‘मिस वल्र्ड २०१७’ मानुषी चिल्लरको बलिउड डेब्यु पक्का भएको खबर सार्वजनिक भएको छ ।

यसअघि नै बलिउड बजारमा विभिन्नखालका खबरहरू सार्वजनिक भए पनि यस विषयमा मानुषी र चलचित्र टिमले केही पनि बताएको थिएन । तर, सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’ बाट मानुषीले बलिउडमा डेब्यु गर्ने पक्का भएको हो ।

यो चलचित्रमा मानुषी अभिनेता अक्षय कुमारको जोडीको रूपमा देखिँदैछिन् । आदित्य चोपडाको निर्माणमा बन्न लागेको यो चलचित्रमा मानुषी संयोगिताको भूमिकामा देखिन लागेकी हुन् । यो चलचित्रलाई डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्दैछन् ।

मानुषीले यो चलचित्रका लागि केही समय अगाडिदेखि नै तयारी गरिरहेको चर्चा चलेको थियो । तर, यशराज ब्यानरले पहिलो पटक मानुषी पक्का भएको जानकारी दिएको छ ।