पथरी / इलाका प्रहरी कार्यालय पथरीको क्षेत्रमा लागूऔषध कारोबार र प्रयोगकर्ता नै मुख्य समस्या भएको सरोकारवालाहरुले बताएका छन् ।
शुक्रबार इप्रका पथरीको आयोजनामा पथरीशनिश्चरे नगरको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बक्ताहरुले बोल्ने क्रममा सो कुरा बताएका हुन । कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकामा लागूऔषध प्रयोगकर्ता र लागुऔषध कारोबारी दैनिक बढ्दै गएको प्रहरी र नगरका जनप्रतिनिधिहरुले बताएका छन् । बोल्ने क्रममा पञ्चायत माविका शिक्षिका मेनुका राईले १०, ११ बर्षकै उमेरदेखि लागू औषध प्रयोग र यौनिक मनोरञ्जनमा विद्यार्थी लाग्ने गरेको बताइन् । विद्यार्थीहरुले घरबाट हिड्ने बेला स्कुल पोसाक लगाएर अर्को जोर लुगा लिएर जाने गरेका छन् । जंगल एरिया भएको कारण घरबाट हिडेपनि स्कुल नै नपुगी ड्रेस फेरेर जंगल पसेर लागू औषध प्रयोग र यौनिक मनोरञ्जनमा लाग्ने गरेको शिक्षिका राईले बताइन । यसरी लतमा लाग्ने निम्नबर्गका बालबालिका छन् । घरमा बुबाआमा काममा हाजिरा गर्न जान्छन् छोराछोरी स्कुल जाने बहानामा कुलतमा फस्ने गरेका छन् । पञ्चायत मावि नजिकै सुन्दर सामुदायिक वन क्षेत्र पर्दछ । त्यहाँ लागू औषध प्रयोग गरि फालिएको सिरिन्ज, औषधिको खोलहरु प्रशस्त भेटिने गरेको छ ।
धेरै बक्ताहरुको लागूऔषध र कारोबारी मै बोली खर्चका थिए । यस समस्याको हल प्रहरी,जनप्रतिनिधि र प्रहरी मिलेर समधान गर्नुपर्ने सबै बक्ताहरुले बताएका थिए । इप्रका पथरीका डिएस्पी लक्ष्मिराज अधिकारीले लागू औषध प्रयोगकर्ता घट्नु पर्नेमा बढ्दै गएकोमा सबै लागेर न्युनीकरण गर्नुपर्ने बताए । नगर प्रमुख दिलिपकुमार राईले लागू औषध प्रयोगकर्ता घटाउन नगरले चाडै अभियान सञ्चालन गर्ने बताए । उपप्रमुख यमुना विष्टले न्यायिक समिति समाजको विकृतीविरूद्ध लागिरहेको बताइन् ।
पथरीबजार क्षेत्र ट्राफिक जाम, ट्राफिक प्रहरी सडक तिर मात्र
कार्यक्रममा पथरीबजारमा दिनदिनै ट्राफिक जाम पनि ठुलै समस्या बन्दै गएको गुनासो उठाएको थियो । बजारको सडकमै पसल राख्ने, ट्याम्पु, सिटी रिक्सा जहाँ पायो त्यही रोक्ने र ब्यापारीक सामान लोड अनलोड गर्दा बजारमा एक घण्टासम्म ट्राफिक जाम हुने गरेको छ । इलाका ट्राफिक प्रहरी कार्यालय पथरीबजारमै भएपनि उनिहरु सडकमै सिमित रहेको बक्ताहरुले बताएका थिए । हप्तामा दुईपटक लाग्ने पथरी बजारमा यसको समस्याको हल ट्राफिक प्रहरीले गर्नुपर्ने नाराहाङ राईले बताए । उनले ट्राफिक प्रहरीले जरिवाना १ हजार काट्छ अनि त्यो दिन भरी उसले सवारी गुडाउने नियम भएकोले दुर्घटना बढेकोले यस्तो निमयलाई सुधारर्नुपर्ने बताए ।
सुरक्षा व्यवस्था मजबुद बनाउन कानेपोखरी गाउँपालिका रमाइलो प्रहरी चौकीलाई स्तरउन्ती गरेर सईको कमाण्डमा प्रहरी राख्नु पर्ने वडा नंं ६ का वडाध्यक्ष खड्ग बस्नेतले बताएका थिए । अहिले दरवन्दी अनुसारको प्रहरी रमाइलो प्रहरी चौकीमा पठाउनुपर्ने माग राखेका थिए । होक्लाबारी र हसन्दहमा पनि प्रहरी चौकी स्थापना गर्नुपर्ने, मुख्य सडकको कानेपोखरी र जय चौकमा प्रहरी पोस्ट स्थापना गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रमा पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधिहरु, संघरसंस्थाको नेताहरु, शिक्षक र सामाजिक क्षेत्रको अगुवाहरुको सहभागिता रहेको थियो ।
मोरङ जिल्लाको सुरक्षा संवेदनशील क्षेत्रको रुपमा रहेको इलाका प्रहरी कार्यालय पथरीमा २०७६ असोज ७ गतेको मन्त्रीपरिषदको निर्णयले प्रहरी नायव उपरिक्षक (डीएसपी) को दरबन्दीमा ६० जना प्रहरी रहने व्यवस्था गरिएको नगरप्रमुख दिलिपकुमार राईले बताए ।