विराटनगर/ विराटनगर–रङ्गेली हुँदै झापा जोड्ने हुलाकी मार्ग अन्तर्गत पर्ने रङ्गेली बजार क्षेत्रको घर नगरपालिकाले स्काभेटर प्रयोग गरेर भत्काएको छ । रङ्गेली नगरपालिकाले सडक क्षेत्रमा पर्ने घरहरू हटाउन पटक–पटक जारी गरेको सूचनालाई अटेर गरेको भन्दै सोमबार स्काभेटर लगाएर घर भत्काएको हो ।

सडक विस्तारको क्रममा रङ्गेली बजारमा पर्ने मङ्गलचन्द अग्रवालको घर नगरपालिकाले २ वटा स्काभेटर प्रयोग गरेर भत्काएको छ । नगरपालिकाले पटक–पटक सूचना जारी गरी सडक क्षेत्रमा पर्ने घरहरू हटाउन गरेको आग्रहलाई बेवास्ता गरेपछि बाध्य भएर हटाउनु परेको रङ्गेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले जानकारी दिए ।

‘सडक क्षेत्रमा परेका घरका सामानहरू सुरक्षित स्थानमा लगेर हामीले सडकमा पर्ने घर खाली गरेका हौं’ उनले भने, ‘घर भित्र रहेका सामानमा कुनै क्षति हामीले पु¥याएका छैनौं ।’ नगरपालिकाले अग्रवालको घर हटाउन दुई वटा स्काभेटर प्रयोग गरेको थियो । कुनै पनि अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । सडक क्षेत्रको घर भत्काउन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

विराटनगर–झापा हुलाकी मार्गअन्तर्गत रङ्गेलीक्षेत्रको करिब साढे ७ किमी सडक सय फिट चौडा निर्माण शुरु भएको छ । यो काम २ वर्षभित्रमा सम्पन्न हुनेछ । यो क्षेत्रमा पर्ने सय वर्ष पुराना ८७ घर भत्कँदै छन् । अहिलेसम्म ८० घर सम्बन्धित धनीले आफै भत्काइसकेको प्रमुख बगडियाले बताए ।

‘विकासको गति बढेको भन्दै यहाँका स्थानीयले स्वतःस्फूर्त घर भत्काउन शुरु गरेका छन्’ रङ्गेली नगरपालिका प्रमुख बगडियाले भने, ‘नगरपालिकाले पटक–पटक सडक क्षेत्रमा पर्ने घर हटाउन जारी गरेको सूचनालाई अटेर गर्नेको मात्र घर भत्काएका छौं ।’ २०३४ मा विराटनगर, रङ्गेली र भद्रपुरसम्मको सडकलाई सहायक मार्गमा वर्गीकरण गरी उक्त सडकको केन्द्र विन्दुबाट दायाँ–बायाँ १५–१५ मिटर चौडा गर्ने सूचना राजपत्रमा प्रकाशित भएको थियो ।

वि.सं. १९७१ मा रङ्गेलीबाट मोरङको सदरमुकाम विराटनगर सारेपछि रङ्गेलीको विकास सुस्ताउँदै आएको थियो । शहरी विकास अन्तर्गतको पूर्व–पश्चिम क्षेत्रको विराटनगरदेखि झापाको भद्रपुरसम्मको करिब ८२ किमी हुलाकी सडक निर्माणका लागि ४ अर्ब ८० करोडको लागतमा विभिन्न खण्डमा ठेक्का प्रक्रिया पूरा भएको छ ।

विराटनगरदेखि झापाको गौरीगञ्जसम्मको हुलाकी सडक निर्माणका लागि पीएस गजुरमुखी मोतीदान जेभी बानेश्वर, मैनाचुली जेभी भक्तपुर, श्रेष्ठ कन्स्ट्रक्सनलगायत आधा दर्जन बढी कम्पनीले ठेक्का पाएका छन् । ठेक्का पाएका कम्पनीले झापा खण्डको करिब ४० किमी खण्ड निर्माणका लागि १ अर्ब ४२ करोड ८३ लाखमा ठेक्का लिएका छन् । त्यसैगरी मोरङ खण्डको ४२ किमी निर्माणका लागि २ अर्ब ७५ करोड ६८ लाखमा ठेक्का लिएका छन् ।

‘गुण्डागर्दी शैलीमा नगरपालिकाले घर भत्कायो’
मङ्गलचन्द अग्रवालले भने गुण्डागर्दी शैलीमा नगरपालिकाले आफ्नो घर भत्काइदिएको आरोप लगाएका छन् । ब्लाष्टसँगको कुराकानीमा मङ्गलचन्दले भने, ‘६ घण्टा प्रहरीको नियन्त्रणमा राखेर मेरो घर नगरपालिका प्रमुखको निर्देशनमा भत्काइयो । मेरो घर भत्काइन्जेल इप्रका रङ्गेलीको कार्यालयपरिसरमा मलाई राखियो ।’

सोमबार बिहान ९ बजे प्रहरीले उनलाई इप्रका रङ्गेलीमा राखेर ४ बजे छोडेको थियो । वर्षौंदेखि बसोबास गर्दै आएको १३ धुर जमिनमा रहेको घरको कुनै मुआब्जा नदिई नगरपालिकाले गुण्डागर्दी शैलीमा भत्काएकको उनको भनाइ छ । ‘अरूलाई त डर, धम्की दिएर घर भत्काउन लगायो’ उनले भने, ‘मलाई क्षतिपूर्ति नदिएसम्म घर नभत्काउने अडानमा थिएँ ।’