भद्रपुर/ झापा भद्रपुर बजारमा सञ्चालित फेमिली गेष्ट हाउसबाट तास खेलिरहेको अवस्थामा नगदसहित १५ जना जुवाडेलाइ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर यमकुमार श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले आइतबार राति ११ बजे भद्रपुर नगरपालिका–५ भद्रपुर बजार स्थित रहेको पुल हाउसमा तास खेल्दै गरेको अवस्थामा जुवाडेहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले जुवा खालमा छापा मार्दा भद्रपुर–६ बस्ने वर्ष ४१ का सञ्जित घोष सोही वडाका ३४ वर्षीय विजय साह, भद्रपुर–२ का वर्ष २७ का देवेन्द्र राजवंशी, भद्रपुर–६ का ५४ वर्षीय श्रीकृष्ण अग्रवाल, भद्रपुर–३ का ३३ वर्षीय सागर खड्का, भद्रपुर –५ का ६५ वर्षीय बलदेव राजवंशी, भद्रपुर–६ का ४० वर्षीय अमरदीप घोष, भद्रपुर–५ बस्ने वर्ष २५ का राजिप सहनी, भद्रपुर–६ बस्ने वर्ष २४ का रुपेश झा, भद्रपुर–४ का २८ वर्षीय रवि राजवंशी, भद्रपुर– ५ बस्ने वर्ष १९ का अनुज दास, भद्रपुर–५ बस्ने वर्ष ४१ का गणेश सिंह, भद्रपुर–६ बस्ने वर्ष ४६ का कविर क्षेत्री, भद्रपुर–५ बस्ने वर्ष २९ का शिव महतो र भद्रपुर–६ बस्ने वर्ष ४२ का सञ्जित साह रहेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनीहरूको साथबाट नगद २ लाख १० हजार ९ सय १० रुपैयाँ नेपाली र ९ हजार ७ सय ७० रुपैयाँ भारतीय रुपैयाँ गरी जम्मा नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल १६ थान, एक थान तास बरामद गरिएको डिएसपी श्रेष्ठले बताए । घटनापछि म्याद थप गरी आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको उनले जानकारी दिए ।