धनकुटा/ मदन पुरस्कार विजेता झमक घिमिरेको बहुचर्चित आत्मकथामा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ का निर्माता तथा निर्देशक विनोद विष्टले वितरकले हलमा फिल्म प्रदर्शन गर्न नदिएको आरोप लगाएका छन् ।

पत्रकार महासङ्घ धनकुटा शाखाको सभाहलमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै फिल्म निर्माता तथा निर्देशक विष्टले वितरकले फिल्म नचलेको भन्दै पन्छिएर हलबाट उतारेर प्रदर्शन गर्न नदिएको आरोप लगाए । बायोपिक फिल्म ‘जीवन काँडा कि फूल’ गत कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आएको थियो ।

तर वितरकले पर्याप्त हल नदिँदा सीमित हलमा मात्रै फिल्म चलेको भन्दै फिल्म चल्न नदिएर हतोत्साहित बनाएको उनले गुनासो गरे । वितरक कम्पनी बालाजी टेलिफिल्मका सञ्चालक सुनिल मानन्धरले विकास बोर्डबाट सर्भर ह्याक भयो भन्ने खबर दिएको उनले बताए । सिटी मलमा रहेको मल्टिप्लेक्समा शुक्रबार बिहान ११ बजे एउटा मात्रै शो पाइएको रहेछ भन्दै उनले आफुले शुक्रबार बिहान ९ बजे मात्रै खबर पाएको बताए ।

उनले एउटा बहुचर्चित कृतिमा आधारित फिल्म प्रदर्शन हुँदा पनि कुनै निकायबाट साथ नपाएको गुनासो गरे । फिल्ममाथि दह्रो राजनीति गरेको उनको दाबी छ । फिल्ममा झमक सानो छँदाको रोल सिलिगुडीकी अवस्था थापा र ठूला हुँदाको रोल काठमाडौंकी रोजिता बुद्धाचार्यले गरेका छन् ।

त्यस्तै झमकको बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरीलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ । करिब ८० लाख रुपैयाँको लागतमा निर्माण भएको फिल्म २ घण्टा ५ मिनेट लामो छ । फिल्मका कार्यकारी निर्माता बद्री चौहान, उमानाथ सुवेदी, जुनु गौतम, संवाद झमक घिमिरे, मुक्ति उपाध्याय बराल, पटकथा मुक्ति उपाध्याय बराल, सङ्गीत प्रकाश शिवाकोटी, गीतकार झमक घिमिरे, प्रकाश शिवाकोटी, छायाँकार शिव ढकाल, नृत्य निर्देशन कमल राई, प्रोडक्सन डिजाइनर दिनेश प्रकाश महरा, प्रोडक्सन म्यानेजर प्रकाश हमाल, कलरिष्ट श्याम कुँवर, सम्पादक तारा थापा किम्भेलगायत छन् ।