इटहरी/ तीन देश जोड्ने निर्माणाधीन ६ लेन सडक विस्तार मनपरी मापदण्डमा भएको भन्दै इटहरी उपमहानगरपालिकाले सडक आयोजनासँग कागजात माग गरेको छ ।

इटहरी चौकदेखि तरहरासम्मको ४ किलोमिटर सडक फरक–फरक मापदण्डमा बनेको भन्दै चौतफीै विरोध भएपछि उपमहानगरपालिकाले डिपिआर र ठेक्का सम्झौताका सम्पूर्ण कागजात माग गरेको हो ।

उपमहानगरपालिकाले आयोजनासँग डिपिआर संशोधन भए पुरानो र संशोधन गर्नुपर्ने कारण माग गरेको छ । साथै खरिद सम्झौतालगायतका कागजात उपलब्ध गराउन माग गर्दै इटहरी उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर अर्जुन दाहालले आयोजनालाई पत्राचार गरेका हुन् । अहिलेसम्म भएका सम्झौता र कामको विषयमा उपमहानगरपालिकाले आयोजनालाई पत्राचार गरेको इञ्जिनियर दाहालले बताए ।

उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमसहितको टोलीले सोमबार ६ लेन सडकको अनुगमन गरेको थियो । मापदण्ड मनपरी भएको भन्दै उपमहानगरपालिकामा ध्यानार्कषण भएसँगै अनुगमन गरेको उपमेयर गौतमले बताइन् । अहिले व्यापकरूपमा ६ लेन सडक विस्तारको विरोध भएसँगै उपमहानगरपालिकाले कागजात माग गरेको बताइन् ।

सडक विभागले ८२ फिट चौडाइको सडक निर्माण गर्ने भने पनि इटहरीको मुख्यचौक आसपासमा ६५ फिट मात्र सडक चौडा गरिएको भन्दै मनपरी मापदण्ड रोक्न सङ्घर्ष समितिले माग गरेको थियो । केही दिनअघि सङ्घर्ष समितिले ज्ञापन–पत्र बुझाएको थियो । समितिका संयोजक मदन चूडालले बाटो विस्तारमा भेदभाव हुन नहुने बताए ।

सोही समितिले आइतबार इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई भेटेर इटहरी–तरहराक्षेत्रमा समान मापदण्डमा सडक विस्तार गर्न माग गरेसँगै उपमहानगरपालिकाले सडकको विषयमा चासो देखाएको हो । ६ लेन सडक राजमार्ग ऐनले तोकेको सीमा केन्द्रबाट २५–२५ मिटर कायम रहने गरी सर्भिस लेनसहितको व्यवस्था गर्न सङ्घर्ष समितिले माग गर्दै आएको छ ।