इटहरी/ इटहरीमा एक साताको अवधिमा दुई बेवारिसे शव भेटिएको छ । एक महिला र एक पुरुषको शव भेटिए हो । दुवै शवलाई प्रहरीले हत्याको आशङ्का गरेको छ । इटहरी–२० पानीपिया क्षेत्रमा कात्तिक २४ गते भेटिएको शव हत्या गरेर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने लास हत्यापछि फालेको हुनसक्ने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । तरहराको जङ्गलमा भेटिएको लास हत्यापछि त्यहाँ लगेर फालेको हुनसक्ने बताए । लास चिन्न सकिने अवस्थामा नभएको कारण अनुसन्धानमा समस्या भएको डिएसपी भण्डारी बताउँछन् ।

सोमबार इटहरी–४ स्थित बूढीखोलामा एक महिलाको शव फेला परेको छ । सोमबार दिउँसोको समयमा खोलाको किनारमा सडिएको अवस्थामा शव फेला परेको हो । पहिचान नखुलेको अन्दाजी ३० वर्षकी महिलाको शव खोला किनारको काँसघारीमा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए । तर प्रहरी अहिलेसम्म घटनाको विषयमा आफन्तलाई भेट्न सकेको छैन ।

शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । शव भेटिएको ठाउँमा जुत्ता, झोलालगायत केही सामग्री नभेटिएको कारण घटना अनुसन्धान अझ जटिल बन्दै गएको डिएसपी भण्डारी बताउँछन् । ‘घटनाको विषयमा आफूहरू गम्भीर भएर लागे पनि शवको पहिचान नहुँदा अनुसन्धानमा समस्या भइरहेको छ’–डिएसपी भण्डारीले भने ।

इटहरी–२० का सामाजिक अगुवा मचिन्द्र खवासले भने इटहरी क्षेत्रको चारकोशे झाडी असुरक्षित भएको बताए । फोहोरदेखि मान्छे मारेर फाल्ने ठाउँ भएको भन्दै यस क्षेत्रको सुरक्षामा गम्भीरता अपनाउन माग गरे । केही वर्ष अगाडि पनि खनारका सुभाष काफ्लेको हत्या गरी चारकोशे झाडीमा फालिएको बताउँदै यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन माग गरे ।

इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठ चारकोशे झाडी फोहोर र मान्छे मारेर फाल्ने डम्पिङ साइड बनेको भन्दै चिन्ता व्यक्त गरे । चारकोशे झाडीमा अपराध बढेको उनी बताउँछन् । गत कात्तिक २४ गते शव भेटिए पनि अहिलेसम्म शवको सनाखत हुन सकेको छैन । चारकोशे झाडीमा अपराध हुन नदिन आफूहरू गम्भीर रूपमा लागेको बताउँदै प्रहरीलाई पनि गम्भीर हुन आग्रह गरे ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माले पनि मृतकको सनाखत नहुँदा अनुसन्धानमा समस्या भएको बताए । चारकोशेमा भेटिएको शव हत्या गरेको हुनसक्ने उनले आशङ्का व्यक्त गरे । मृतकको अनुहारसम्म नचिनिएको हुँदा समस्या भएको डिएसपी शर्माको भनाइ छ । घटनाको विषयमा प्रहरी गम्भीर भएर लागेको उनको भनाइ थियो ।