धरान/ धरानमा जैविक–अजैविक गरी दैनिक ३० देखि ३५ टन फोहोर उत्पादन हुन्छ । त्यो फोहोर कोशी सडक–खण्डको सेउती पुलभन्दा सय मिटर माथि डम्पिङ गर्दै आएको छ ।

वातावरणीय हिसाबले जङ्गल क्षेत्रमा फोहोर डम्पिङ गर्नु खतरापूर्ण मानिन्छ । वातावरण संरक्षण ऐन २०५३, संशोधन २०७५ को दफा ९ को (१) मा राष्ट्रिय सम्पदाको संरक्षण गर्नु सबै निकायको दायित्व हुने उल्लेख गरिएको छ । तर, केही स्थानीय तह आफैले जङ्गल क्षेत्रमा नै डम्पिङ गर्दै त्यो दफाको खिल्ली उडाइरहेका छन् । धरान, इटहरीजस्ता सुनसरीका दुई उपमहानगरले फोहोर व्यवस्थापन जङ्गल क्षेत्रमा गर्दै आइरहेका छन् ।

तर, अब धरानमा उत्पादित फोहोरबाट भने ग्यास उत्पादन हुने भएको छ । काठमाडौंको ‘वेष्ट टु इनर्जी’ नामक संस्थाले फोहोरबाट ‘बायो ग्यास’ (मिथेन) उत्पादन गर्दै धरानको फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको छ । वेष्ट टु इनर्जीले धरान उपमहानगरपालिकासँग गरेको सम्झौताअनुसार २० वर्षसम्म कम्पनीले सञ्चालन गर्नेछ । त्यसपछि धरान उपमहानगरलाई हस्तान्तरण गर्ने नगरका वातावरण महाशाखाका वातावरण अधिकृत भेषराज घिमिरेले बताउँछन् ।

कम्पनीसँग २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७४ जेठ २५ गते सम्झौता भएको थियो । सम्झौताअनुसार गत जेठमै काम सम्पन्न गर्नुपर्ने हो । तर, त्योअनुसार काम हुन सकेको छैन । तर, कम्पनीका प्राविधिक परामर्शदाता विवेक अग्रवालका अनुसार केही सामानहरू सीमा क्षेत्रमा अड्किएकाले केही दिनपछि नै परीक्षणको काम हुन्छ । कात्तिकभित्रै परीक्षणको काम थालिने उनी बताउँछन् । इनर्जीले २ महिनाअगावै परीक्षण गरी उत्पादनको काम थाल्नु पर्ने हो । त्योअनुसार प्राविधिक समस्याका कारण ढिलाइ भएको परामर्शदाता अग्रवालको भनाइ छ ।

इनर्जीलाई ५ सय केजी मिथेन ग्यास उत्पादन गर्न दैनिक ५० टन जैविक फोहोर आवश्यक पर्छ । तर, धरानमा उपमहानगरमा करिब १३ टन मात्रै जैविक फोहोर उत्पादन भइरहेको दाबी परामर्शदता अग्रवालको भनाइ छ । ‘यो प्लाण्टको क्षमता ५० टनको हो, तर धरानमा त्यो मात्रामा फोहोर उत्पादन हुँदैन’ –उनले भने । दैनिक ५ सय केजी ग्यास उत्पादन गर्दै टेम्पोलगायतलाई दिने लक्ष्य कम्पनीको छ । जुन ग्यास पेट्रोलका गाडीहरूका लागि अतिउपयुक्त मानिन्छ । त्यसका लागि धरान–८ स्थित हिमालयन पेट्रोल पम्पनजिकै ग्यास भर्ने व्यवस्था गरिँदै छ । सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तर्गत यो योजना अगाडि बढिरहेको छ ।

केही फोहोर जङ्गलमै डम्पिङ
ग्यास उत्पादन शुरु भएपछि चारकोशे जङ्गल क्षेत्रमा फ्याँकिदै आएको फोहोरको समस्या समाधान हुने विश्वास गरिएको थियो । तर, इनर्जीका प्राविधिक परामर्शदाता अग्रवालका अनुसार १० देखि १५ प्रतिशत फोहोर ‘डम्प’ गर्ने जिम्मेवारी पुनः नगरपालिकालाई नै हुन्छ ।

धरानमा उत्पादित सबै फोहोर ग्यास उत्पादनका लागि उपयुक्त नहुने भएकाले त्यस्ता फोहोरलाई उपमहानगरले नै डम्प गर्नुपर्ने दायित्व हुन आउने उनी बताउँछन् । यस कुरालाई वातावरण महाशाखाका वातावरण अधिकृत घिमिरेले पनि स्वीकारे । उनी भन्छन्, ‘केही प्रतिशत फोहोर पुनः जङ्गलमै डम्पिङ गर्नुपर्ने हुन्छ ।

तर, विगतको तुलनामा एकदमै कम हुन्छ । प्लाष्टिकजन्य फोहोर कम्पनीले नै व्यवस्थापन गर्ने भएकाले अब विगतको जस्तो समस्या हुँदैन ।’ उनले पनि १५ प्रतिशत फोहोर जङ्गलमै डम्प हुने बताए । तर, विगतको तुलनामा व्यवस्थित तरिकाले डम्पिङ गरिने बताए ।

उनका अनुसार धरानमा दैनिक ३० देखि ३५ टन फोहोर उत्पादन हुन्छ । त्यसमध्ये ४० प्रतिशत जैविक रहेको छ भने ६० प्रतिशत अजैविक फोहोर उत्पादन हुन्छ । ‘बजार क्षेत्रमा बढी अजैविक फोहोर नै उत्पादन हुन्छ’ –उनले भने ।