सुनसरी/ इटहरीको स्किल क्याम्पसका सञ्चालक पृथ्वीराज पराजुलीलाई बेस्ट कम्पनी सस्टेनेवल टुरिजम प्राक्टिस इन एशिया अवार्ड २०१९ प्रदान गरिएको छ । भारतको दिल्लीमा सम्पन्न १५ अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड प्रदान कार्यक्रममा पराजुलीलाई शुक्रबार सो अवार्ड प्रदान गरिएको हो ।

सोही व्यहोराको अवार्ड राइका टुर्स एण्ड ट्राभल्सलाई समेत प्रदान गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गरिएको सो कार्यक्रममा भारतीय राज्य सभाका सांसद् तथा पूर्वमन्त्री विजय गोयलले सो अवार्ड प्रदान गरेका थिए । नेपालमा पर्यटक भिœयाउने योजनासहित सो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

साथै यसै भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यलाई अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय पर्यटन बोर्डका एशियाका उत्कृष्ट सिइओको अवार्ड नेपाल पर्यटन बोर्डका सिइओ दीपककुमार जोशीलाई प्रदान गरिएको थियो ।

यसैगरी काठमाडौंको चन्द्रागिरी हिल्समा निर्मित चन्द्रागिरी हिल्स रिसोर्टलाई वर्षको उत्कृष्ट रिसोर्ट विधाको अवार्ड प्रदान गरिएको थियो । संस्थाका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई उत्कृष्ट रिसोर्ट विधाको पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिशेकविक्रम शाहलाई वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड प्रदान गरिएको थियो । समारोहमा नेपालका विभिन्न होटल तथा पर्यटकीय क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिलाई विभिन्न पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।