इनरुवा-बलाहा/ कामदार आन्दोलित बनेपछि सुनसरीको गढी गाउँपालिकाको औरावनीमा सञ्चालित सीजी फुड्स इन्ड्रस्टिज प्रालिको उत्पादन प्रभावित बनेको छ ।

कम्पनीको नियम विरुद्ध आन्दोलित कामदारको हड्तालका कारण वाइवाइ चाउचाउ उत्पादन गर्दै आएको सीजी फुड्स प्रालि दुई दिनयता बन्द छ । २ सय २० कामदार एकसाथ आन्दोलनमा उत्रिएपछि उद्योग सञ्चालनमा आउन सकेको छैन । आन्दोलनका कारण उद्योगको उत्पादन प्रभावित बन्दा चाउचाउ र भुजिया गरी १३ हजार कार्टुन उत्पादन कटौती भएको छ ।

हड्तालका कारण दैनिक एक करोड बढीको नोक्सानी सहनु परेको उद्योग प्रशासनले जनाएको छ । उद्योगका प्रशासकीय अधिकृत तथा प्रवक्ता श्याम पोखरेलका अनुसार कामदारको आन्दोलनले दैनिक ७० लाख बराबरको सामान उत्पादन प्रभावित बनेको छ । आन्दोलित कामदारहरूले खाजा, नास्ता खाने र शौचालय जाने जस्ता सवालमा समेत कम्पनीले कडाई गरेकाले उद्योग विरुद्ध आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

आन्दोलित कामदार मध्येका कृष्ण चौधरीले उद्योग कामदारको हकहितको पक्षमा नदेखिएकाले आन्दोलित बन्नु परेको बताए । खाना खानको लागि घर जान पाउनुपर्ने आफूहरूको अडानलाई उद्योगले बेवास्ता गरेको उनी बताउँछन्् । उद्योगभित्रै रहेको क्यान्टिनमा जबरजस्ती खाना, नास्ता खानुपर्ने बाध्यता सिर्जना गराउन उद्योगले आफूहरूलाई कडाइ गरेको चौधरीको भनाइ छ । चौधरीले आफूहरूको एकमात्र माग खानाका लागि उपलब्ध गराइने समयमा उद्योग बाहिर निस्कन पाउनुपर्ने रहेको बताए । खानाकालागि आधा घण्टाको समय अपुग भएको समेत कामदारको गुनासो छ ।

कामदारको गुनासो र आन्दोलनका सवालमा उद्योग प्रशासनले भने बेतुकको राजनीति लाद्न खोजेको प्रतिक्रिया दिएको छ । कामदारको सवालमा कम्पनीबाट उपलब्ध हुने सबैखाले सेवा र सुविधा उपलब्धताका बाबजुद कामदार आन्दोलनमा उत्रिनुलाई उद्योगले व्यक्तिगत स्वार्थ साध्ने केही व्यक्तिको उक्साहट र बदनियत पूर्ण कार्य भनेको छ ।

उद्योगका प्रवक्ता पोखरेलले श्रम सम्झौताकै दौरान कम्पनीका सबै नियम कानून मान्ने शर्त अनुरूप पक्रियासङ्गत नियुक्ति गरिएका कामदार हड्तालमा उत्रनुलाई अवैधानिक कदम भएको बताए । श्रम ऐनअन्तर्गत आफूहरूले कामदारका हकमा सञ्चय कोषको व्यवस्थासहित आवश्यक सेवा सुविधा दिलाएको बताउने पोखरेलले काममा फर्किन गरिएको पटक पटकको आग्रह नटेरेकाले कानूनी बाटोमा अघि बढ्न लागिएको बताए ।

सीजी फुड्सले औरावनीमा उत्पादन थालेको ४ महिना भएको छ । कामदार परीक्षण अवधिमै रहेको बताएको उद्योगले असन्तुष्टिका विषय भए कानूनी व्यवस्था अनुरूप प्रक्रियासङ्गत ढङ्गले व्यक्त गरिनुपर्नेमा त्यसो समेत नगरिएको बताएको छ । कामदारहरूले उद्योगको हित विपरित कार्य गरेको पाइएकाले सो सम्बन्धमा कानूनी बाटो रोज्ने विषयमा छलफल भइरहेको उद्योग प्रशासनको भनाइ छ ।

उद्योगले कम्पनीको नियम भन्दा बाहिर जान नसकिने स्पष्ट पार्दै कामदारलाई बहकाउमा नलागी आफ्नो पेशाको सुनिश्चितता गर्दै काममा फर्कन आग्रह समेत गरेको छ । चौधरी ग्रुपको सीजी फुड्स प्रालिले औरावनीमा जग्गाको मूल्य बाहेक २० करोड बढी लागतमा उद्योग सञ्चालनमा ल्याएको छ ।