वराहक्षेत्र/ वराहक्षेत्रको आदर्श माध्यमिक विद्यालयमा भएको तोडफोड घटनाका आरोपी नन्दीप्रसाद घिमिरेलाई प्रहरीले मङ्गलबार अदालतमा उपस्थित गराएको छ ।

वराहक्षेत्र नगरपालिका–२ स्थित विद्यालयमा असोज २० गते राति तोडफोड भएको थियो । तोडफोडमा संलग्न भएको आशङ्कामा प्रहरीले पक्राउ गरेका मुख्य आरोपी घिमिरेलाई अदालतमा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर शरणकुमार दाहालले बताए । आवश्यक कागजातको अभावमा प्रहरीले अदालतमा उपस्थित गराउनु पर्ने म्यादभन्दा २२ दिन ढिला गरी उपस्थित गराएको हो । घटना भएको २५ दिनभित्र अदालतमा आरोपीलाई उपस्थित गराउनु पर्ने प्रावधान छ । उता सरकारी वकिलको कार्यालयले प्रहरीसँग माग गरेको घटनामा सम्बन्धित आवश्यक कागजात प्रहरीलाई बुझाइएको प्राचार्य प्रह्लाद भट्टराईले बताए ।

मङ्सिर १ गते अवकास लिन लागेका सहकर्मी कार्यालय सहयोगी हर्कबहादुर कार्की जत्तिकै तलब बढाउने माग गरेकोमा विद्यालयले तलब नबढाउने भनेपछि त्यही झोंकमा घिमिरेले प्रधानाध्यापक कक्ष, लेखा र परीक्षा कोठामा रहेको करिब ८ लाख बराबरको विद्युतीय उपकरण तोडफोड गरेका थिए ।

तोडफोडबाट विद्यालयको २–२ थान ल्यापटप र डेस्कटप कम्प्युटर, रङ्गीन र सादा गरी ३ थान प्रिन्टर, फ्याक्स मेसिन, इन्टरनेटको राउटर, स्टिल दराजलगायत ट्रफी र सिसाहरू तोडफोडबाट करिब ८ लाख बराबरको अति आवश्यक उपकरणहरू नष्ट भएको प्रधानाध्यापक प्रह्लाद भट्टराईले बताए । असोज २१ गते भएको उक्त घटनाको सूचना २२ गते बिहान विद्यालय खोल्न गएका घिमिरेले प्रधानाध्यापक भट्टराईलाई जानकारी दिएपछि त्यसको भोलिपल्ट तोडिएका सामानहरू आफैले मिलाएर राखेका थिए ।

घटनाको जानकारी दिन विद्यालयले २६ गते बोलाएको सर्वपक्षीय भेलाले घटना घिमिरेले गराएको निष्कर्ष निकालेको थियो । लगत्तै विद्यालयले तोडफोड नन्दीप्रसादले गरेको भन्दै किटानी जाहेरी दिएको थियो । जाहेरीपछि इलाका प्रहरी कार्यालय चक्रघट्टीले घिमिरेलाई पक्राउ गरी म्याद थप गराई इलाकामा राख्दै आएको थियो । घिमिरेले आफूलाई आरोपी बनाएको तर घटना आफूले नगराएको बयान दिँदै आएका थिए । दुई वर्षपछाडि अवकास लिन लागेका आरोपी नन्दीप्रसाद घिमिरेले धैर्य गर्न नसक्दा रिसको झोंकमा सह–प्राध्यापक ज्ञानबहादुर पाण्डेले लगाउने पावरवाला चश्मा र मायाको चिनोसमेत फुटाएका थिए ।