रङ्गेली/ न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र छथर जोरपाटी गाउँपालिका धनकुटाको संयुक्त आयोजनामा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

न्यूरो हस्पिटल विराटनगरको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा ७ सय ६१ जनाले स्वास्थ्य सेवा लिएकोे छथर जोरपाटी गाँउपालिकाले जनाएको छ । शिविर धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले अवलोकन गरेका थिए । उनले धनकुटा जिल्लामा बृहत् शिविर सञ्चालन गरेकोमा न्यूरो हस्पिटलप्रति कृतज्ञता व्यक्त गरे ।

न्यूरो हस्पिटलले आयोजना गरेको स्वास्थ्य शिविर जिल्लाकै उत्कृष्ट एवम् भव्य शिविर रहेको स्थानीय ताङ्बो शेर्पाले बताए । उनले वरिष्ठ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य शिविर हुनु नै धनकुटावासीका लागि गर्वको कुरा भएको बताए ।

शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलका डा. वीरेन्द्रकुमार विष्ट, न्यूरो सर्जन डा. यमबहादुर रोका, अर्थोपेडिक सर्जन डा. नवीनकुमार कर्ण, फिजिसियन डा. केशरबहादुर गुरुङ, रेडियोलोजिस्ट डा. रोशन कोइराला, नेत्ररोग विशेषज्ञ डा. नारायणी रोका, दन्तरोग विशेषज्ञ डा. अमितप्रताप साह, बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साहलगायतका विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य शिविरमा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले न्यूरो हस्पिटल समाजप्रति सदैव उत्तरदायी रहेको भन्दै आगामी दिनमा समेत यस्ता शिविरहरू आयोजना गर्ने अपेक्षा व्यक्त गरे । शिविरमा न्यूरोसम्बन्धी, महिलाको आङ खस्ने समस्या, महिनावारी, डाइबिटिज, फिजियोथेरापी, दन्तरोग, बालबालिकामा लाग्ने विभिन्न रोग तथा हाडजोर्नीका बिरामीले सेवा लिएका थिए ।

शिविरमा १ सय १३ जनाको इसिजी तथा ५ सय ५३ जनाको सुगरको टेस्ट गरिएको न्यूरो हस्पिटलका हस्पिटल डाइरेक्टर रञ्जितराज बस्नेतले बताए । न्यूरो हस्पिटलले सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै १ नं. प्रदेश तथा २ नं. प्रदेशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।

मेडिकल अफिसरहरू डा. ज्योत्सना पराजुली, डा. अमित चौधरी, डा. मयङ्कराज कर्ण, डा. जङबहादुर चापागाई, डा. मोहम्मद सिद्दिक, डा. बिनिता सञ्जेल, फिजियोथेरापिष्ट डा. नवीनकुमार चौधरी र डा. शेखर प्याकुरेल, रेडियोलोजिस्ट दयाराम भट्टराई, प्याथोलोजिस्ट नरेश साहलगायत ६३ जना स्वास्थ्यकर्मीको टोलीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।