यासोक । नेपाली काङ्ग्रेसका सांसद् गगनकुमार थापाले वर्तमान सरकारकै कारणले सङ्घीयता दुर्घटनामा पर्ने खतरा बढेको बताएका छन् ।
प्रदेश सरकारको अधिकारलाई केन्द्र सरकारले आफ्नो मातहतमै राखेका कारण सङ्घीयता दुर्घटनामा पर्ने खतरा बढेको बताएका हुन् । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा तरुण गोल्डकपको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले प्रदेशको अधिकार केन्द्रमै राख्ने, सङ्घीयताको नाममा राज्यको ढिकुटी रित्याउने प्रचलन बढेको सङ्केत गर्दै विदेशी सहयोग र जनताको करबाट मात्रै सङ्घीयता जोगिन नसक्ने दाबी गरे । वर्तमान सरकारकै मुख्यमन्त्रीले आफ्नो अधिकार माग्न सक्ने क्षमता नराखेकाले अहिलेको सरकारले दिगो लक्ष्य लिन नसक्ने दाबी गरे ।

उनले दुईतिहाइको बलियो सरकारले राज्यको ढिकुटीबाट खर्च गर्न मात्रै जानेको तर कमाउन नजानेको अरोपसमेत लगाए । सोही कार्यक्रममा जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, महाधिवेशन प्रतिनिधि तथा गाउँपालिका उपाध्यक्ष देवित्राकुमारी आङ्देम्बे, फाल्गुनन्द गाउँपालिकाबाट नेपाली काङ्ग्रेसका उम्मेदवार बृजहाङ आङ्देम्बेलगायत पार्टीका नेता तथा कार्यकर्ताले दुईतिहाइको सरकार असफल भएकाले उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रम तरुण दल जिल्ला अध्यक्ष सुमन लामाको अध्यक्षतामा सम्पन भएको थियो ।