दमक/ झापाको केर्खा – क्याम्पा –सरङ्पाडा– बैगुन्धुरा सडक निर्माणका लागि पहिलो पटक २०७४ साल असार २० गते ६ करोड ३३ लाख रुपैयाँको लागतमा २०७६ साल असार १९ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर सडक निर्माण पूरा नभई बजेट फ्रिज भएर गयो ।

सडक निर्माणका लागि ललितपुरको रोशन शाह इञ्जिनियरिङ जेभीसँग सम्झौता गरेको भए पनि सो अवधिमा ३० प्रतिशतमात्र काम गरेर निर्माण कम्पनी सम्पर्कविहीन भएको थियो । विनियोजित बजेट काम नभएपछि फ्रिज भएको थियो । यसरी काम नगरेर रकम फ्रिज गराउनेलाई कारबाही गर्नुको साटो सोही बाटो निर्माणका लागि उही ठेकेदारसँग नयाँ सम्झौता गरिएको छ । सो सडक निर्माणका लागि पछिल्लो पटक ७ करोड २२ लाख ८ हजार रुपैयाँमा नयाँ ठेक्का सम्झौता भएको छ । यो अघिल्लो ठेक्काको तुलनामा ९० लाख ८ हजार रुपैयाँ बढी हो ।

ठेकेदारले निर्माणको काम नै शुरु नगरेपछि निर्माण अवधि सकिएका कारण फ्रिज भएको रकम पुनः सोही निर्माण कम्पनीलाई निर्माण गर्ने जिम्मा दिएर दोस्रो पटक ठेक्का लगाइएको छ । तर अहिलेसम्म पनि निर्माण कार्य शुरु नभएपछि त्यस क्षेत्रका उपभोक्ताहरूले आक्रोसित बन्दै कहिले बाटो बन्द गर्ने त कहिले गाउँपालिका घेराउ गर्ने गरेका भए पनि काम शुरु भएको छैन । बाटो निर्माणका लागि कयौं पटक गाउँपालिकादेखि विराटनगरसम्म पुगेर समस्या राखे पनि सरोकारवालाले सुनुवाइ नगरेको स्थानीय रामचन्द्र बरालले बताए ।

झापाको केर्खा – क्याम्पा – सरङ्पाडा– बैगुन्धुरा सडक १६ किलोमिटर निर्माणमा ठेकेदार पक्षले काम शुरु नगरेपछि यहाँका स्थानीयमा आक्रोस बढ्दै गएको छ । केर्खाका मोहन श्रेष्ठले आक्रोसित हुँदै भने, ‘यो सडक निर्माण नभएका कारण धेरै सास्ती पाएका छौं । पकाएर राखेको खानामा सडकको धुलो मिसिएको छ, जसका कारण हामीमा रोग देखापरिसक्यो, छोराछोरीलाई सहजरूपमा विद्यालय पठाउन सकिएको छैन, धोएर सुकाएका लुगा सुकिसक्दा धुलोका कारण फेरि फोहोर भइसकेको हुन्छ ।’ यस्तो सास्ती कहिलेसम्म भोग्ने भन्दै उनले गुनासो गरे ।

सडक निर्माणका लागि पटक–पटक छलफल र सहमति भए पनि कार्यान्वयन नभएको भन्दै उनले आपत्ति जनाए । ‘हामीलाई अझै कहिलेसम्म ललिपप देखाएर झुक्याउने ?’ अर्का उपभोक्ता डिल्ली न्यौपानेले भने, ‘हामीलाई ठेकेदारले त झुक्यायो झुक्यायो तर यस ठाउँका जनप्रतिनिधि र अन्य सरोकारवालाले समेत झुक्याइरहेका छन् ।’ ‘चुनावताका नै काम शुरु गर्ने निर्देशन दिइएको बाटो अहिलेसम्म पनि बन्न थालेको छैन । यस्ता झुटा अश्वासनले कहिलेसम्म राजनीति गर्ने ?’ उनले आक्रोसित हुँदै भने, ‘सडक निर्माणको काम तत्कालै शुरु हुनुपर्यो ।

सकेसम्म आजैका मितिदेखि काम शुरु हुनुपर्यो ।’ उपभोक्ताको आक्रोस बढेपछि सर्वपक्षीय छलफलबाट केर्खा–क्याम्पा–सरङ्पाडा–बैगुन्धुरा सडकमा हरेक दिन पानी लगाउने र निर्माणको कामसमेत तत्कालै शुरु गर्ने लिखित सहमतिसमेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए । तर त्यो सहमतिअनुसार फेरि पनि काम नभएमा कमल गाउँपालिकाले उपभोक्ताको आन्दोलनको नेतृत्व गर्ने गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटीले बताए । उनले भने, ‘उपभोक्ताहरू हुल बाँधिएर गाउँपालिका आउनुस्, हामी कहाँ जानुपर्ने हो त्यहाँ गएर आन्दोलन गर्नुपर्छ, जुन आन्दोलनको नेतृत्व म आफै गर्नेछु ।’

बाटो निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले समयमा काम सम्पन्न नगरेपछि स्थानीयमा आक्रोस बढ्दो छ । ठेकेदारको बदमासीले गर्दा स्थानीयले सास्ती त पाएका छन् नै जनप्रतिनिधिदेखि मन्त्रीसम्मको बदनाम भएको बताउँदै पूर्वसांसद् तथा संविधानसभा सदस्य दीपक कार्कीले केर्खा–क्याम्पा–सरङ्पाडा–बैगुन्धुरा सडक समयमा निर्माण शुरु नभए ठेकेदार पक्षलाई गिरफ्तार गर्ने प्रशासनसँग सहमति भएको जानकारी दिए । ‘प्रमुख जिल्ला अधिकारी, एसपी, इलाका प्रशासन कार्यालयका प्रमुख सबैसँग यसबारेमा छलफल भई निर्णय नै भइसकेकोले अब पनि काम नगरे ठेकेदारलाई गिरफ्तार गरिनेछ’–उनले भने ।