अभिनेता अनमोल केसीको अभिनय ‘ए मेरो हजुर ४’ मा पनि रहने भएको छ । सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मका लागि अनमोल शनिबार अनुबन्धित भएका हुन् ।

निर्माण युनिटसँग फिल्म अभिनयका लागि अनमोलले शनिबार नै सम्झौता गरेका छन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित हिट फिल्म ‘ए मेरो हजुर’ को चौथो सिक्वेलको रूपमा निर्माण हुन लागेको यो फिल्ममा उनको जोडी अभिनेत्री सुहाना थापा बन्नेछिन् ।

यसअगाडि निर्माण भएको सिक्वेल ‘ए मेरो हजुर ३’ मा पनि अनमोल र सुहाना जोडी बनेका थिए । झरना थापाको निर्देशन रहने फिल्म सुनिलकुमार थापाले निर्माण गर्न लागेका हुन् ।

‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाको जोडी दर्शकले रुचाएका कारण फेरि दुवैलाई लिएर फिल्म गर्न लागेको निर्देशक झरना थापाले बताइन् ।

‘ए मेरो हजुर ४’ माघ २० देखि छायाङ्कनमा जानेछ । नेपाल, ओमान र हल्याण्डमा छायाङ्कन हुने बताइएको फिल्मको अन्य कलाकार छनौट हुन बाँकी छ ।