बिर्तामोड/ शिशुको मृत्युपछि मनमोहन सामुदायिक अस्पताल बिर्तामोडमा उत्पन्न भएको तनाव साम्य भएको छ । उपचारको क्रममा पाँच महिने शिशुको मृत्यु भएपछि उत्पन्न तनाव पीडित परिवार र अस्पताल र प्रशासनबीचको बैठकमा सहमति भएपछि साम्य भएको हो ।

त्रिपक्षीय बैठकले शिशुको नाममा अक्षयकोष स्थापना गर्न अस्पतालले ५ लाख उपलब्ध गराउने भएपछि सहमति भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । अस्पतालले बुधबार नै १ लाख नगद र बाँकी ४ लाख मङ्सिर मसान्तभित्र दिने सहमति भएको छ ।

मनमोहन सामुदायिक अस्पतालमा बिर्तामोड नगरपालिका वडानम्बर ५ निवासी विजय लिम्बूको पाँच महिनाकी छोरी विपिषाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो । मृतक शिशुका आक्रोसित आफन्तले अस्पतालमा ढुङ्गामुढासमेत गरेका थिए । मृतकका आफन्तले ढुङ्गा प्रहार गर्दा अस्पतालका केही सिसा फुटेका छन् । अस्पतालमा तोडफोड हुन थालेपछि थप क्षति हुन नदिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

पीडितका अनुसार मङ्गलबार दिउँसो १ बजे शिशुको उपचारका लागि अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा साँझ ५ः३० बजे मृत्यु भएको बताइएको छ । थप उपचारको लागि मनमोहन अस्पतालले नजिकै रहेको बी एण्ड सी अस्पताल रेफर गरेको थियो । तर, बिरामीको रेफर गर्नु अगावै अस्पतालमै मृत्यु भएको पीडितको भनाइ छ ।

विवादपछि इलाका प्रहरी कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सहमति जुटाएको छ । सहमतिमा अस्पतालका तर्फबाट रोमणी भट्टराई र पीडित परिवारको तर्फबाट विजय लिम्बूलगायत आफन्तले हस्ताक्षर गरेका छन् ।