दमक/ मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद –२७ मा पशुपंक्षीसम्बन्धी कसूरको बारेमा उल्लेख गरिएको छ । सो संहिताको दफा २८९. मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले काम गर्नु वा गराउनु हुँदैन । तर झापाको दमकमा रहेको जिल्लाकै सबैभन्दा ठूलो पशु बजारमा बिक्रीका लागि चौपाया राखिएका छन् । अनि केही चौपायाको त मृत्युसमेत भएको छ । यसरी निर्मम तरिकाले राखिएका ती चौपाया भारततर्फ तस्करी गरी लैजान लागिएको र प्रहरीले बाटो बन्द गरिदिएपछि दमकमा थन्किएका हुन् ।

दमक–७ स्थित पशुहाटमा विभिन्न जिल्लाका गाई गोरुको व्यापार गर्ने, चौपायाको ढुवानी गर्ने, चराउने, स्याहार सुसार गर्नेहरू विगत एक हप्तादेखि छन् । उनीहरूमात्र होइन, यहाँ उनीहरूले विभिन्न ठाउँबाट ल्याइएका गाई गोरुहरूसमेत हुलका हुल छन् । भारतको सिमानामा लगेर बेच्न हिँडेका यी व्यापारीहरू झापा प्रहरीले कडाइ गरेपछि दमकमा रोकिएका हुन् । अहिले यहाँ ७–८ जना व्यापारीहरू गाई–गोरुसँगै रात दिन कटाइरहेका छन् । लाखौं रुपैयाँ लगानी गरेर ल्याइएका गाई गोरु उनीहरूको लक्षित बजारमा पु¥याउन नपाउँदा घरबाट पैसा मगाउँदै खाएर बसेका छन् । उनीहरूले घरबाट पैसा मगाएर खाँदै बसे पनि यहाँ रहेका गाई गोरुहरू भने भोकभोकै बस्न बाध्य छन् । भोक र रोगका कारण एउटा गाई मरिसकेको छ भने केही बिरामीसमेत भएका छन् ।

तेह्रथुमका अनन्त बास्कोटाले गाउँतिरबाट खरिद गरेर ल्याएका गाई गोरु अहिले यहाँ थन्किएका छन् । यसरी ल्याइएका गाई गोरु झापाको सीमावर्ती शहरमा बिक्री हुने गरेको तर अहिले प्रहरीले रोकिदिएपछि एक हप्तादेखि उनका गाई गोरु यहाँ थन्किएका हुन् । ‘हामी विभिन्न जिल्लाबाट गाई गोरु खरिद गरेर ल्याएर झापाको दक्षिणी बजारमा लगेर बेच्ने गथ्र्र्यौं’ बास्कोटाले भने, ‘गौरीगञ्ज, भद्रपुर, टाँघनडुब्बा, भद्रपुर र धुलाबारी हाम्रो मुख्य बजार हो ।’ ती बजारमा गाई गोरुको मूल्य राम्रो पाइने भएकोले ती बजारमा गाई गोरु लगेर बेच्ने गरेको उनको भनाइ छ ।

मोरङ उर्लाबारीका अर्का चौपाया व्यवसायी गोपाल विश्वकर्माले चौपायाको व्यवसाय गरेको २४ वर्ष भयो । यो अवधिसम्म चौपाया जहाँ जतिबेला पनि लैजान पाइन्थ्यो तर यो पटक मात्र त्यो पनि झापा प्रहरीले मात्र रोकेको चाहिँ पहिलो पटक रहेको उनको भनाइ छ । एक बजारबाट अर्को बजारसम्म नै लैजान नदिनु चाहिँ व्यापारीमाथिको अन्याय नै भएको उनको ठम्याइ छ । उनी भन्छन्, ‘हामी ‘न लाइन मिलाउने हौं, न तस्कर हौं तर हामीलाई त अर्को बजार लैजान दिनुप¥यो नि । हामीले जहाँको बजारबाट गाईवस्तु ल्याएका हौं त्यहाँ त आवश्यक मात्राको राजस्व काटेकै छौं नि, हामीलाई किन छेकबार ?’

यतिबेला दमकमा रहेको पशुबजारमा गाई गोरुको मेला नै लागेको झैं भएको छ । बुधबार साप्ताहिक हटिया भएको हुँदा मङ्गलबार बेलुकादेखि यहाँ चौपायाको भीड हुने भए पनि अहिले एक हप्ता अघिदेखि नै चापायाले भरिभराउ छ दमक पशुबजार । कतिपय चौपायाको त यहाँ मृत्युसमेत भएको छ । यही बजारको ठेक्का लिने मिटु कन्स्ट्रक्सनका सह– ठेकेदार यज्ञप्रसाद ढकालका अनुसार पहिला–पहिला सिधै नाका–नाकामा चौपाया झर्थे । अहिले प्रहरीले नियन्त्रण गर्न थालेपछि दमकमा झार्न थालिएको हो ।

झापा प्रहरी पछिल्लो समय चौपाया तस्कर गर्ने विरुद्ध कडारूपमा उत्रिएपछि यो व्यवसायमा संलग्न व्यापारीहरू सतर्क हुन थालेका छन् । उनीहरूले झापाको बाटो बन्द भएसँगै यसका वैकल्पिक मार्गहरू खोज्न थालेको स्रोतले बताएको छ । श्रोतका अनुसार अहिले चौपाया तस्करी गर्नेहरुले झापा छोडेर मोरङका नाकाको बाटो रोजेको बताइएको छ । त्यसतर्फ झापा प्रहरी झै मोरङ प्रहरी पनि लाग्न जरुरी छ ।