विराटनगर / मोरङ जहदा गाउँपालिका १ का कार्यबहाक वडा अध्यक्ष उमेशकुमार साह घुस रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको छ । घुस वापत २१ हजार रुपैयाँ लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट रंगेहात मंगलबार पक्राउ गरेको हो । सडक स्तरोन्नतीका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताए । उनका अनुसार १० प्रतिशत घुस मागेको खुलेको छ । उक्त योजनाको सम्झौता सोमबार नै गर्नु पर्ने थियो । एक दिन ढिलो मंगलबार सम्झौता गर्न आएको भन्दै साहले माग गरेको २० हजारमा एक हजार थप गरेर २१ हजार रुपैयाँ माग गरेको पुष्टि भएको प्रवक्ता ढकालले बताए । साहमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिने उनको भनाइ छ । वडा अध्यक्ष प्रदीप यादव हत्या अभियोगमा लामो समयदेखि फरार छन् । विराटनगर महानगरपालिका–१४ का समानन्द मण्डलको गत जेठ ३२ गते गरिएको कुटपिटका कारण असार २७ गते मृत्यु भएको घटनामा प्रदीप मुछिएका छन् । त्यही घटनादेखि वडा अध्यक्ष फरार भएपछि वडा सदस्य साहलाई कार्यबहाक वडा अध्यक्षको जिम्मेवारी दिइएको थियो ।