धरान/ धरान उपमहानगरपालिकाढारा सञ्चालित धरान खानेपानी आयोजनाको ९९.५ प्रतिशत काम सम्पन्न भएको छ । एक महिनाभित्र सबै वडाहरूमा पानीको कनेक्सन भइसक्ने आयोजना प्रमुख इन्जीनियर राजु पोखरेलले जानकारी दिए । आयोजनाले लक्षित गरेको भौतिक उद्देश्य १ करोड ९७ लाख २० हजार लिटर पानी उत्पादन कार्यमा शतप्रतिशत भन्दा बढी प्रगति हासिल गरेको उनले दाबी गरेका छन् ।

नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पति र दायित्व हस्तान्तरण गरी संस्थान मातहत रहेका संरचना र सेवा र थप गरिएका संरचना र सेवाको एकीकरण गरी केही वडाका उपभोक्तालाई खानेपानी आपूर्ति समेत शुरु गरिएको उनले जानकारी दिए । गत २०७५ असोजमा मन्त्रीपरिषद् बैठकले संस्थानको सम्पति मूल्याङकन गरी आयोजनाको बोर्डमा हस्तान्तरण गर्ने निर्णय भई सर्वोच्च अदालतले गत असारमा परामदेश जारी गरे पनि नेपाल खानेपानी संस्थानले धरान उपमहानगरपालिकाको खानेपानी बोर्डमा हस्तान्तरण गर्न गरेको ढिलाइले सबै वडाहरूमा पानी वितरण गर्न समस्या भएको पोखरेलले जानकारी दिए ।

आयोजनाले करिब आफ्नो काम सकिएको तर नेपाल खानेपानी संस्थानको सम्पति र दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्न मात्र बाँकी रहेको धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले बताइन् । केही दिन अघि संस्थानका कर्मचारीहरूलाई बोर्डमा हाजिर हुन आउनसमेत पत्र बुझाइएको कार्यवाहक मेयर भण्डारीले जानकारी दिइन् । आयोजनाले विच्छ्याइएको कुल प्रमुख प्रसारण पाइपलाइन ९२ किलोमिटर ३ मिटर र वितरण पाइपलाइन ४ सय १५ किलो मिटर ५९ मिटर विस्तार गरेको छ । आयाजनाको भौतिक र वित्तीय खर्चमा १ अर्ब ६५ करोड ३ लाख बराबारको कुल भौतिक प्रगति ९९ दशमलव ५ प्रतिशत र वित्तीय प्रगति ९२ दशमलव ९५ प्रतिशत पूरा भएको प्रमुख भण्डारीले जानकारी दिइन् ।

परियोजनाका प्रमुख पोखरेलले आयोजनाले पानी वितरणका लागि सबै स्थानमा कनेक्सन र पाइपलाइन विस्तार गर्ने काम सकिएको बताए । धरान–२ स्थित रत्न रोडमा एक स्थानमा भने कनेक्सनको काम भइरहेको पोखरेलले जानकारी दिए ।

संस्थानको सम्पति र दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्ने शर्तमा एसियाली विकास बैङ्कले एकीकृत शहरी विकास परियोजना अन्तर्गतको धरानमा खानेपानी आयोजनाका लागि सन् २०१२ मा २२ दशमलव ७ मिलियन अमेरिकी डलर ऋण तथा अनुदान दिएको थियो । संस्थानको सम्पति हस्तान्तरणको काम भने मन्त्रालयले तीन महिनाभित्र सक्ने जानकारी दिइएको पोखरेलले बताए । उनले भने–‘कर्मचारीलाई बोर्डमा आउन पत्रचार गरिएको छ । कात्तिक ८ गते पत्र दिएको १४ गते हाजिर हुन भनेको तर आउनु भएको छैन । उहाँहरू प्रक्रिया मिलाएर बोर्डमा आउनुहुनेछ ।’

आयोजना शुरु भएसँगै विजयपुर ट्याङ्की निर्माणमा स्थानीयसँग विवाद तथा पटक पटक बन्द हड्तालजस्ता कारणले तोकिएको समयभन्दा दुईवर्ष ढिलो भएको बताइएको छ । संस्थानको सम्पति र दायित्व हस्तान्तरण हुन नसकेकाले सन् २०१९ को ३१ डिसेम्बरसम्म आयोजना अवधि थपिएको हो । ठेकेदार कम्पनी तियान्जीन तुदी जेभीले उक्त समयभित्रमा सम्झौताअनुसार पानी वितरण गर्न नसके धरान खानेपानी व्यवस्थापन बोर्डले जिम्मा नलिने भएकाले कम्पनी नै जवाफदेही हुनुपर्ने प्रावधान भएकाले खानेपानीमा कुनै समस्या नहुने आयोजना प्रमुखको दाबी रहेको छ ।

संस्थानको ३ वटा पम्पबाट दैनिक ६० लाख, आयोजनाको ७ वटा बेलबाट ९२ लाख २० हजार लिटर गरेर दैनिक एक करोड ५२ लाख २० हजार लिटर पानी आपूर्ति गर्न सकिने आयोजना प्रमुख पोखरेलले जानकारी दिए । हाल धरानको ११, १७, १५, नं. वडाहरूमा पानी वितरण शुरु भइसकेको छ । ११ को आधि भाग, १६ र ८ नं. वडामा परीक्षणको काम हुँदै छ । अरू वडामा क्रमश परीक्षण गरी एक महिनाभित्र ४, ५ ६ र २० नं. वडा बाहेक सबै वडाहरूमा पानी वितरण गरिने पोखरेलले जानकारी दिए । यी चारवटा वडा आयोजना आउनु अघि विष्णुपादुका र पाँचकन्या गाविसमा पर्ने भएकाले परियोजनाको सम्झौतामा उल्लेख थिएन ।