निर्वाचन आयोगले अब दुईसातापछि हुने आसन्न उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता लागु गरिसकेको छ । आयोगले मङ्सिर १४ गते बेलुकासम्म जिल्ला र स्थानीय तहमा योजनाको छनोट, स्वीकृति र सञ्चालन कार्य नगर्न र नगराउन निर्देश दिइसकेको छ । निर्वाचन आचार संहिता लागू भएपछि जिल्ला र स्थानीय तहमा चालू आर्थिक वर्ष २०७६÷७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारीका कार्यक्रमहरूका लागि योजना छनोट र बजेट बाँडफाँड स्थगित गर्न भनिसकेको छ ।

आयोगले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका बाहेक नयाँनीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र सो प्रयोजनका लागि जनशक्ति तथा स्रोत साधनको परिचालन, शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न, अध्ययन वा सोका लागि अनुमति दिने कार्य निर्वाचन आचार संहिताविपरीत हुने जनाएको छ । स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधि सभाका लागि उपनिर्वाचन हुने सुनसरी, कास्की, भक्तपुर, बाग्लुङ, दाङ, सङ्खुवासभा, पाँचथरलगायतका निर्वाचन स्थलमा कात्तिक ८ देखि नै आचार संहिता लागु गरे पनि दलहरूले भने व्यापक रूपमा उल्लङ्घन गरेका छन् । यसको पछिल्लो नमूना धरानका ठूला साना सबै दलहरू बनेका छन् । ती दलहरूले निर्वाचन अधिकृतको कार्यालयको आधिकारिक पदाधिकारीबाट अनमुति नलिई अरूको सवारी साधनहरू टेम्पो, सफारी, ट्याक्सीहरूमा प्रचार सामाग्री टाँगेका छन् । तीमध्ये केही व्यानर धरानस्थित निर्वाचन आयुक्तको कार्यालयबाट खटेका टोलीले उप्काएर ल्याएका छन् । निर्वाचन आयोगले उम्मेदवार वा राजनीतिक दलले अनुमति लिएको सवारी साधनमा मात्र ३ फिट बाइ ५ फिटको व्यानर वा झण्डा प्रयोग गर्न पाउने उल्लेख गरेको छ । पोस्टर पनि ३ फिट बाइ ३ फिटको मात्र टास्न पाउने व्यवस्था गरेको छ । तर, दलहरूले निर्वाचन आचार संहिता पालन भने गरेका छैनन् ।

यसैबीच धरानका प्रतिस्पर्धी दलहरू नेकपा र काङ्ग्रेसबीच आचार संहिता उल्लङ्घन गरेको बारेमा उजुरीको जुहारी पनि परेको छ । नेकपाले धरान साविक पाँचकन्या देवीगाउँमा मतदाता प्रभावित पार्न ढलाइ गरेको आरोप लगाएको छ भने काङ्ग्रेसले बसपार्कको पुरानो विषयलाई निर्वाचनको बेला नेकपा सरकारले बजेट दिएको भन्दै प्रचार गरेको आरोप लगाएको छ । सञ्चारमाध्यमहरूमा पनि आचार संहिता विपरित समाचारहरू प्रकाशित गर्ने होडबाजी दलहरूले गरेका छन् ।
धरानको आचार सहिता उल्लङ्घन भएको विषयमा निर्वाचन आयोग संवेदनशील हुन जरुरी छ । आफ्नो अगाडि देखिएको केही व्यानर पोस्टर निकालेर ल्याउनेमात्र काम नगरेर निस्पक्ष, स्वच्छ, पारदर्शी र शान्त वातावरणमा चुनाव गराउन अयोगले आफ्नो अधिकार प्रयोग गर्न नसकेको देखिएको छ । आयोगले विज्ञप्ति जारी गरेर ‘नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक संस्था, राजनीतिक दल, उम्मेदवार, आम सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था तथा पर्यवेक्षक र उपनिर्वाचन हुने स्थानका कर्मचारीले निर्वाचन आचार संहिताको पालना गर्नु र गराउनु कर्तव्य हुनेछ।’ मात्र भनेर चुपचाप बस्न सुहाउँदैन । धरानमा उपमहानगरपालिका भित्र २० वटा वार्डमा २८ वटा केन्द्र, ९९ वटा मतदान केन्द्र राखिने र ती केन्द्रमार्फत ९२ हजार ८ सय ५३ जनाले मतदाताले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्नेछन् । तर, ती मतदाता आकर्षित गर्न दलहरूले निर्वाचन आयोगले तयार गरेको आचार संहिता विपरित गतिविधि गरेमा तत्काल स्पट मै कारवाही गर्न भने कन्जुस्यार्इं गर्न हँुदैन ।