भद्रपुर/ झापामा चारवटा ग्यास उद्योग रहेका छन् । झापाबाहेक मोरङबाट पनि जिल्लाका बजारमा ग्यास सिलिण्डर भित्रिन्छ । तर, भारतको पश्चिम बङ्गालस्थित कलकत्ताको ग्यास प्लाण्टले केही दिनदेखि नेपाल आउने बुलेटलाई ग्यास भर्न नदिँदा बजारमा एलपी ग्यासको अभाव भएको छ । त्यसको असरले झापासहित पूर्वका चार जिल्लामा एलपी ग्यास अभाव भएको हो ।

भारतबाट नेपाल भित्रिने एलपी ग्यासका बुलेट पर्याप्त मात्रमा आउन छाडेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा ग्यास अभाव भएको छ । बजारमा एलपी ग्यासको अभाव भएपछि उपभोक्ता समस्या छन् । झापामा त्रिशक्तिको पराजुली, कन्काई, मेची र पाथीभरा ग्यास उद्योग रहेको छ । एउटा ग्यास उद्योगले मासिक ४० हजारदेखि ५० हजार ग्यास उत्पादन गर्दै आइरहेको जनाइएको छ । चारवटै ग्यास उद्योगको बजार पूर्वको चार जिल्ला नै हो ।

झापाका ग्यास उद्योगमा कलकत्ताको हल्दिया, बरुनी र पारदीप भन्ने ठाउँबाट बुलेटमा लोड गरी एलपी ग्यास काँकडभिट्टा नाकाबाट भिœयाउने गरेको नेपाल एलपी ग्यास सङ्घका सल्लाहकार आदित्य पराजुलीले जानकारी दिए । त्रिशक्ति ग्यास उद्योग भद्रपुरका प्रबन्ध निर्देशकसमेत रहेका पराजुलीले उद्योगमा हल्दिया र पारदीप ग्यास प्लाण्टबाट ग्यास आउँदै गरेकोमा दुवै प्लाण्टमा सरसफाइको काम चलेको हुँदा १० दिन यतादेखि ग्यास नआएको उनले बताए ।

केही मात्रामा ग्यास आउँदै गरे पनि जुन परिमाणमा उद्योगलाई चाहिने हो, त्यसअनुसारको ग्यास भित्रिन नसकेकोले बजारमा ग्यास अभाव भएको उनको भनाइ छ । उद्योगलाई महिनामा कम्तीमा २२ देखि २६ वटा बुलेट चाहिन्छ’ त्रिशक्ति ग्यासका व्यवस्थापक अर्जुन कर्णले भने, ‘चाहिने परिमाणमा आएको छैन, अक्टोबरमा १५ वटा बुलेट आएको छ, सेप्टेम्बरको १८ तारिखसम्म ९ वटा मात्र ट्याङकर आएको छ ।’

‘ग्यास अभावका कारण डिलरलाई चाहिने सिलिण्डर पठाउन नसक्दा उपभोक्तालाई समस्या भएको उनले सुनाए । उद्योगमा ५०–५० मेट्रिक टन क्षमताका दुईवटा बुलेट भए पनि अहिले दुवै खाली रहेकोले अबको १५ दिनसम्म ग्यासको अभाव हुने उनको दाबी छ ।