धरान/अरुबेला चुपचाप भएपनि निर्वाचनको बेला दलहरु अर्को पार्टीका कार्यकर्ता प्रवेश गराएर त्यसलाई व्यापक प्रचार प्रसार गर्न व्यस्त भएका छन् ।

घरदैलोसंगै दलहरु अर्का दलका कार्यकर्ता, समर्थकलाई प्रवेश गराउदा फुलमाला र अविर लगाएर स्वागत गरेको तस्वीर सामाजिक संजालमा हालेर मनोवैज्ञानिक दवाव सृजना गर्न थालेका छन् । नेपाली कांग्रेस, नेकपा, समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मंचले अर्को दलका कार्यकर्ता समर्थकलाई प्रवेश गराएको जानकारी दिएका छन् ।

मतदाता तान्ने होडबाजीका वीच नेकपाले चार सयजना प्रवेश गराएको जानकारी दिएको छ । नेपाली कांग्रेसका निर्वाचन परिचालन मुल समितिका सदस्य श्याम पोखरेलले हालसम्ममा पुर्व एमाले र पुर्व माओवादीबाट करिव पाचसय जना प्रवेश गराएको बताए ।

उनले धरानमा कांग्रेसले असोज अन्तिमसातादेखि नै उम्मेदवार निश्चित गरेर चुनावी अभियानलाई घरदैलो मार्फत तिव्र पार्दै अन्य दलका मतदाता समर्थक तान्न सफल भएको दावी गरे । उनले भने, ‘कांग्रेसमा प्रवेश गरेका मतदाताहरु सवै ‘जेनुइन’ मतदातामात्र छन् ।’ कांग्रेसको घरदैलो कार्यक्रम अव केही वडामामात्र बांकी रहेको छ ।

कांग्रेसले अरु दलबाट प्रवेश गराइहेको जानकारी दिइरहदा नेकपाले पनि हालसम्म चार सय जनालाई प्रवेश गराएको दावी गरेको छ । नेकपाका चुनाव प्रचार प्रसार उपसमितिका संयोजक भिम राई ज्वालाले कांग्रेस र समाजवादीबाट चारसय बढीलाई नेकपामा प्रवेश गराईएको बताए । नवप्रवेशीहरुको संख्या उत्साहजनक रहेको छ । कांग्रेसको धेरै पुराना कार्यकर्ताह मुख्य आमसभाको दिन प्रवेश गर्न पर्खेर पनि बसेका छन् ।’ उनले नेकपाका उम्मेदवार प्रकास राइले ७५ प्रतिशत मतदाताको घरदैलोमा पुगेर भोट मागि सकेको बताए ।

समाजवादी पाटीका निर्वाचन परिचालन समितिका सचिव ताजुव लिम्बूले समाजवादीमा कांग्रेस र नेकपाका करिव १ सय ५० जना प्रवेश गरेको बताए । उनले समाजवादीमा पार्टी प्रवेश गर्नेहरुको लहर चलेको दावी गर्दै भने, ‘ठूला पार्टीको जस्तो तामझाम समाजवादीले नगरेपनि अरु दलबाट प्रवेश गर्नेको संख्या दिनदिनै बढेको छ ।’ निर्वाचन आयोगकका अनुसार धरानमा कुल मतदाता ९२ हजार ८ सय ५३ जना रहेको छ ।