धरान/ आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको प्रचारका क्रममा धरानका राजनीतिक दलहरूले आचार–संहिता उल्लङ्घन गरेको पाइएको छ ।

आइतबार धरान–१५ स्थित निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वदलीय छलफलमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले अहिलेदेखि नै आचार–संहिता उल्लङ्घन हुन थालेको बताए । चुनाव प्रचार–प्रसार गर्ने क्रममा आचार–संहिता उल्लङ्घन गरेर टाँसिएका पोष्टर, ब्यानरहरू प्रहरीले उप्काउँदै ल्याउनु परेको उल्लेख गर्दै उनले भने, ‘निर्वाचन आचार– संहिता र स्थानीय तह निर्वाचन आचार–संहितामा स्पष्ट हुँदाहुँदै पनि धरानका धेरै ठाउँमा विभिन्न राजनीतिक दलहरूले उल्लङ्घन गरेको पाइएको छ । हामीले उल्लङ्घन भएका पर्चा, पोष्टर, ब्यानर उप्काएर ल्याएका छौं । अबदेखि यसो नगर्न आग्रह गरिन्छ ।’

छलफलमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आचार–संहिता विपरीत धरान–८ भोटेपुलमा सडक निर्माण गर्न थालिएको, सुकुम्बासी बस्तीमा घर नम्बर वितरण गर्न थालिएको भन्दै मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराए । त्यस्तै नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले एउटा दलको अगुवाइमा देवीगाउँमा ढलाइको काम भएको जानकारी गराए । मुख्य निर्वाचन अधिकृत उप्रेतीले मतदातालाई प्रभावित पार्ने गरी नयाँ निर्माण कार्य गर्न नपाइने बताए । तर पहिल्यैदेखि जारी रहेको ठेक्का–पट्टाका निर्माण कार्य भने नरोक्ने उनले बताए ।

मतदान केन्द्रमा आयोगले आफ्नै कर्मचारी राख्ने बताउँदै यसपटक धरान उपमहानगरपालिकाका कर्मचारी र शिक्षक नखटाउने उनले बताए । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि खटाएका स्वयम्सेवकहरू कुनै पार्टीको पक्षमा लागेको थाहा पाए सेवा सुविधा कटौती गरी कारबाही गरिने बताइएको छ । राज्यकोषबाट जागिर खाइरहेकाहरूले पनि कुनै पार्टीको पक्षमा लागेर हिँडेको थाहा पाए कारबाही गरिने बताइएको छ ।

मुख्य निर्वाचन अधिकृत उप्रेतीले भने, ‘तोकिएको सङ्ख्याभन्दा बढी सवारी साधन चलाउन पाइन्न । मौन अवधिमा पार्टीको चुनाव चिन्ह अङ्कित भेस्ट लगाएर हिँड्न पनि पाइन्न । सर्वसाधारणका लागि सडक अवरुद्ध हुने गरी सडक चोकमा नारा जुलुस आमसभा गर्न पाइन्न । मङ्सिर ११ गते मध्यरातिदेखि कुनै पनि प्रचार–प्रसार गर्न पाइन्न ।’

निर्वाचन आयोगले पनि आइतबार विज्ञप्ति जारी गरी आचार–संहिता पूर्णरूपमा पालना गर्न र गराउन तीनै तहका सरकारसित आग्रह गरेको छ । आयोगले उल्लङ्घन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो । ‘यदि कसैले आचार–संहिता विपरीत काम गरेको पाइएमा प्रत्येक जिल्लामा उजुरीको सुनुवाइ तथा अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको आचार–संहिता अनुगमन समितिले कारबाही अघि बढाउनेछ’ –विज्ञप्तिमा उल्लेख छ ।

आयोगले उपनिर्वाचन हुने स्थानमा तीनै तहका सरकार वा सार्वजनिक संस्थाले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएकाबाहेक नयाँ नीति, योजना तथा कार्यक्रम गर्न नपाउनेसमेत जनाएको छ । आयोगले नयाँ योजना तथा कार्यक्रम घोषणा, स्वीकृति, उद्घाटन, सर्वेक्षण वा अनुगमन समेत आचार–संहिताविपरीत हुने उल्लेख गरेको छ ।

होटल रेष्टुरेण्ट ९ बजे बन्द
निर्वाचन सुरक्षालाई ध्यानमा राखी धरानमा सोमबारबाट राति ९ बजेपछि होटल रेष्टुरेण्ट बन्द गरिने भएको छ । हाल राति ११ बजेसम्म खुला रहँदै आएका होटल रेष्टुरेण्टमा चुनावी चहल–पहल शुरु भएपछि कार्यकर्ताहरू भेला हुने र झगडा हुने सम्भावना बढेको भन्दै इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले निर्वाचनको नतिजा घोषणा नभएसम्म ९ बजे नै होटल रेष्टुरेण्ट बन्द गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

उनको प्रस्तावमा नेकपा धरानका अध्यक्ष नारायण सुवेदी, नेपाली काङ्ग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङलगायत दलका प्रतिनिधिहरूले सहमति जनाएका थिए । धरान उपमहानगरपालिकाभित्र २० वटा वडामा २८ वटा केन्द्र, ९९ वटा मतदान केन्द्र राखिएको बताए । आयोगले उपनिर्वाचनका लागि धरानमा ९२ हजार ८ सय ५३ जनाले मतदान गर्न पाउने गरी फोटोसहितको मतदाता नामावली पठाएको पनि मुख्य अधिकृत उप्रेतीले बताए । उनले मतदाताले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने बताए । उनले मङ्सिर ५ गतेदेखि मतदाता शिक्षा प्रत्येक वडामा पुग्ने र ११ गते मतदाता परिचय–पत्र वितरण गर्ने आयोगले जनाएको छ ।

स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह
निर्वाचन अधिकृतको कार्यालयले धरान उपमहागनपालिकाको प्रमुखको पदमा उम्मेदवारी दिएका ११ जना स्वतन्त्र उम्मेदवारहरूलाई आइतबार चुनाव चिन्ह प्रदान गरेको छ ।

निर्वाचन कार्यालयले स्वतन्त्रबाट उम्मेदवारी दिएका हर्कराज राईलाई पानीको बोतल, अमृतकुमार राईलाई केटा र केटी, रुद्र बस्नेतलाई क्यामेरा, विशाल थापालाई ब्याडमिण्टन कर्क, दावा शेर्पालाई इस्टकोट, एलिसा राईलाई चमेरो, श्यामकृष्ण पहाडीलाई बाकस, मनराज राईलाई ब्याट्री, जनार्दन कोइरालालाई क्याल्कुलेटर, कुमार भट्टराईलाई काउली र दिनेश श्रेष्ठलाई ज्यावल चुनाव चिन्ह प्रदान गरेको छ ।