इटहरी/ कोरुी राजमार्गअन्तर्गत जोगबनी–किमाथाङ्का त्रिदेशीय व्यापारिक मार्ग विस्तारमा पुनः विवाद उत्पन्न भएको छ । ६ लेन सडकको मापदण्ड स्थानअनुसार फरक–फरक बनाइएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । इटहरीमा एउटा र तरहरा क्षेत्रमा अर्कै मापदण्डमा सडक निर्माण भएकोप्रति तीव्र विरोध भएको हो ।

इटहरी उपमहानगरभित्रैका केही सडक ८२ दशमलव ५ फिट अर्थात् ६ लेन निर्माण गरिए पनि इटहरीको मुख्य चोक क्षेत्रमा भने त्यो मापदण्डअनुसार नबनाउन खोजिएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । ठूलाबडा र ठूला व्यापारीको घर परेकै भरमा सडकको चौडाइ घटाउन खोजेको उनीहरूको आरोप छ । त्यस क्रममा नेकपा इटहरीले एक विज्ञप्ति प्रकाशित गर्दै एउटै मापदण्डमा सडक बनाउन आग्रह गरेको छ ।

आफूखुशी मापदण्ड कायम गरेकोप्रति नेकपाले आपत्ति जनाएको हो । भेदभाव नगरी मापदण्डका आधारमा सडक विस्तार गर्न नेकपा इटहरीले माग गरेको नेकपा इटहरीका अध्यक्ष बहादुरसिंह तामाङले बताए । मापदण्ड मिचेर सडक विस्तार जारी राखे पार्टी कठोर कदम चाल्न बाध्य हुने उनले चेतावनी दिए । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको योजनाको बाटोलाई मापदण्ड घटाउन खोजेकोप्रति चिन्ता प्रकट गरे । अध्यक्ष तामाङ र सचिव काशीनाथ दङ्गालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बहुचर्चित ६ लेन सडकमा खेलाँची गरे कडा कदम चाल्ने चेतावनी दिए ।

इटहरी उपमहानगरको फटाइँ
६ लेन सडक विस्तार गर्दा हाई–वेको केन्द्रबाट २५–२५ मिटर दाँयाबाँया हुनुपर्ने भए पनि इटहरी उपमहानगरपालिका क्षेत्रभित्र व्यापारिक मार्गमा केन्द्रबाट दाँया र बाँया १५ मिटिर मात्र कायम गर्नुपर्ने निर्णय गरेपछि व्यापारिक मार्गको विस्तारको काम अन्यौल बनेको छ ।

गत वैशाख १० गते उपमहानगरपालिकाले नगर क्षेत्रमा निजी घर भत्किने भन्दै उपमहानगरपालिकाले सडकको केन्द्रदेखि दायाँ–बायाँ १५ मिटर मात्र कायम गर्नु भनेर पत्र पठाएको थियो ।

राजमार्ग निर्माण व्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी–धरान सडकलाई सेण्टर लाइनबाट दाँया–बाँया २५–२५ मिटरको बाटो बनाउने निर्णय भएको अभिलेख छ । इटहरीका मेयर द्वारिकलाल चौधरीले भने आफूले भत्काउन नदिने निर्णय नगरेको दाबी गर्दै भने, ‘व्यापारीहरूले बजारमा साढे ८२ फिट भत्काउँदा धेरै व्यापारीहरू धरासायी हुन्छन् भनेका थिए ।’ अहिले सडक निर्माणको विषयमा इटहरी उपमहानगरको सर्वत्र विरोध भइरहेको छ । विकास विरोधी गतिविधि उपमहानगरपालिकाले गरेको भन्दै जनप्रतिनिधिहरूको सामाजिक सञ्जालमा विरोध शुरु भएको छ ।

उपमेयर र काङ्ग्रेस सभापतिको जुहारी
६ लेन सडकअन्तर्गत इटहरीको मुख्यचोकमा सडक विस्तारको बाधक काङ्ग्रेस नेता रोहित प्रसाईं रहेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले आरोप लगाएकी छन् ।

इटहरीको मुख्यचौक सानो बनाउन रोहित प्रसाईंलगायतका नेता लागेको उनको आरोप छ । उक्त आरोपलाई काङ्ग्रेस नगर सभापति हेमकर्ण पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो पार्टीले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई इटहरी बजारको सडक फराकिलो बनाउनुस्, समान मापदण्ड लागू गर्नुस्, इटहरीको अवसर हो भनेर उल्लेख गरेका छन् । उनले फेसबुकमै आगामी पुस्ताको भविष्य जोडिएको भनी पटक–पटक अनुरोध गरेको बताए ।