धरान/ ‘नेपाली काङ्ग्रेससहितको उपस्थितिमा भएको नगरपालिकाको राजश्व परामर्श बैठकमा काङ्ग्रेसका नेता तिलक राईसमेतको सहमतिमा बढाइएको करका विषयमा काङ्ग्रेसले नै कोकोहोलो मच्चाइरहेको छ’ नेकपा जिल्ला कमिटी सदस्य तथा धरान उपमहानगरपालिका निर्वाचन परिचालन कमिटीका सह–संयोजक मुरारी सुवेदीले धरान–१५ निर्वाचन परिचालन कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा भने, ‘यथार्थमा टेम्पो व्यवसायीहरूको कर त दैनिक ४ रुपैयाँ ९५ पैसा मात्र त हो जुन उहाँहरूले तिरी नै सक्नुभएको छ । कर त नेपाली काङ्ग्रेसको हल्ला गर्ने बहाना मात्र भएको छ । करको विरुद्ध बोल्ने नैतिक अधिकार काङ्ग्रेसलाई छैन ।’

‘कर बढाइएको भन्दा पनि जो जो करको दायरामा आउनुभएको थिएन, उहाँहरूलाई करको दायरामा ल्याउने काम गरेकोलाई उहाँहरूले चित्त दुखाएको जस्तो देखिन्छ, तर ८ सय ७५ व्यवसायीहरू रहेकामा १ सय २२ मात्र करको दायरामा आउनुभएकाले बाँकीलाई करको दायरामा ल्याउन खोज्दा त्यस्तो आभास भएको हुनसक्छ । करको केही प्रतिशत मात्र बढेको हो’ उनले भेलामा स्पष्ट पारे । उनले बाटोको लागि पनि ३ करोड छुट्याएर ठेक्का लागिसकेको तर निर्वाचन आचार–संहिताका कारण अहिले बनाउन शुरु नभएको बताए ।

सोही भेलालाई कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले सेउती करिडोरका लागि ५ करोड बजेट छुट्टिइसकेको बताउँदै कर बढेको नभई करको दायरा फराकिलो मात्र बनाइएको उल्लेख गरिन् । सो भेलामा प्रमुख अतिथिको आसनबाट नेकपा प्रदेश सदस्य मुक्सामहाङ मेन्याङ्वोले नेकपाका सूर्य ध्वजावाहक उम्मेदवार प्रकाश राईलाई विजयी गराउन १५ नं. वडाको महŒवपूर्ण भूमिका हुने उल्लेख गरे । कार्यक्रमको सञ्चालन र अध्यक्षता क्रमशः वडाध्यक्ष तथा १५ नं. निर्वाचन परिचालन कमिटीका कमाण्डर नरेशकुमार इवारम र १५ नं. नेकपा अध्यक्ष ज्ञानेन्द्र बस्नेतले गरेका थिए ।

कर घटाउने प्रतिबद्धता
काङ्ग्रेससहित अन्य दलका प्रत्यासीहरूले धरान उपमहानगरपालिकाले निर्धारण गरेको करलाई चुनावी एजेण्डा बनाइरहँदा नेकपाका उम्मेदवार प्रकाश राईले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

धरानको वडा नं. १६ स्थित जनपथमा घरदैलो अभियानकै सिलसिलामा उम्मेदवार राईले करको विषयमा सरोकारवाला र विज्ञहरूसँग छलफल गरेर पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएका छन् । आफू पनि धरानको करदाता भएको र कर वृद्धि स्वभाविक प्रक्रिया भए पनि केही बढी भएको अनुभव आफूले पनि गरेको उम्मेदवार राईले बताए । उनले भने, ‘धरानमा केही कर बढेको मैले पनि अनुभव गरेको छु, म पनि एउटा करदाता नै हुँ । म निवार्चित भएर गएपछि धरानबासीको माग र आवाजलाई पहिलो प्राथमिकतामा राखी सम्बोधन गर्नेछु ।’

उनले स्थानीय सरकारले वृद्धि गरेको करबाट निराश नहुन धरानवासीसँग आग्रह गरे । उनले भने, ‘म विजयी भएपछि वृद्धि भएको करको दरमा परिवर्तन गरी अवश्य पनि धरानवासीको हितका लागि कर घटाउनेछु ।’ उनले सबै पक्षसँग सल्लाह गरेर सबैले तिर्न सक्ने गरी कर निर्धारण गर्नु आफ्नो जिम्मेवारी रहने पनि बताए ।

नेकपालाई जिताउन अनेरास्ववियुका नेताहरू धरानमा
धरान/आगामी मङ्सिर १४ को निर्वाचनमा मेयरका उम्मेदवार प्रकाश राईलाई विजयी गराउन नेकपाका केन्द्रीय नेतासहित अनेरास्ववियु संयोजक ऐर महर र सह–संयोजक रञ्जित तामाङ धरान आएका छन् ।

नेकपाका मेयरका उम्मेदवारलाई बहुमतले विजयी गराउनका लागि जनतासँग आग्रह गर्न नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, ताप्लेजुङबाट नेकपा केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो र विद्यार्थी संयोजकसहितको टिम धरानमा भेला भएको हो ।

नेकपाका केन्द्रीय सदस्य तथा पार्टी विद्यार्थी इञ्चार्ज विनोद ढकालले धरानमा विगत लामो समयदेखि कम्युनिष्ट पार्टीले विजय गरेको स्मरण गराउँदै भने, ‘निर्वाचनमा साविक एमालेका उम्मेदवार तारा सुब्बाले चार हजार मतले निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका तिलक राईलाई पराजित गरेका थिए । हाल माओवादी केन्द्र र एमाले पार्टी एकीकरण भई नेकपा भएपछि नेकपाले विजय मात्रै होइन, ठूलो मतान्तरले विजय हुनेछ ।’