धरान/ पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित ‘नेपाल आइस नेचुरा ‘मिस पूर्वाञ्चल’ को दशौं संस्करणको पहिलो अडिसन धरानस्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न भएको छ ।

धरानमा सम्पन्न अडिसनमा १९ जना सहभागी भएको आयोजक सिल्भर इण्टरटेन्मेण्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।

अडिसनमा धरान, धनकुटा, तरहरा, इटहरी, विराटनगर, बेलबारी र पथरीबाट प्रतियोगीहरू सहभागी थिए । अडिसनको निर्णायकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल, मिस पूर्वाञ्चल २०१४ नेमिता आङ्बुहाङ लिम्बू, मिस पूर्वाञ्चल २०१६ फस्ट रनर अप इक्सा मादेन, मिस पूर्वाञ्चल २०१७ फस्ट रनर अप सिम्रन श्रेष्ठ र मिस पूर्वाञ्चल २०१८ फस्ट रनर अप अनिला क्षेत्री रहेका थिए ।

सहभागीहरूको योग्यता, प्रस्तुतिका आधारमा प्रतिस्पर्धी छानिने आयोजकले जनाएको छ । त्यस्तै विराटनगर, इटहरी र दमकमा समेत बिहीबारदेखि आइतबारसम्म कलेज एक्टिभेसन र अडिसन गरिने सिल्भर इण्टरटेन्मेण्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए । त्यस्तै टाढाबाट आउन छुटेकाहरूको समेत आइतबारसम्म धरानमा अडिसन राखिएको श्रेष्ठले बताए ।

अडिसनबाट छानिएका १९ देखि २१ जनासम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागी गराइने आयोजकले जनाएको छ । साउन ३१ र ३२ गते धरानका विभिन्न कलेजमा मिस पूर्वाञ्चलको पब्लिसिटीका लागि कलेज क्याम्पेन गर्ने तयारी भएको आयोजकले जनाएको छ । मिस पूर्वाञ्चलको आठौं संस्करण भदौ ३१ गते धरानमा हुँदैछ ।

प्रतियोगीहरूलाई व्यक्तित्व विकास, फेसन, र्याम्प वक, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवकलगायतका अन्य विभिन्न विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइने छ । कार्यक्रमको कोरियोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्नेछिन् । प्रतियोगितालाई प्रदेश नं. १ तथा पूर्वी क्षेत्रव्यापी र पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरूसमेत राखिएको छ ।

सहभागीहरूलाई रक्तदान, ट्राफिक सचेतना र सरसफाइका कार्यक्रम, सामाजिक उत्तरदायित्वका कार्यहरूमा यस वर्ष पनि सहभागी गराइनेछ । ती कार्यक्रमहरू पूर्वका विभिन्न शहरहरूमा आयोजना गरिनेछ । वराह ग्रुपको प्रस्तुति, सिजी ब्रुअरीको मुख्य प्रायोजन र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह–प्रायोजन तथा सिल्भर इण्टरटेन्मेण्टको आयोजनामा हुने नेपाल आइस मिस पूर्वाञ्चल २०१९ को अन्तिम प्रतिस्पर्धामा विजेतालाई मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै दुई लाख नगद र अध्ययनका लागि छात्रवृत्ति दिइने आयोजकले जनाएको छ ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अपलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कारसँगै छात्रवृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेण्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस ब्युटीफुल स्माइल र मिस पर्सनालिटी, मिस ब्युटीफुल कम्प्लेक्सनलगायतका विभिन्न विधामा समेत पन्ध्र हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि यसअघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले, २०१३ मा सुनसरीकी नेहा बजाज, २०१४ मा मोरङकी नेमिता आङ्बुहाङ, २०१५ मा मोरङकी प्रियङ्का श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बू र २०१८ मा झापाकी पूजा श्रेष्ठले जितेका थिए ।