जहाँ, जहाँ यो उपचुनाव हँुदै छ त्यहाँ यो प्रश्नले सबैलाई पिरोलेकै छ । त्यो सधैं सधैं जितेर आएका पार्टीहरू भए पनि त्यो पार्टी खेमा तप्कालाई कतै नयाँ इतिहास स्थापना हुन त लागेन ? भन्ने त्रास छ । जहा सधैं सधैं यस मानेमा हार बेहोरेको भए पनि यसपालि सबै सबै हत्कण्डा साम, दाम, दण्ड,भेद अरू नजाने के के गर्दागर्दै पनि कतै उही पुरानै इतिहास दोहोरीएला कि भन्ने चिन्ताले गर्दा यो २०७६ साल मङ्सिर १४ गतेको उप चुनावमा कसले जित्ला ? भन्ने प्रश्न जिज्ञासा अनुमान भविष्यको सोच वा चिन्ताले सबैलाई गाँजेकै छ ।

“हौ माइला ! यसपालि त रुखले घामलाई छेक्ने प¥यो” भनेर ठाइला बाले भन्न पाएका थिएनन् माइला दाइले भनिहाले हेर्नुस् काका ! रुख जति सुकै बढेर गए पनि घामलाई छुनै सक्दैन ढाक्नु पछार्नुको कुरो त परै जाओस् । अँ ! यहाँ हाम्रो (धरानको) पार्टी चिन्हको रुख र घामको कुरो हो भने त्यो कुरो अर्कै हो । “ठाइला बाले त्यै त कुरो गरेको । धरानमा मेयरकोको उम्मेदवारी दर्ता गर्न जाँदा त हउ माइला ! रुख छाप पार्टीले त उधुम नै मचायो रे !” हो ! हो ! हो ! हो ! ” हुन सक्छ यस्तो सम्वाद सबै उपचुनाव क्षेत्रमा भइरहेको होला । हिजो यो त हार्छ हार्छ भनेको पार्टीको उम्मेदवारको तावर माउर जित्ला जित्ला जस्तो र सबै चुनावमा जित्ने पार्टी हार्ला हार्ला जस्तो देखिँदा, सिधा साधालाई मात्र नभएर अच्छे अच्छेलाई समेतलाई “हउ ! कसले जित्छ ” भन्ने कौतुहल, उत्सुकता जगाएकै छ । अब ः कसले जित्छ चर्चा गरँौं !

विश्व परिवेशमा कसले जित्छ भन्ने कुरामा जजसले जेजे कुरा लेखे, भने पनि डार्विनको सिद्धान्तलाई भने अहिले सम्म कसैले काट्न वा ढाँट्न सकेका छैनन् । त्यस मानेमा कसले जित्छ भन्ने प्रश्नको उत्तर “जसले देशकाल समय परिस्थितिको परिवर्तनलाई र आत्मसात गरेर जो अघि बढ्छ, सङ्घर्ष गर्छ उसैले जित्छ ।” कहाँ गाग्राको कुराको कहाँ आग्राको कुरा ग¥यो भन्नु होला । त्यसो होइन, यही उप चुनावको कुरामा पनि यो कुरा लागु हुन्छ, जस्तो देश सङ्घीयतामा गइसकेको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गठन र कार्यान्वयन सकिसकेका छन् अनि स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारमै कतै नभएको पार्टीका उमेदवारले “म यस्तो गर्छु र उस्तो गर्छु, देशलाई समाजलाई आमुल परिवर्तन गर्छु भन्नु अनि यस्तै पुङ न पुच्छरको कुरोलाई काँधमा बोकेर हिंड्नु, समय परिस्थिति विपरित भएन र ?”

यस्ता उमेदवारले, त्यस्तो पार्टीले भनेका कुरामा लाग्नेहरू नहारेर अरू को हार्छ र ? आत्मा साक्षी राखेर कार्यकर्ताले शुभचिन्तकले भन्नुहोस् के तपार्इंले बोकेको झन्डा पार्टी उमेदवारहरूले नेपाली जनता जनमानसलाई के दियो के ग¥यो ? ती सबैमा तपाईंको अन्तरात्माले यो पार्टी यो कार्यकर्ताले राम्रै गरेको छ भन्ने उत्तर आयो भने त्यो उमेदवारले अवश्य जित्छ । जस्तो गणितीय हिसाबले अमेरिकामा डोनाल्ड ट्रम्पले जिते पनि भावनात्मक हिसाबले हिलारी क्लिन्टनले जितेकै हो । यो कुरा वर्षौंसम्म विश्व इतिहासले सम्झनेछ । जुन नेताले जनमतको मनोभावना बुझेर काम गरेको हुन्छ त्यो नेता सधैं विजयी हुनेछ ।

तर, त्यस्तो त केही गरेको छैन, झ्याली झ्याम्टा बजाएका भरमा, उट्पट्याङ कुरा सामाजिक सञ्जालमा रचेकै भरमा, उरलपाँजे गफ चोक चोकमा गरेकै भरमा र कुण्डले मण्डले चण्डाले, चाटुकारेहरूलाई कनिका खुवाएको भरमा चुनाव जित्छु भन्नेहरू अर्काको आश्वासन चिप्ला कुराहरूमा विजयी गर्छु भन्नेहरू भदौरे स्याउला झैं सोत्तर हुनेछन् । जहां सम्म धरानको उप चुनावको कुरो छ । त्यसको लागि अहिलेसम्म सभ्य किसिमले चुनावी प्रचार प्रसार भइरहेको छ ।

दश पार्टीगत र ११ स्वतन्त्र गरी २१ जनाले धरान उपमहानगरपालिकाको मेयरमा उमेदवारी दिएका छन् । ६,७ लाख जनसङ्ख्याको र करिब १ लाख भोटर रहेको यो उपमहानगरपालिकामा २१ जना मात्र मेयर पदको उमेदवारी उठ्नु भनेको सामान्य र शान्तिपूर्ण वातावरणको पहिचान हो । ती २१ जनामध्ये टक्कर वा प्रतिद्वन्दी भनेको मात्र नेकपाका उमेदवार प्रकाश राई र नेकाका तिलककुमार राई मध्ये पहिलो दोस्रो हुने हुन् । तेस्रो को हुन्छ ? त्यो भविष्यले बताउला किनकी अघि अघिका चुनावमा पहिलो दोस्रो वा पहिलो तेस्रो हुने पार्टीहरू एमाले र माओवादी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी भएको छ ।

नेपाली काङ्ग्रेसको भागमा यस अघिका समयहरूमा उच्चतम जित भनेको दोस्रो अवस्था नत्र तेस्रो अवस्थामा पनि झरेको छ । यो कुरा धरानका मतदाताहरूले बिर्सेका छैनन् होला नै । त्यसैले नेपाली काङ्ग्रेसका सत्यतथ्य भोगी विश्लेषकहरूले पनि धरानमा नेकपा पार्टीकै उमेदवारले जित्ने कुरा स्वीकार्छन् ।

एकीकृत भएको नेकपा पार्टीका कार्यकर्ता शुभचिन्तकहरूले यो कुरा नबुझेको पनि होइन तर २०१५ सालमा मनमोहनले जितेको २०१६ सालमा क.केदारनाथ खनालले, २०१७ सालमा क. बिए कृष्ण श्रेष्ठले, २०२१ सालमा क.सूर्यप्रसाद उपाध्यायले, २०२५ सालमा क.गोविन्द मोक्तान, २०३० सालमा कृष्णकुमार राईले, २०४२ सालमा क.बम देवानले, २०४८ सालमा क.ध्यान बहादुर राईले, २०५३ सालमा क.मनोज मेन्याङवोले र २०७४ सालमा क. तारा सुब्बाले जितेकै भरमा त्यसको पेन्सन खाने गरी नेकपा पार्टीका कार्यकर्ता शुभचिन्तक सुस्ताए भने नेकाले उछिट्याउने मौका पाउनेछ किनकी “कि चपरी मुनिको बास कि हस्तिनापुरको राज” नेकाको लागि गुमाउने केही छैन, सत्ता हातलागि गर्ने मात्र हो ।

कथम् कदाचित् धरानको मेयरको बाँकी अढाइ वर्षको लागि धराने मतदाताहरूले नौलो स्वाद वा नयाँ इतिहासतिर ध्यान दिए भने त्यो भन्दा ठूलो भड्खालो केही हुनेवाला छैन, किनकी केही धरानेहरूले नयाँ इतिहास रच्यौं भनेर २ दिन उफ्रेलान् तर नगरका समितिहरूमा झण्डै दुई तिहाई सङ्ख्या एकातिरको र मेयर अर्कातिरको भयो भने द्वन्दको सिर्जना आफै हुन्छ । जस्तो इनरुवाको द्वन्द उर्लाबारीको द्वन्द, जनकपुरको द्वन्द त आमसञ्चारहरूमा आएकै छन् । तिनै द्वन्दहरू धरानमा पनि दोहोरिन पनि सक्लान् ।

तसर्थ जित्नु ठूलो कुरो होइन जनताका कामकुराहरूले, जनताको सम्बोधनले कसरी जित्छ भन्ने सोचौं । करिब करिब अढाइ वर्ष बाँकी रहेको अवधिको लागि सहज र सरल तरिकाले नगरपालिकाका योजनाहरू कार्यान्वयन गराउन, दिवंगत तारा सुब्बाको सपना साकार पार्न नेकपाले जित्नै पर्छ , त्यसका लागि कार्यकर्ताले पैताला खियाउनै पर्छ । हो, धरानको इतिहास रच्न चाहनेहरूले फेदैदेखि इतिहास रच्नको लागि आउँदो अढाइ वर्ष कुर्नु पर्ने हुन्छ । यो बेलाको टुप्पोबाट उम्रिएको इतिहासले कसैको भलाइ गर्ने छैन ।