बिर्तामोड/ नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–२ मा पर्न सफल झापाका दुईजना प्रतियोगीले आफूलाई विजयी बनाउन आग्रह गरेका छन् । झापाका राम लिम्बू, विकास लिम्बू र बलबहादुर राजवंशी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को टप –१२ मा पर्न सफल भएका छन् ।

तीन जनामध्ये राम लिम्बू र बलबहादुर राजवंशीका समर्थकहरूले उनीहरूलाई जिताउनका लागि भोट दिन आग्रह गरेका हुन् । उनीहरूले भोटिङ अभियान सञ्चालन गरेका छन्् । झापाको बिर्तामोडमा राम लिम्बू जिताऔँ अभियान सञ्चालकले बुधबार पत्रकार सम्मेलन गरी उनलाई जिताउन भोटिङ अभियान सञ्चालन गरेको बताएका छन् । गायक प्रमोद खरेलको समूहमा परेका राम ५ वर्षदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय नेपालीसियन ब्याण्डका भोकलिष्टसमेत रहेका छन् ।

रामलाई भोटिङका लागि धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, भद्रपुर, इलाम, पाँचथर, ताप्लेजुङलगायतका स्थानमा प्रचार–प्रसार तीव्र पारिएको अभियान संयोजक आशिष बुढाथोकीले जानकारी दिए । उनलाई भोट गर्नका लागि म्यासेज बक्समा गएर ०८ टाइप गरी नेपालबाट ३७००० र विदेशबाट प्रभुपे एप डाउनलोड गरी गर्न सकिने व्यवस्था मिलाएको बताइएको छ ।

रामलाई जिताउनका लागि आशिष बुढाथोकीको संयोजकत्वमा ११ कार्यसमिति निर्माण भएको छ । समितिको सह–संयोजकमा अनिष सुवेदी, सचिवमा बाजा साह, कोषाध्यक्षमा सुमन गुरुङ छन् । त्यस्तै सदस्यमा आकाश उप्रेती, भारत राई, बेनु गुरुङ, रमेश गुरुङ, सुमन खत्री, इशान गुरुङ, प्रविन गुरुङ छन् । सल्लाहकारमा प्रकाश लिङ्देन, आशिष बन, मनोज बुढाथोकी, समिर राई रहेका छन् ।

त्यस्तै अर्का प्रतियोगी बलबहादुर राजवंशीको भोटिङका लागि नेपालबाट म्यासेज बक्स गएर ०३ टाइप गरी ३७०००, भारतबाट ५३०१० र कतारबाट ९२३०० मा भोट गर्ने व्यवस्था भएको कोचिला गाभूर फ्रण्टले बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सो संस्थाले झापाका १३ वटै स्थानीय तहसहित २२ वटा उपसमितिले आ–आफ्नो क्षेत्रबाट प्रचार–प्रसार गर्दै भोटिङ गर्ने अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।

कार्यक्रम हिमालयन टेलिभिजनबाट शुक्रबार र शनिबार प्रसारण हुँदै आइरहेको छ । गत शुक्रबारबाट शुरु भएको भोटिङ कात्तिक २९ गते शुक्रबारसम्म मात्र खुला रहनेछ ।