भण्टावारी /  सुनसरीको कोशी गाउँपालीका क्षेत्रमा हराएका भनिएको सीमा स्तम्भको बारेमा बुझ्न सशस्त्र प्रहरीले संयुक्त गस्ती शुरु गरेको छ । आज ब्लाष्ट खवरमा समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी बल बिओपी भण्टावारीले सीमा स्तम्भको खोजीकार्य गरेको हो ।

४९ वटा सीमा स्तम्भ हुनुपर्नेमा संयुक्त गस्तीको क्रममा २६ वटामात्र सुरक्षित रूपमा रहेको पाइएको सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टावारीका इन्स्पेक्टर प्रेमसिंह विष्टले बताए । भारतीय एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा स्तम्भको अवस्थाको बारेमा बुझ्न संयुक्त रूपमा गस्ती गरेको जनाउँदै इन्स्पेक्टर विष्टले सीमा स्तम्भ धेरै पहिलादेखि नै हराईरहेको पाइएको बताए । उनले भने –‘भारतले अतिक्रमण गरेको पाइएन विभिन्न समयमा आएको बाढीले बगाएको देखिन्छ । भारतीय तर्फबाट एएसआई टुका डोङ्गको नेतृत्वमा रहेको एसएसबीको नेतृत्वमा गरिएको संयुक्त गस्तीको क्रममा २३ वटा सीमा स्तम्भ हराएका बाहेक अरु सबै सामान्य अवस्थामा पाइएको विष्टले बताए ।
कोशी गाउँपालीका अन्तर्गत रहेको चारवटा बिओपी मध्ये सबै बढी ४९ वटा सीमा स्तम्भ रेखदेख गर्ने जिम्मेवारी बिओपी भण्टावारीको हो । यसैगरी बिओपी श्रीपुरले ७ र बिओपी लौकहीले २२ वटा सीमा स्तम्भ रेखदेख गर्ने जिम्मेवारी पाएका छन् । एकवर्ष अगाडि नयाँ थपिएको बिओपी लाही अन्तर्गत केही सीमा स्तम्भ अतिक्रमणमा परेको हुनसक्ने स्थानीय बताउँछन् ।
यद्यपि बिओपी लाहीले सबै सीमा स्तम्भ सुरक्षित नै रहेको दाबी गरेको छ । दसगजा क्षेत्रमै नेपाल भारत क्षेत्रका सर्वसाधारणले फुसको घर र खेतीपाती गर्दै आएकोले अतिक्रमणमा परेको जस्तो लागेपनि त्यस्तो भने अहिलेसम्म नपाइएको सशस्त्र प्रहरीको भनाइ छ ।

भारतीय प्रहरी सहितको गस्तीले सीमा स्तम्भको अवस्थाका बारेमा बुझ्नुका साथै सीमा क्षेत्रमा हुने चोरी तस्करी तथा अपराध नियन्त्रणमा समेत सहकार्य गर्ने समझदारी गरेको बिओपी भण्टावारीले जनाएको छ । गस्तीका क्रममा सीमा स्तम्भको अवस्था र सीमा अतिक्रमणका साथै सीमावर्ती क्षेत्रमा भईरहेको चोरी तस्करीलाई नियन्त्रणका गर्नुका साथै दसगजा क्षेत्रमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याको बारेमा छलफल गरिएको इन्स्पेक्टर बिष्टले बताए ।
नियमित गरिने सीमामा संयुक्त गस्तीले सीमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने र शान्तिसुरक्षा थप मजबुत हुने भारतीय एसएसबीका एएसआई टुका डोङ्गको भनाइ छ ।

दसगजामा फोहोर थुपार्दै भारतीय

अन्तर्राष्ट्रिय कानुनअनुसार दसगजा क्षेत्रमा कुनै राष्ट्रले भौतिक संरचना बनाउन नपाइने भएपनि भारती पक्षले दसगजा मिचेर स्वागतद्दार बनाएको छ । भारतीय पक्षले बनाएको स्वागतद्दारको बारे सुनसरी प्रशासन मौन देखिएको अवस्थामा भारतीय पक्षले दसगजा क्षेत्रमै फोहोर थुपार्ने गरेको पाइएको छ । भारत बिहार भिमनगरका स्थानीयहरुले दसगजा क्षेत्रमा वर्षौंदेखि फोहोर थुपार्दै आएपनि रोक्न पहल गरिएको छैन । जसले गर्दा भारती पक्षको लागि सीमा क्षेत्र फोहोर फाल्ने डम्पिङ साइट जस्तै बनेको छ ।