भण्टाबारी/ पछिल्लो समय नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने गिरोह सक्रिय रहेको पाइएको छ । आइतबार राति पूर्वबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ४८१७ नम्बरको यात्रुवाहक बसबाट सशस्त्र प्रहरीले ५ लाख ५६ बराबरको अवैध कपडा बरामद गरेपछि यस्तो रहस्य खुलेको हो ।

सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारीको तीनकुने भन्ने स्थानमा सशस्त्र प्रहरीले चेकजाँचको क्रममा कपडा बरामद गरे पनि नक्कली भ्याट बिल भएकोले देखाउन मानेनन् । नक्कली भ्याट बिल देखाउँदा फस्ने डरले प्रहरीले सामान पक्रेर पनि व्यापारीहरूले बिल नदेखाउने गरेको प्रहरीको भनाइ छ ।

केही दिनको अन्तरालमा सोही स्थानमा चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीको टोलीले तीनपटक नक्कली भ्याट बिलसहित सामान पक्राउ गरेपछि नक्कली भ्याट बिल बनाई राजस्व छल्ने गिरोह सक्रिय रहेको पुष्टि भएको छ । नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने र सामान पक्राउ गरेपछि डरले सम्पर्कमा नआएको बिओपी भण्टाबारीका इन्स्पेक्टर प्रेमसिंह विष्टले बताए ।

ठूलो परिमाणमा नक्कली भ्याट बिलबाट राजस्व छल्ने गिरोहको सामान पक्राउ गरिए पनि उनीहरू हालसम्म सम्पर्कमा आउन नचाहेको उनले बताए । विष्टले अर्काको नाममा भएको भ्याट बिलबाट नक्कली बिल बनाएर राजस्व छल्ने गिरोह सक्रिय रहेको बताए । सुनसरीमा व्यापारिक प्रयोजनका लागि बनाइएको भ्याट बिलबाट त्यसको नक्कली बनाई राजस्व छल्ने गिरोह सक्रिय रहेको छ ।

मिलेमतोको आशङ्का
मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरे पनि प्रहरीकै मिलेमतोमा यस्तो कारोबार गर्ने गिरोह सक्रिय रहेको स्रोतको दाबी छ ।

सुनसरीको सीमावर्ती क्षेत्रदेखि पूर्वका विभिन्न स्थानबाट स्थानीयदेखि प्रहरी प्रशासनको माथिल्लो निकायको प्रश्रयमा नक्कली भ्याट बिल बनाएर कर छल्ने गिरोह सक्रिय रहेको स्रोतको दाबी रहेको छ । मोटो रकम लिएर प्रहरी प्रशासनले नक्कली भ्याट बिल प्रयोग गरी कर छली गर्नेलाई प्रश्रय दिएको स्रोतले दाबी गरे पनि प्रहरीले भने यस्तो आरोप अस्वीकार गर्ने गरेको छ ।

यसरी हुन्छ कर छली
प्रायःजसो नक्कली भ्याट बिल बनाउने गिरोहले सोझा र केही थाहा नभएका व्यक्तिको नागरिकता लिएर कम्पनी र बैङ्क खाता खोल्ने गरेका छन् । नाम उल्लेख नगर्ने शर्तमा एकजना व्यापारीले भने, ‘केही नजानेको व्यक्तिको नाममा कम्पनी दर्ता भएको हुन्छ ।

त्यसपछि भ्याटमा दर्ता हुन्छ, त्यसैगरी बैङ्क खाता पनि खोलिन्छ तर उक्त बैङ्कको चेकमा हस्ताक्षर गर्ने अधिकार त्यो सोझो व्यक्तिलाई नदिई नक्कली भ्याट बिलबाट कर छल्नेले आफैसित राख्छ ।’ उनी अगाडि थप्छन्, ‘जस्तै कुनै कम्पनीले १० लाख भ्याट तिर्नुपर्ने छ । तर, उसले उक्त रुपैयाँ नतिर्नको लागि एक करोड कारोबार भएको खरिद बिलबाट देखाउँछ । एक करोडको खरिद गरेर १३ लाख तिरेको भनी देखाएर उल्टै सरकारसँग ३ लाख फिर्ता माग्छ ।’ यस्ता राजस्व छली रोक्न सूक्ष्म अनुसन्धान गर्नुपर्ने उनले बताए ।