बिर्तामोड/ उपाधिको दाबेदार मानिएको विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापाको बिर्तामोडमा जारी हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मीले पाहुना टोली मोलवे आसामलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । सेमिफाइनलमा आर्मीले सिक्किम आक्रामक एफसीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीको जितका लागि टेकबहादुर बुढाथोकीले गोलको खाता खोलेका थिए ।

खेलको छैटौं मिनेटमा रमेश भुजेलले डि बक्सभित्र मिलाइदिएको पासलाई बुढाथोकीले वान टचमा पोष्टको दिशा दिए । दोस्रो गोल नियमित स्ट्राइकर दीपक गुरुङले गरे । खेलको ७४ औं मिनेटमा मैदानको मध्यभागमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै गुरुङले गोल गरेका थिए । गुरुङको प्रहारले आसामका गोलरक्षक अल्बर्ट हमरलाई टच हुँदै पोष्टको जाली चुमेको थियो ।

आर्मीका स्कोरर टेकबहादुर बुढाथोकीले ४१ औं मिनेटमा डि एरियामा पाएको पासलाई गोल गर्न नसक्दा स्कोर दोब्बर गर्ने अवसर गुमाए । ५४ औं मिनेटमा आर्मीका भगवान श्रेष्ठको प्रहार विपक्षी पोष्टमा लागेर फर्कियो । ६४ औं मिनेटमा बुढाथोकीले पुनः डि एरियामा पाएको बललाई विपक्षी पोष्टमा फितलो प्रहार गरे । अनमार्क रहेका उनको प्रहार आसामका गोलरक्षक हमरले सहजै नियन्त्रणमा लिए ।

आसामले आर्मीको पोष्टमा कुनै जोखिमपूर्ण आक्रमण बुन्न सकेन । खेलको ७० औं मिनेटमा आसामका लालमिङलु भङकलको प्रहारलाई आर्मीका गोलरक्षक विवश चौधरीले नियन्त्रणमा लिन सकेनन् । उनको हातबाट फुत्किएको बललाई आसामकै इडवार्ड भङकलले प्रहार गरेका थिए । गोलकिपर बीट भइसकेको अवस्थामा उनले गरेको फितलो प्रहार आर्मीका डिफेन्डरले गोललाईनबाट बचाएका थिए ।

खेलको म्यान अफ द म्याच विजेता टिम त्रिभुवन आर्मीका पहिलो गोलकर्ता टेकबहादुर बुढाथोकी भए । उनले नगद १० हजार रुपैंयाँ पुरस्कार पाए । बिहीबारको खेल चर्च व्वाइज युनाइटेट काठमाडौं र गोर्खा ब्वाइज रुपन्देहीका बीच हुने आयोजक समितिले जनाएको छ ।