इटहरी/ रानी–विराटनगर–इटहरी–धरान सडक अन्तर्गत लामो समयदेखि विवादका कारण रोकिएको इटहरीको मुख्यचोक क्षेत्रमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीमा चौतर्फी विरोध भएको छ । ६ लेन सडक मनपरी मापदण्डमा बनेको भन्दै इटहरीमा विरोध भएको हो । इटहरीको धरानलाइनमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीबासीले विरोध गरेका हुन् ।

इटहरी क्षेत्रमा मनपरी मापदण्ड कायम गरेको भन्दै इटहरीका सुनिल कार्कीले राज्यका लागि सबै जनता समान हैनन् र ? के सम्पत्ति र पहुँचका आधारमा राज्यले जनतालाई फरक व्यवहार गर्न मिल्छ ? भनी प्रश्न गरे । यस्तै यस्तै प्रश्नले आम इटहरीबासीलाई पिरोलिरहेको छ । ‘केही मिटरअगाडि जनताको घरलगायत अनेकन संरचना र जग्गा नै उडाइएको छ । कहीँ नापेर संरचना जगाइएका छन्, के यही हो न्याय ? के यही यो कानूनी राज्य ?’– उनले प्रश्न गरेका छन् ।

नेकपाका युवा नेता मदन चूडालले पनि इटहरी क्षेत्रमा मनपरी मापदण्ड तत्काल रोक्न माग गरेका छन् । सरकारको अर्बौं रुपैयाँको योजनामा खेलाँची भइरहेको भन्दै तत्काल अनुगमन गरेर काम रोक्न माग गरे । सरकार र आयोजनाको बेवास्ताको कारण मनपरी मापदण्ड भएको भन्दै उनले आपत्ति जनाए । इटहरीमा पहुँचवालाको घरअगाडि एउटा मापदण्ड र अर्को ठाउँमा अर्कै मापदण्ड गर्न नहुने उनले बताए ।

इटहरी र तरहरा क्षेत्रमा फरक–फरक मापदण्ड बनाएको भन्दै गोरखा डिपार्टमेण्ट स्टोरअगाडि गालीगलौज गरेको आरोपमा तरहराका नवराज मैनाली पक्राउ परेका छन् । उनले डिपार्टमेण्टअगाडि आएर इटहरी र तरहरा क्षेत्रमा एउटै मापदण्डमा काम गर्न माग गरेका थिए । तरहरा र इटहरी चौक एउटै बाटोमा जथाभावी मापदण्ड बनाएको भन्दै उनले विरोध जनाएका थिए ।

इटहरीको तरहरा क्षेत्रमा सडक विस्तार साढे ८२ फिट नै कायम गरे पनि इटहरीको मुख्यचौकमा भने ठूला व्यापारीको पहुँचले ६५ फिट मात्र किन बनाएको भन्दै मैनालीले डिपार्टमेण्टको सटर तानेका थिए । उनलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । मुख्यबजार क्षेत्रमा रहेका धेरै घरहरू भत्कने भन्दै बाटो सानो बनाउन ठूलाबडा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । रानी–विराटनगर–इटहरी–धरान ३९ किलोमिटर सडक–खण्डमध्ये ३४ किलोमिटरमा काम भइरहेको जनाइएको छ । सो सडक योजनाको काम आगामी असार मसान्तसम्ममा सम्पन्न गरिसक्नु पर्ने भए पनि इटहरीमा सीमा कायम गर्ने कामसमेत हुन सकेको थिएन ।

यता ६ लेन सडक आयोजनाका इञ्जिनियर गौतम देवले भने जग्गाअनुसारको मापदण्ड फरक भएको स्वीकार गरे । इटहरी चौक र तरहरा आँपगाछी आसपासमा फरक मापदण्ड भएको देव बताउँछन् । इटहरीको मुख्य चौकमा हाल ६५ फिट मात्र कायम हुने सहमतिअनुसार सडक विस्तारको काम भइरहेको देवको भनाइ थियो ।

पहुँचवालाको घरअगाडि रातभर काम
बहुचर्चित धरान–विराटनगर ६ लेन सडक विस्तार कार्य सुस्त गतिमा चलिरहँदा निर्माण कार्य भइरहेको क्षेत्रहरूमा धुलोको कारणले दिन प्रतिदिन जनजीवन कष्टकर त बन्दैछ । त्यसमाथि यही सडक विस्तारका क्रममा दुई जनाले अनाहकमा आफ्नो अमूल्य जीवनसमेत गुमाइसकेका छन् ।

ठेकेदार र नियामक निकायको मनपरीले अपेक्षाकृत रूपमा सडक विस्तार कार्यले गति लिन नसकिरहेका बेला लामो समयसम्म इटहरी मुख्यचोकमा कति फिटको सडक बनाउने भन्ने विषयमा करिब एक वर्ष विवाद चल्यो र अन्ततः ६५ फिट सडक कायम गर्ने निर्णय भएपश्चात् इटहरीको मुख्यचोकबाट निर्माण कार्य शुरु भएको छ ।

चोकबाट काम शुरु भएपश्चात् ठेकेदार कम्पनी र आयोजनाका प्रतिनिधि रातभर बसी पहुँचवालाको घरअगाडि एकै दिनमा सोलिङ गर्ने काम सम्पन्न गरेका हुन् । यदि यही गतिमा काम गरेको भए अहिलेसम्म ६ लेनको सडक निर्माण सम्पन्न भइसक्ने र सर्वसाधारण सास्ती व्यहोर्नु नपर्ने राय आम सर्वसाधारणले व्यक्त गरेका छन् ।

व्यवसायीको गुनासै गुनासो
इटहरीमा ६ लेन सडक विस्तार भएसँगै चौक आसपासका व्यवसायीहरू करोडौं रुपैयाँ डुब्ने खतरामा रहेको गुनासो गरेका छन् । व्यवसायीहरूको मर्का कसैले नबुझेको इटहरीका होटल व्यवसायी सङ्घका उपाध्यक्ष तेजबहादुर पुरीले गुनासो गरे ।

इटहरीमा लामो समयदेखि व्यवसाय गर्दै आएका पुरीले भने व्यापार–व्यवसाय गरेर खान गाह्रो भयो । ६ लेन सडक निर्माण भइरहँदा व्यवसायीहरूको मर्कामा सरकारले ध्यान दिनुपर्ने बताए । ६ लेन सडकको काम शुरु भएसँगै लाखौं रुपैयाँ घरमा डिपोजिट राखेर व्यवसाय थालेका व्यवसायीहरू मारमा परेको भन्दै यस विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।