भण्टाबारी/ भारतले प्रकाशित गरेको राजनीतिक नक्साका कारण विवाद चर्किरहेका बेला सुनसरीमा २३ वटा सीमा स्तम्भ गायब भएको पाइएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा २ सय ९० वटा सीमा स्तम्भ हुनुपर्नेमा हाल २३ वटा हराएको पाइएको सरकारी अधिकारीले बताएका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीका अनुसार चारवटा मुख्य र १९ वटा सहायक स्तम्भ गायब बनेका हुन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा सुनसरीका एसपी कृष्ण ढकालका अनुसार जिल्लाको दक्षिणवर्ती क्षेत्रका सीमा स्तम्भ हराएका हुन् । ढकालले सुनसरीको कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका सीमा स्तम्भ गायब भएका हुन् ।

यद्यपि कोशी गाउँपालिका–८ भण्टाबारीमा मात्रै २३ वटाजति सीमा स्तम्भ हराएको स्थानीय दाबी गर्छन् । सशस्त्र प्रहरी बल बिओपी हरिपुरले ४९ वटा सीमा स्तम्भको रेखदेख गर्नुपर्नेमा हाल २६ वटा मात्रै फेला परेको र २३ वटा अझै गायब भएको स्थानीयले बताए ।

हराएका सीमा स्तम्भ भारतीय पक्षले अतिक्रमण गरेको नभई बाढीका कारण बगाएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । के कति सीमा स्तम्भ हराएका छन् भन्नेबारेमा खोजी कार्य भइरहेकाले यथार्थ केही दिनमा बाहिरिने प्रहरीले जनाएको छ । एसपी ढकालले हराएका सीमा स्तम्भको उपनिर्वाचनपछि खोजी गरेर मर्मत सम्भार गर्न पहल गरिने बताए ।

दसगजा मिचेर भारतीय स्वागतद्वार
भारतीय पक्षले सीमा मिचेर आफूखुशी दसगजा क्षेत्रमा स्वागत द्वार बनाएपछि सर्वत्र आलोचना शुरु भएको छ ।

कोशी गाउँपालिका–८ स्थित तीनकुने नाकानजिकै भारतीय पक्षले स्वागत द्वार बनाएको हो । करिब एक वर्षअघि नै भारतीय पक्षले स्वागत द्वार बनाए पनि सुनसरी प्रशासनले यसबारे चासो देखाएको छैन । भारतीय पक्षले सीमा मिचेर स्वागत द्वार बनाएको पाइए तत्काल हटाउन पहल गरिने एसपी ढकालको भनाइ छ ।

सीमामा तैनाथ स्थानीय सशस्त्र प्रहरीका अनुसार सीमा मिचेर स्वागत द्वार बनाएको नदेखिए पनि नापी गरेपछि वास्तविक कुरा थाहा हुन्छ । सीमा क्षेत्रको दसगजा क्षेत्रभित्र दुवै देशले स्थायी वा अस्थायी भौतिक संरचना बनाउन नपाइने व्यवस्था छ ।