धरान / उपमहानगरपालिकाको नेकपाबाट मेयर पदका उम्मेदवार प्रकाश राईले यातायात मजदुर कुनै पनि शहरको दुतको रूपमा रहेको बताएका छन । सोमबार धरानको लोकतान्त्रिक चौतारीमा नेकपाका निर्वाचन परिचालन उपसमितीको आयोजनामा भएको कोणसभामा बोल्दै राईले उक्त अभिव्यक्ति दिएका हुन ।
मजदुरहरूको सहयोगमा नेकपाको सरकार बनेको र उनीहरू बिना धरान निर्माण गर्न असम्भव रहेको उनले बताए । उनले भने, –‘सरकारले भ्रमण वर्ष २०२० को अवधारणा ल्याएको छ । पर्यटकहरू कुनै पनि सहरमा भ्रमणका लागी आउँदा सबैभन्दा पहिले यातायात मजदुरसँग भेट हुन्छ । त्यसैले मैले मजदुरहरूलाई कुनै पनि सहरको दुतको रूपमा हेर्ने गरेको छु । मजदुरहरूको सेवाले कुनै पनि शहर कति विकसित छ भन्ने उदाहरण आगन्तुकमा पेश गर्ने भएकाले आफु निर्र्वा्चत भएपछि प्राथमिकतामा मजदुरहरूको विकासका लागी कार्य अगाडि बढाउने छु ।’
मजदुरहरू अब पेट र परिवारसंग मात्र नजोडिएर नेतृत्व पंतिमा आउनुपर्ने समेत उनले बताए । मजदुरहरूलाई नेतृत्वमा ल्याउने काम नेकपाले गर्ने उनको भनाई थियो । ‘२०७४ सालको निर्वाचनबाट यातायात मजदुर शम्सेर बर्देवालाई धरान १० बाट वडासदस्यमा ल्याई यस कार्यको थालनी गरिसकेको उदाहरण दिन चाहन्छु ।’–उनले भने–‘ नेपाली काँग्रेसले यातायात मजदुरको सवालमा ठूला गफ गरीरहँदा मजदुरलाई नेतृत्वमा ल्याएको एउटा उदाहरण पनि दिन सक्दैन ।’
काँग्रेस नगर नेतृत्वले २०६६ सालदेखि २०७४ सालसम्म भानुचोक बसपार्क व्यवस्थापन समितको नाममा दैनिक रूपमा यातायात मजदुरहरूबाट उठाएको रकम अनियमितता गरेको नेपाल स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले आरोप लगाएका छन् । सोमबार धरानको लोकतान्त्रिक चातारीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष राई वस पार्क व्यवस्थापनको नाममा मजदुहरवाट दैनिक १० रुपयाका दरले संकलन गरेको रकमको हिसाव किताव सार्वजनिक नगरी हिनामिना गरेको आरोप लगाएका हुन् ।
“नेपाली काँग्रेसका तिलक राईले यातायात मजदुरको सबै समस्या समाधान गर्छु भनिरहँदा करिब ८ वर्षसम्म यातायात मजदुरहरूले दैनिक रूपमा बुझाएको १० रूपैयाँ कहाँ लगानी भएको छ भनेर सार्वजनिक मात्र गरे केही विश्वास गर्न सकिने उनको भनाई छ ।
नेपालको इतिहासमा सबै भन्दा लामो सत्ता चलाएका काँग्रेसबाट देशभरका मजदुरहरूको लागी केही पनि गर्न नसकेको उनको भनाई थियो । “२०४६ सालपछि हालसम्म गिरीजाप्रासद कोइराला ५ पटक, शेरबहादर देउवा ४ पटक प्रधानमन्त्री भइरहँदा देशभरका करिब ८० लाख मजदुरहरूको लागी के काम भएको छ ?–उनको प्रश्न थियो । काँग्रेस सरकारले मजदुरहरूको विकासका लागी कही काम नगरेका भन्दै उनले भने – यो अवस्थामा धरानमा नेपाली काँग्रेसले मजदुरहरुको विकासका लागी काम गर्छ भनेर कसरी पत्याउने ।”
काँग्रेसले अबको पालो हाम्रो भनेर भन्दै आएको तर नेकपाले कहिले पनि आलो पालोको कुरा गर्दैन । आलो पालोमा सत्तामा जाने प्रथा २०६३।६३ सालको जनआन्दोलन पश्चात समाप्त भइसकेको र नेपाली काँग्रेसले समेत धङधङीबाट मुक्त हुन आग्रह गरे । प्रतिपक्षिले नेकपाले भष्ट्राचार गरेको झुठो आरोप भोट माग्नका लागी मात्र प्रयोग गर्दै आएको समेत उनले बताए । उनले भने, २०७४ सालबाट धरानमा निर्र्वा्चत मेयर स्व. तारा सुब्बा पैसाको अभावको कारण निधन भएको समाचार आए । नेकपाको नेतृत्वले भष्ट्राचार गर्ने हो भने अघिल्ला मेयर तारा सुब्बाको विदेशमा उपचार हुने थियो होला ।’– उनले भने ।
उनले धरान उपमहानगरपालिकामा मजदुर डेस्क स्थापना भइसकेको बताउँदै त्यसको व्यवस्थापनका लागी करीब १० लाख बजेट विनियोजन समेत भइसकेको उद्घोष गरे । नेपालको अन्य कुनै पनि पालिकाहरूमा यसरी मजदुरको हेल्प डेस्क स्थापना नभएको समेत उनले जानकारी गराए ।
धरानमा करिब ३० हजार मजदुरहरू छन । सबैभन्दा बढी करीब १० हजारको हाराहारीमा यातायात मजदुरहरू छन ।
आज भएको कोणसभामा प्रतिनिधी सभा सदस्य जयकुमार राई, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष सोम तामाङ, नेकपाका प्रदेश नं. १ सदस्य विजय राई, नेकपाका जिल्ला सचिव रमेश बस्नेत, नेकपाका जिल्ला सदस्य फोक्वाहाङ सुब्बा चोत्लुङलगायत नेताहरूले बोलेका थिए । नेकपाको नेतृत्वको विकासको लहरलाई पुरा गर्न प्रकाश राईलाई जिताउन बक्ताहरुले मजदुरहरुसँग आग्रहसमेत गरे ।