उदयपुर/ पछिल्लो पिँढीले भुलिसकेको र लोप हुने अवस्थामा पुगेको आरनबाट उदयपुरमा एक व्यावसायीको राम्रो आम्दिानीको स्रोत भएको छ । त्रियुगा नगरपालिका–११ गाईघाटमा करिब १२ वर्षदेखि व्यावसयिक रूपमा आरन सञ्चालन गर्दै आएका जुवुलकिश्वर ठाकुर लुहारले मासिक एक लाख ५० हजार रुपैयाँ कमाइ गर्दै आएका हुन् ।

बाजे बराजुको पालादेखि नै फलामको काम गर्दै आएकाले पेसा परिवर्तन नगरी ‘हिर्देश विश्वकर्मा फलाम उद्योग’ दर्ता गराएर आरनलाई व्यवस्थित र व्यावसायिक रुपले सञ्चालन गर्दै आएको व्यवसायी लुहारले बताए । अहिले उद्योगमा ४ जनाले रोजगार पाएका छन् । उनीहरूलाई मासिक १५÷२० हजार रुपैयाँ तलब दिएर काममा लगाएको उनले बताए ।

कवाडीमा बेचेका काम नलाग्ने फलामहरू किनेर ल्याई मानिसले दैनिक उपयोग गर्ने सामाग्रीहरू उत्पादन गर्दै आएको व्यवसायी लुहारका छोरा हिर्देश ठाकुर लुहारले बताए । आरनबाट मानिसले खाना बनाउनका प्रयोग गरिने कराई, तावा, ताप्के लगायतका र काट्न, कुट्नका लागि चुलेसी, कचिया, खुकुरी, बञ्चरो, हसिया,ओखललगायतका धेरै कुरा उत्पादन हुने उनले बताए ।

अहिले आरनमा फलाम तताउनका लागि प्रयोग गरिने पुरानो तरिकाबाट आगो फुक्ने भात्ती पनि रहेको छ । आगो फुक्नका लागि हातले चलाउने र विद्युत्बाट चल्ने मेसिन राखिएको लुहारले बताए । लिहि, घन, सनासो, हतोडाको भरमा आगोमा तताएको फलाम पिटेर विभिन्न सामाग्रीको रूप दिने गरेको उनले बताए । उनले गाउँघरमा काठको कोइला पाउन छाडेपछि पत्थर कोइला पनि प्रयोग गर्ने गरेका छन् । फलाम तलाउनका लागि आगोको आवश्यकता पर्ने भएकाले कोइला जलाएर फलामलाई तताउने गरेको लुहारले बताए । फलामको काम भएकाले अरू काम जस्तो सजिलो नभएको उनले बताए ।

भुसे चुलो, कोइले चुलो बनाउनुका साथै ग्याँस मर्मतसमेत गर्ने गरेको लुहारले बताए । उक्त उद्योगमा उत्पादन भएका सामाग्री सदरमुकाम गाईघाटमा लाग्ने बुधबारे हटियादेखि नेपालटार, कटारी, बेल्टार बजारमा जाने गरेको छ । जिल्ला बाहिर धरान, विराटनगर, लाहान, काठमाडौँसम्म पुग्ने गरेको उनले बताए । उदयपुर घुम्न आउने मानिसहरूले पनि खुकुरी लगायतका विभिन्न सामाग्री किनेर समेत लाने गरेको लुहारले सुनाए । सानैदेखि बाबुसँग भएका सिकेको सीप अहिले आफ्नै उद्योगमा प्रयोग भइरहेको छ । विदेशमा गएर कमाउने पैसाभन्दा बढी यहीँ आरनबाट कमाइ हुने गरेको उनले बताए ।

आरनले घारपरिवार धानेको छ । आरनबाट भएको आम्दानीले अहिलेसम्म सन्तुष्ट नै भएको र घरपरिवार चलाउन सहज भएको लुहारले बताए । अहिले आरनबाट जति कमाई भइराखेको छ, त्यति कमाइका लागि विदेश जानु नपर्ने उनले बताए । अगोको रापमा फलाम पिट्दा बल र सीप प्रयोग गर्नुपर्ने भएकाले नव युवाहरूले यस्ता काम छाड्दै गएको पाइन्छ ।