धनकुटा/ आपतकालीन विपद् व्यवस्थापनका लागि धनकुटाका सातवटै तहमा हेलीप्याड निर्माण गरिने भएको छ । जिल्लाको छथरजोरपाटी गाउँपालिकाले विपद् व्यवस्थापन समितिको सोमबार बसेको पहिलो बैठकमा सरोकारवालामाझ यस्तो बताइयो । गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा बसेको छथरजोरपाटी विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लाका ७ वटै स्थानीय तहमा पक्की हेलीप्याड निर्माण गरिने बताइएको छ ।

सो अवसरमा बोल्दै जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य एवम् वरखगण सल्लेरी ब्यारेक धनकुटाका गणपति भगवान थापा मगरले नेपाली सेनाको पहलमा धनकुटाको सात वटै स्थानीय तहमा विपद् व्यवस्थापन तथा उद्धार कार्यको लागि पक्की हेलीप्याड निर्माण कार्यको थालनी गरेको जानकारी दिएका छन् । उनले हालसम्म जिल्लाको महालक्ष्मी नगरपालिका र शहीदभूमि गाउँपालिकामा पक्की हेलीप्याड निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए ।

सोही क्रममा छथरजोरपाटी गाउँपालिकामा पनि पक्की हेलीप्याड स्थापना गर्नको लागि गाउँपालिकास्तरको विपद् व्यवस्थापन समितिको तत्काल बैठक बस्नु परेको बताए । उनले नेपाली सेना नगरपालिका, गाउँपालिकाहरूसँग सहकार्य गर्दै अघि बढिरहेको बताउँदै सोही क्रममा छथरजोरपाटी गाउँपालिका आइपुगेको बताए ।

प्रमुख सेनानी थापा मगरले छथरजोरपाटी गाउँपालिकामा कम्तीमा ४० जनालाई आगामी मङ्सिर ८ गतेदेखि १० गतेसम्म नेपाली सेनाले विपद् व्यवस्थापन सम्बन्धी तालिम पनि दिने बताए । उनले नेपाली सेना जनताकै हो भन्ने भावनाको विकास गर्न पनि पछिल्लो समयमा विपद् व्यवस्थापनलगायत जनताको सेवामा जुटिरहेको समेत स्पष्ट पारे ।

सो अवसरमा दीपज्योति रिसर्च सेण्टर धनकुटाका स्रोत व्यक्ति खेम घिमिरेले छथरजोरपाटी गाउँपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको बारेमा जानकारी गराएका थिए । घिमिरेले विपद् व्यवस्थापनको योजना तर्जुमा, व्यवस्थापन र विकासको बारेमा सहजीकरण गरेका थिए । उनले स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापन ऐनलाई आधार बनाएर विपद् व्यवस्थापनका योजनाहरू निर्माण गरिएको जानकारी गराए ।

प्रमुख घिमिरेले छथरजोरपाटी गाउँपालिकामा ६ स्थानमा विपद् प्रतिकार्य योजनाको लागि सङ्कटापन्न स्थानको पहिचान गरिएको बताए । साथै उनले वार्षिक वा दीर्घकालीन रूपमा निर्माण गरिने योजनाको संक्षिप्त जानकारी गराएका थिए । सो अवसरमा छथरजोरपाटी गाउँपालिका विपद् व्यवस्थापन समितिका फोकल व्यक्ति सुन्दरमान डङ्गोलले हालसम्म छथरजोपाटी गाउँपालिकाले विपद् व्यवस्थापनका क्रममा गरेका विभिन्न गतिविधिका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा उनले गाउँपालिकाको तर्फबाट बाढी पीडित ९ घरपरिवारलाई प्रतिघर १५ हजारको दरले राहत वितरण गरिएको, अग्नि पीडित परिवारलाई राहत सामग्री प्रदान गरिएको र विपद् व्यवस्थापनको लागि सुरक्षित स्थानको पहिचान गरिएको बारेमा जानकारी गराएका थिए । बैठकको समापन गर्दै छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले विपद्सम्बन्धी कार्यहरू के कसरी भइरहेका छन् भन्ने बारे जानकारी गराउन र आगामी दिनमा नयाँ योजना बनाउन बैठक आयोजना गरिएको जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद अर्यालले गरेका थिए । सो अवसरमा सरोकारवाला सङ्घ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।