दमक/ दमक–६ मा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक फरार भएका छन् । सहकारीको कार्यालय बिहीबार देखि बन्द छ । सोही सहकारीमा ७ वर्षदेखि बजार प्रतिनिधिको काम गर्दै आएकी विन्दादेवी रिजालका अनुसार करिब डेढ करोड रुपैयाँ हिनामिना गरेर व्यवस्थापन समूह नै सम्पर्क बाहिर छ ।

गौरव राजवंशी, शहरमान राई र सौरव राजवंशीले व्यवस्थापन गर्दै आएको सहकारी अहिले बन्द छ । बिहीबार बेलुकादेखि नै सम्पर्कबाहिर रहेका यी व्यवस्थापकका कारण यस सहकारीमा कारोबार गर्ने सेवाग्राहीहरू मारमा परेका छन् ।

गत साउनमा मृत्यु भएका धीरज बुढाथोकीको अध्यक्षतामा २०६९ सालमा स्थापना गरिएको यो सहकारीले अहिलेसम्म कुनै साधारणसभासमेत गरेको छैन । अन्य पदाधिकारीले समय –समयमा राजीनामा गर्दै छोडेपछि राईकै अध्यक्षतामा संस्था चलिरहेको थियो । बुढोथोकीकी श्रीमती सावित्रा बुढाथोकीका अनुसार श्रीमान् बिरामी भएका कारण संस्थालाई समय दिन नसकेको र व्यवस्थापकको भरमा छोडेपछि अवस्था यस्तो भएको हो ।

बजार प्रतिनिधि रिजालले बचतकर्ताले जम्मा गरेको ठूलो रकम कम्प्युटर सिस्टममा इण्ट्री गरेको बताइन । बजारबाट सङ्कलित रकम आफन्त र नातेदारमा लगानी गर्ने र असुली गर्न नसकेका कारण सहकारी डुबेको हो । साथै बिनाधितो लगानी गरिएका ऋणीको पहिचानसमेत नखुलाइएको रिजालले बताइन् । अहिले सहकारीमा कारोबार गर्ने कारोबारीहरूको भने अहिले बिचल्ली भएको छ ।