रानमा छँदा रङ्गकर्मी, समाजसेवी, गीतकारजस्ता बहुपरिचय बनाएकी शशी थापा सुब्बाले बेलायत पुगेको एक दशकपछि बजारमा ल्याएको गीत सङ्ग्रह ‘साँझकी शशी’ भित्रको गीतका टुक्रा हुन् यी । उनका गीतहरूमा आफ्नै गाउँघर र देशको सम्झना झल्किन्छन् । यसपटक तिहार मान्न धरान आइपुगेकी उनले सुनाइन्, ‘देश त नजिकबाट भन्दा टाढाबाट सुन्दर देखिँदो रहेछ ।’

धरानका लागि चिरपरिचित नाम हो, शशी । धरानको रङ्गकर्ममा उनको नाम छुट्दैन । धराने रङ्गकर्मलाई माथि उठाउन उनको सशक्त योगदान छ । शशीको अर्को परिचय हो, समाजसेवी । धरानका लाहुरे समुदायका महिलाहरूलाई सशक्तिकरण गर्नेदेखि समाजका विविध समस्याका विरुद्ध डटेर लाग्ने शशी एकदशक अघि बेलायत पुगिन् । र त्यहाँ पनि उनले कलाकर्म छाडिनन् । बेलायतको व्यस्त दैनिकीमा पनि उनी फुर्सद निकालेर नाटक लेख्छिन्, निर्देशन गर्छिन् र त्यहाँका महिला र युवालाई रङ्गकर्म बुझाउँछिन् । बेलायतबाटै उनले गीती सङ्ग्रह ‘साँझकी शशी’ पनि सार्वजनिक गरिन् । ‘जहाँ पुगेपनि आफ्नो पहिलादेखिको इच्छा, रुचिको विषय छाड्न नसकिने रहेछ’–उनी भन्छिन् ।

दर्शककी चमेली
धराने रङ्गमञ्चसँग शशीको नाता २०४१ बाट जोडिएको हो । उनले शुरुमा अभिनय गरेको नाटक ‘गँजेडी मास्टर’ हो । रङ्गमञ्चसँग नाता जोड्ने काम तिहारका देउसी–भैलोले गरेका थिए । त्यसताका शशी राम्रो डान्सर थिइन् । नाचगानसहितको देउसी–भैलोमा शशीसँगै गायिका पवित्रा सुब्बा, भूमा सुब्बा, अमृता थापालगायतको टोली हुन्थ्यो । शशी सम्झिन्छिन्, ‘त्यसबेला देउसी टोलिले नाचगान गर्ने चलन थिएन । हामीले नाचगानसहित देउसी खेल्दा दर्शकहरू हाम्रो पछि लागेर हिँड्थे ।’ उनले सुनाइन्, ‘अहिले पनि तिनै दिनको सम्झना झल्झली आउँछ । त्यसैले मैले धरानलाई कहिल्यै टाढा सम्झिएको छैन ।’

त्यसबेला देउसीबाट सङ्कलन भएको पैसाले नाटक देखाउने सल्लाह भयो । त्यसपछि शारदा सुब्बाले लेखेको नाटक ‘देउरालीमा एक थुङ्गा फूल’ प्रदर्शन भयो । त्यो नाटक दर्शकले खुब मन पराए । टिकट शोमा लगातार १५ दिनभन्दा बढी नाटक प्रदर्शन भएपछि नाटकको माहोल जमेको शशीको अनुभव छ । उनी भन्छिन्, ‘त्यसबेला भूपू गोरखाहरूले नाटकको माहोल बनाउन ठूलो सहयोग गरे । इन्द्रहाङ लिम्बू, प्रेम राई, टिबी राईहरूको सहयोगले नाटक गर्न सकियो ।’

त्यसपछि राजकुमार मादेनको नाटक ‘विवश आकाश’ प्रदर्शन भयो । त्यो नाटकमा शारदा शाक्य, शोभा खजुमलगायतले अभिनय गरेका थिए । तर शशीलाई नाटकका सबै पात्रका संवाद कण्ठस्थ थियो । शारदा वा शोभा नआएको बेला उनीहरूको रोल शशीले नै गर्थिन् । त्यसबेलासम्ममा शशीहरू धरानमा नाटकका सेलिब्रेटी बनिसकेका थिए । ‘हामी रिक्सामा हिँड्दा नाटकको पात्रको नाम ‘चमेली’ भनेर जिक्याउँथे’ शशी विगत सम्झिँदै हाँस्छिन्, ‘अहिले जस्तो युट्युब भएको भए हामी भाइरल हुन्थ्यौं होला ।’

शशीहरूले नाट्यकर्म गरिरहेका बेला नवीन सुब्बा आइपुगे । त्यसपछि २०४४ सालमा अनाम नाट्य जमातको स्थापना भयो । अनाम स्थापना गर्ने त्यही टिम थियो तर शशीलाई साधारण सदस्यमात्र राखियो कार्यसमितिमा राखिएन । उनी भन्छिन्, ‘मैले अनामको विधानका केही कुराको विरोध गरेकी थिएँ त्यही भएर मलाई कार्य समितिमा राखिएन । तर अनाम स्थापना भएपछि नाटकले भने फड्को मा¥यो ।’ शुरुमा सामाजिक नाटकहरू हुन्थे । अनामले विस्तारै प्रयोगात्मक नाटकहरू गर्न थाल्यो । त्यस्ता नाटक आम दर्शकले नबुझेपछि दर्शक घट्न थालेको शशी बताउँछिन् । उनी भन्छिन्, ‘सामाजिक नाटक हेर्ने दर्शकहरू धेरै हुन्थे तर प्रयोगात्मक नाटक हुन थालेपछि राष्ट्रियस्तरमा पुरस्कार पाए, चर्चा भयो तर स्थानीय दर्शक चाहिँ घटे ।’

नवीनले रङ्गकर्मीलाई थोरै भए पनि पारिश्रमिक दिँदा रङ्गकर्म व्यवसायिक हुन थाल्यो भनेर शशी निक्कै खुशी हुन्थिन् । अनामकै सक्रियतापछि धरानमा लगातार नाट्य संस्थाहरू पनि खुले । तर उनै नवीन धरानको नाट्यकर्म चटक्क छाडेर काठमाडौं हानिए । शशीलाई त्यसबेला खुब रिस उठ्यो रे । ‘मैले त उहाँकै अगाडि हाम्रो र धराने रङ्गमञ्चको टाउको टेकेर फिल्ममा जानुभयो भनेर भनेँ । उहाँ धरानमै बसेर नाटकको नेतृत्व गर्नुभएको भए धराने रङ्गमञ्च निक्कै माथि पुग्थ्यो तर उहाँलाई करिअरको लागि काठमाडौं आवश्यक पनि थियो होला’–उनले भनिन् ।
समाजसेवी शशी
शशीले अनामबाट धेरैवटा नाटकमा अभिनय गरिन् । केही फिल्म र टेलिफिल्ममा पनि अभिनय गरिन् । विहेपछि केही वर्ष हङ्कङ र केही वर्ष पहाड बसे पनि उनले कलाकर्म छाड्न सकिनन् । त्यसपछि धरानमा बसेर रङ्गकर्मसँगै समाजसेवा गरिन् । त्यसबेला समाजका मान्छेहरूले ‘लाहुरेनी’ लाई नकारात्मक रूपमा पनि हेर्थे । तर शशीले समाजको त्यही गलत सोचलाई बदल्न लाहुरेनी अर्थात् गोरखा भूतपूर्व महिला सङ्घको नेतृत्व गरेर सकारात्मक कामहरू गरिन् । उनीहरूले समाजका विकृति विरुद्ध लड्ने मात्र होइन, सिर्जनशील कामहरू पनि गरे । त्यसले समाजको नजरमा लाहुरेनीहरूको छवि नै बदलियो ।

पारिवारिक कारणले उनी बेलायत पुगिन् । त्यहाँ पनि उनले समूह बनाएर नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेकी छन् । उनीहरूको समूहले हरेक वर्ष ३ जना युवतीलाई प्लस टु पढ्न आर्थिक सहयोग गर्दै आएको छ भने वृृद्धाश्रमहरूमा पनि उनीहरूले सहयोग गर्ने गरेका छन् । बेलायतमा विभिन्न कार्यक्रम गरेर र आफैले जम्मा गरेको पैसा उनीहरू नेपाल पठाउँछन् । त्यससँगै सांस्कृतिक कार्यक्रमहरू पनि गर्ने गरेका छन् ।

बेलायतमा नेपालीहरूका धेरै सङ्घ–संस्थाहरू छन् । तिनले आयोजना गर्ने कार्यक्रममा नेपालीपन नपाउँदा भने शशीको मन दुख्छ । नेपालीहरूको संस्था ‘कोसेली’ ले भने नेपाली मौलिकता संरक्षण गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘त्यहाँका सङ्घ–संस्थाले युवाहरूलाई पनि स्थान दिँदैनन्, अनावश्यक खर्च गरेर आफ्नै संस्कृति बिगार्ने काम मात्र भइरहेको छ ।’

अझ त्यहाँका नेपालीहरूले विहे, चाडपर्वमा भारतीय र अन्य देशका संस्कार अँगाल्दा शशीलाई चित्त बुझ्दैन । उनी भन्छिन्, ‘नेपालीहरूले हिन्दी सिरियलको प्रभावले विहेमा मेहन्दी नाइट गर्छन्, केक काट्छन् । तर भारतीय वा अन्यले आफ्नै संस्कारअनुसार गर्छन् ।’

आफ्नो रुचिको कलाकारितामा कान्छी छोरीले प्रगति गरिरहँदा शशी खुशी छिन् । उनकी छोरी मिरुना अहिले नेपाली फिल्म क्षेत्रमा उदाउँदी अभिनेत्री हुन् । मिरुनामा आफ्नो गुण रहेको उनी बताउँछिन् । धेरै समय नेपालमै रहेर कलाकारिता गरिरहेकी मिरुनालाई उनी प्रोत्साहन गर्छिन् ।

धराने रङ्गकर्मको आशा
शशीले धरान आउने बित्तिकै आफ्ना रङ्गकर्मी साथीहरूसँग भेटघाट गरिन् । धराने रङ्गकर्मको हालखबर बुझिन् । उनले भनिन्, ‘निष्कृय रहेका नाट्यसंस्थाहरू सक्रिय बन्न थालेको देख्दा फेरि यहाँको रङ्गमञ्च जाग्ला कि भन्ने आशा पलाएको छ तर नाट्यकर्मीहरू अझै जागरुक भएको देखिनँ ।’

उनलाई आफूले लामो समय बिताएको अनामको चिन्ता छ । अनामकी वर्तमान अध्यक्ष तथा शशीका साथी शारदा शाक्यलाई भेटिन् । उनी भन्छिन्, ‘अनामले धेरैतिरबाट पैसा उठाउनु पर्ने रहेछ । अब यसको व्यवस्थापन कसरी होला भन्ने सुर्ता लागेको छ ।’

शशीलाई धरान उपमहानगरपालिकाले कला, साहित्यको उत्थान गर्न ‘धरान प्रज्ञा प्रतिष्ठान’ गठन गरेकोमा खुशी लागेको छ तर प्रतिष्ठानले अपेक्षित काम गर्न नसकेको सुनेर दुःख पनि लागेको छ । उनी भन्छिन्, ‘प्रतिष्ठानले नयाँ पुस्ता पनि जन्माउन सक्नुपर्छ । बजेट सक्ने मात्र होइन, काम गरेर देखाउनुपर्छ । धरानलाई पहिला नाटकले चिनाएको थियो । प्रतिष्ठानले त्यस्तै माहोल बनाएको हेर्ने मन छ ।’