सिरहा / चितुवाको छालासहित धनुषामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने २८ वर्षीय सुनिल ढुंगेल, ३९ वर्षीय शिवकुमार महतो र धनौजी गाउँपालिका–४ बस्ने ३६ वर्षीय जयराम मण्डल रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेड क्वाटर धनुषाबाट खटिएको ६ जनाको स्क्वाइड टोलीले चेकजाँचको क्रममा तीनै जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका एसपी राजेश उप्रेतीले जानकारी दिए ।
चितुवाको छाला मोटरसाइकलमा लुकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट चितुवाको शरिरको ५ फिट छाला र पुच्छरसहित गरी ७.५ फिट लम्बाई र ४÷४.५ फिट चौडाइको रहेको छाला बरामद भएको हो । पक्राउ परेका तीनैजनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय धनुषामा बुझाइएको प्रहरी उपरिक्षक उप्रेतीले बताए । सिमा सुरक्षामा खटिने शशस्त्र प्रहरीले पछिल्लो समय अवैध हातहतियार, चाँदीका साथै तस्करीमा समेत कडाइ गरेको छ ।