धनकुटा/ धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका–६ को पटेकडाँडाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ निर्माण कार्य अगाडि बढिरहेको हो । आ.व.०७६÷७७ मा नेपाल सरकारको पर्यटन विकासबोर्ड काठमाडौंबाट २५ लाख, प्रदेश स्तरको पर्यटन मन्त्रालयबाट १ करोडका साथै स्थानीयको लागत सहभागितासहित करिब ९० लाख रुपैयाँको लगानीमा निर्माण भइरहेको हो ।

हलहलेदेखि पटेक डाँडासम्म करिब ३ सय मिटरको रेलिङसहितको पक्की सिँढी निर्माण कार्य सम्पन्न भएको छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । त्यसैगरी आर्थिक वर्ष ०७५÷७६ मा पनि प्रदेश सरकारको १ करोड ५० लाख, पर्यटन विकास समिति काठमाडौंको ५० लाख र सङ्घीय सांसद् राजेन्द्रकुमार राईको सांसद् विकास कोषबाट २० लाख रुपैयाँ गरी जम्मा २ करोड २० लाखको काम भएको अध्यक्ष लिम्बूले बताए ।

पटेक डाँडाको उचाइ समुद्री सतहबाट करिब २६ सय ५० मिटर रहेको छ । यो डाँडाबाट बाह्रैमास मकालु हिमशृङ्खला, कुम्भकर्ण हिमशृङ्खलासहित १ नं. प्रदेशका अधिकांश जिल्लाका मनोरम दृश्य अवलोकन गर्न सकिने स्थानीय समाजसेवी एवम् नेपाल आदिवासी जनजाति महासङ्घ धनकुटाका निवर्तमान अध्यक्ष इन्द्र सारु मगरले बताए ।

पटेक डाँडा सरकारको पर्यटकीय गन्तव्य सूचीमा सूचीकृत भएपछि यो ठाउँमा आन्तरिक तथा वाह्य पर्यटकको चहल–पहल बढ्न थालेको पूर्वअध्यक्ष सारुले बताए । देश विदेशका पर्यटकलाई सेवा पु¥याउने उद्देश्यले पटेक डाँडामा भ्यूटावर, विभिन्न स्थानमा पिकनिक स्पट र विभिन्न जातजातिको बहुसाँस्कृतिक मठमन्दिर निर्माण गर्न पहल गरिएको छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिएका छन् ।

पटेक डाँडामा गुराँस फुलेकोदेखि लिएर हिमशृङ्खलालगायत अन्य दृश्य हेर्नको लागि पर्यटक आउँदा गाउँपालिकाको आयस्रोत वृद्धि हुने लिम्बूले आशा गरे । पटेक डाँडा हेर्न आउने आन्तरिक तथा वाह्य पर्यटकबाट उठेको रोयल्टीले सिङ्गो गाउँपालिकाकै विकासमा लगानी गर्न सकिने छथरजोरपाटीका पर्यटन व्यवसायी दीपक आले मगरले बताएका छन् ।