गर्नुपर्ने हुन्छ । चन्द्रगढीमा अहिले ६०० देखि ७०० यात्रुले दैनिक उडान भरिरहेका छन् । यो नेपालको आन्तरिक उडाको ८ प्रतिशत हिस्सा भएको अधिकारीले जानकारी दिए । चन्द्रगढीबाट नेपाल, वर्मा, भारत, बङ्गलादेश र भुटानका यात्रुले यात्रा गर्नेगरेको पाइएको छ ।

चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुडालले उडानलाई नियमित, सुरक्षित र भरपर्दो बनाउन प्रयासरत रहेको बताए । पछिल्लो समयमा धावनमार्ग फराकिलो बनाइएको, दमकलको व्यवस्था गरिएको, फ्युअल फिलिङको व्यवस्था गरिएको र सुरक्षाकर्मीलाई तालिम उपलब्ध गराइएको उनले बताए । प्यासेञ्जरले गाडीबाट उत्रेपछि जुत्तामा धुलो नलाग्ने बनाउने उद्घोष चुडालले गरे । जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले जुनसुकै विकल्प अख्तियार गरेर भए पनि विमानस्थलको विकासमा केन्द्रित हुनुपर्ने बताए । जमिन अधिग्रहणको सवालमा जिससले पर्याप्त प्रयास गर्ने धारणा उनले राखे ।

उद्योग बाणिज्य सङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले चन्द्रगढीलाई अन्तराष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताए । भारत, बङ्गलादेश, भुटानसँग व्यापारको हब चन्द्रगढी विमानस्थल बन्ने भन्दै कृषिजन्य उत्पादनको निर्यात केन्द्र बनाउनु पर्ने बताए । कार्यक्रममा संविधानसभाका सदस्य प्रेम गिरी, सुधिरकुमार शिवाकोटी, मनकुमार गौतम, प्रदेश सांसद एकराज कार्कीलगायतले सुझाव राखेका थिए ।