दलीय दासत्वको विपक्षमा

alt
  • कार्तिक २१, २०७६
  • १२७ पटक पढिएको
  • देव सुब्बा

दासत्वको लामो युग पार गर्दै नेपाली जनता सङ्घीय गणतन्त्र सम्म आइपुगेका छन् । एकात्मकवादी राज्य व्यवस्थाको अन्त्य गर्दै २०७२ को संविधान जारी भएको छ । केही असन्तुष्टिहरू राख्दै भए पनि नेपाली जनताले नेपालको संविधान २०७२ लाई स्वीकारेका छन् । एकात्मकवादी राज्य व्यवस्थाको अन्त्य भए पनि एकात्मकवादी राज्यको प्रवृत्तिको भने अन्त्य हुन सकेको छैन । आजसम्मको इतिहास एक हिसाबले एकात्मकवादको इतिहासभन्दा फरक पर्दैन । २००७ सालको नेपाली काङ्गे्रसको नेतृत्वमा भएको प्रजातन्त्र प्राप्तिका लागि भएको क्रान्ति, पञ्चायती व्यवस्था विरुद्ध भएको काङ्ग्रेस र कम्युनिष्टले गरेको संयुक्त सङ्घर्ष, पहिलो जनआन्दोलन, माओवादीले २०५२ सालदेखि सञ्चालन गरेको सशस्त्र दश वर्षे जनयुद्ध, माओवादी संसदवादी पार्टीहरूले संयुक्क्त रूपमा गरेको ०६३।०६३ को जनआन्दोल सबै ऐतिहासिक परिघटनाहरू एकात्मकवादबाट सिर्जित मानवमाथि मानवले गर्ने सबै खालका अन्याय ,अत्याचार र सबै खालका दासताको अन्त्यमै केन्द्रित र लक्षित थिए । नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको २००७ सालको क्रान्ति १०४ वर्षे जहानियाँ राणा शासनले जम्माएको दासताबाट मुक्तिको लागि गरिएको क्रान्ति थियो ।

त्यसले एकात्मकवादी राज्यको व्यवस्था विरुद्ध पर्याप्त सङ्घर्ष गर्न नसक्दा कुनै न कुनै हिसाबले एउटा एकात्मक शक्ति को सट्टा अर्को एकात्मकवादी शक्तिलाई ठाउँ (स्पेस) छोडेको देखिन्छ । त्यही ठाउँलार्ई राजा महेन्द्रले २०१७ साल पौषमा चालेको कदमले लिएको देखिन्छ । पञ्चायतले जन्माएको पञ्चायती दासताबाट राजनैतिक स्वतन्त्रताका लागि गरिएको कम्युनिष्ट काङ्ग्रेस आन्दोलनले प्रजातन्त्र पुनः प्राप्ति भएपछि पनि राज्यको एकात्मकवादी संरचना केही न केही रूपमा बाँकी नै रह्यो । जसका कारण माओवादी आन्दोलन चरम उत्कर्ष पुग्न सफल भयो । यही राप र तापबाट माओवादी संसदवादी संयुक्त सङ्घर्ष जनआन्दोलन २ सफल भयो । मधेश आन्दोलन भए । आदिवासी आन्दोलनहरू भए ।

अन्ततः राज्यका एकात्मकवादी संरचनाहरू ध्वस्त भए । नेपालमा सङ्घीय गणतन्त्रको जन्म भयो । नेपालको संविधान २०७२ ,२०७२ असोज ३ गते जारी भएपछि आम नेपाली जनताको स्वतन्त्रतालाई रोक्ने पर्खालहरूरु भन्कन्छन् र ध्वस्त हुन्छन् भन्ने जनअपेक्षा विपरित हिजोको व्यवस्थाका प्रवृत्तिहरू नै नयाँ शक्तिहरूले अपनाए र त्यही खालको अभ्यासमा लागे । जसका कारण फेरि पनि नेपाली जनताको आशा र भरोसामा तुसारापात भयो । न जनताले सोचे अनुरूप देशमा परिवर्तन आयो । न त राज्यको समग्र राजनैतिक प्रवृत्ति मै अन्तर आयो । त्यसको सट्टा संविधानमा कतै न कतै एकात्मकवादको गन्ध समेत मिसिएर आयो ।

अहिले राज्यको एकात्मकवादी संरचनाहरू ध्वस्त भए पनि एकात्मक राज्यको प्रवृत्ति हावी नै छ । जसका कारण जनतामा खासै परिवर्तन आभाष छैन । नेपाली जनताहरु परिवर्तन प्रति निकै निराश छन् । केही निश्चित दलका अवसर भोगिरहेका नेता कार्यकताबाहेक आम जनतामा बढी नै निराशा छाएको देखिन्छ । यसले जनतामा एक खालको आक्रोश समेत पैदा भएको छ । आजको दिनमा दलहरू प्रवृत्तिका हिसाबले हिजो भन्दा खासै फरक छैनन् । राजनैतिक चरित्र उही नै छ । चुनावी प्रवृत्ति उही पुरानै छ । राज्यका हरेक संरचनामा उही पुरानै सोचाइ र काम गराइको शैली हावी छ । देशको राजनीतिमा परिवारवाद, नातावाद, कृपावाद तथा अवसरवाद बढ्दो नै छ । देशमा घुसखोरी, भ्रष्टाचार र अनियमितताका सङ्ख्यामा कमी आउनको सट्टा झन बढेकै छ । अझ यसले रूप फेर्दै प्रणालीगत हुन पुगेको छ । कमसल विकासको पुनरावृति जारी नै छ । आम पार्टी नेता कार्यकर्ताहरूमा हिजो भन्दा कुनै भिन्नता अनुभूत भएको देखिँदैन । समग्र राजनैतिक संस्कार जहाँको त्यहीँ छ । यस्तो विकराल अवस्था देखेर देश छोडेका युवा तथा बौद्धिक जमातमा मुलुकमा अब परिवर्तन आउँछ भन्ने अलिकति पनि आशा र विश्वासको सञ्चार हुन सकेको छैन । जुन जोगी आए पनि कानै चिरेको भन्ने नेपाली उखानलाई चरितार्थ गर्ने परिपाटी नै बसेको छ ।

नेपाली जनतालाई हिजो राणातन्त्र हुदा काङ्ग्रेस चाहिन्छ भनियो । काङ्ग्रेसले सबै ठीक गर्छ भनियो । काङ्ग्रेस सत्तामा आयो । काङ्ग्रेस सत्तामा आएपछि पञ्चायत चाहिन्छ भनियो । पञ्चायत लादियो । पञ्चायत हुँदा फेरि काङ्ग्रेस कम्युनिष्ट चहिन्छ भनियो । फेरि काङ्ग्रेस आयो, एमाले चाहिन्छ भनियो अनि एमाले आयो । माओवादी चाहिन्छ भनियो । माओवादी पनि सत्तामा आएपछि राजा प्याक्नु पर्छ भनियो । कम्युनिष्टको दुई तिहाई सरकार चाहिन्छ भनियो । जनताले दुईतिहाईको सरकार जनताले कम्युनिष्टलाई दिए । तर, कम्युनिष्टहरूको प्रवृति पनि आखिर उही छ । यस्तो आखिर किन भएरहेको छ ? भन्ने प्रश्नको उत्तर खोज्न हामी चाइना अमेरिकातिर तेर्सिनु पर्ने आवश्याकता छैन । हामीले व्यवस्था र सत्तालाई दोष दिइरह्यांै । तर, नेपालका सक्ताधारीहरूमा जहिल्यै सकरात्मक सोच, प्रवृत्ति र संस्कारको कमी रह्यो । पार्टीहरूले जहिल्यै पनि देश र जनताको सट्टटा आफ्नो पार्टी र नेता कार्यकर्तामा ध्यान दिए । सधै नेपाली जनतालाई या त आफ्नो भोट भकारीको रूपमा प्रयोग गरे । या त आफ्नो सङ्गठनको जालोमा बाँधेर दासता निर्माणको योजनामा सधैं लागरहे ।

हामी आम नेपाली जनताले सबै प्रकारको दासत्वको अन्त्य गर्न सङ्घर्ष गर्दा गर्दै यही दलीय दासत्वको पिँजडामा परेको पत्तो पाएका छैनौं । यही दासताले हामीलाई गाँजेको छ । यसको मतलब यो होइन कि हामी दलीय व्यवस्थाको विपक्षमा छौं । तर, दलीय व्यवस्थाको आडमा दलहरूले लादेको दासता हामीले नजानिदो तरिकाले स्वीकार गरेका छौं । जनता यस खालको प्रवृत्तिको विपक्षमा उभिन आवश्यक छ । जबसम्म हामी यस खालको प्रवृत्तिको विपक्षमा उभिन सक्दैनौं तबसम्म साँचो अर्थमा न नेपालमा विकास हुन्छ, न शान्ति आउँछ , न संमृद्धि न त परिवर्तन नै । जब दलका नेता कार्यकर्ताभित्र पनि समालोचनात्मक दृष्टिकोण तथा हेराइको विकास हुँदैन तबसम्म राज्यको प्रवृत्तिमा परिवर्तन आउँदैन । दलहरू जबसम्म पार्टीहरूलाई दलीय दास जम्माउने अथवा बनाउने फ्याक्ट्री तथा उद्योगका रूपमा चलाउने सोच तथा योजना बनाइरहन्छन् र आम जनताले कहीँ न कहीँ आफ्नो सानो व्यक्तिगत स्वार्थ पूरा गर्न यस्तो सोचको प्रश्रय गरिरहन्छौं । यस्तो स्थिति रहेसम्म देशमा परिवर्तन आउँदैन । अहिले आम जनताले यो प्रवृतिको पहिचान गर्ने र आफू र आफ्नो दललाई सुधार्ने बाहेक यसको कुनै अर्को औषधि छैन । यसका लागि दलीय आबद्धता र दासताबीचको अन्तर केलाउन सक्ने क्षमता आम जनता, पार्टीका नेता कार्यकर्ता सक्षम हुन जरुरी छ ।

दलीय दासत्वका विशेषताहरू
१. राजनीतिक पेशा
दक्षिण एसियाली मुलुकहरूमा राजनीतिक पेशा हावी भएको पाइन्छ । नेपालमा नेपाल एकीकरण संगै स्थापना भएको राजतनत्र हुदै काङ्ग्रेस, पञ्च, एमाले, माओवादी र नेकपाको युगसम्म आइपुग्दा चरम अभ्यासमा रहको पाइन्छ । राजनीति बाहेक अन्य कुनै खालको आर्थिक उर्पाजनको काम नगर्ने, व्यावसायिक सोच नराख्ने, श्रम नगर्ने, आफ्नो जीवनको सम्पूर्ण समय राजनीति मै बिताउने प्रवृत्तिको विकास भएको छ । हिजो युग परिवर्तनका लागि धेरै पार्टीका नेता कार्यकता पूर्णकालीन कार्यकताका रूपमा काम गर्नुपर्ने आवश्यकता थियो । राजनीतिमा सामान्य समयले मात्र युग परिवर्तन गर्नका लागि पर्याप्त नभएकाले पनि यस्तो प्रवृति आम नेपाली जनता माझ पाच्य नै थियो । हिजो २५० वर्ष लामो राजतन्त्र फ्याँक्न राजनीतिमा सामान्य समय मात्र होइन, जीवन आहुती दिन समेत जनता तयार हुनुपथ्र्यो र भए पनि । तर, आज सङ्घीयता आएको छ । गणतन्त्र आएको छ । आम नेपाली जनताले शान्तिपूर्वक समृद्धिको बाटो हिंड्न आफ्नो काम गरेर खाने वातावरण राज्य र सरकारले तयार गर्नुपर्दछ । पार्टीले जनताका लागि राम्रो योजना, विकासका लागि भिजन ल्याउनु जरुरी छ ।

सुसंस्कृत राजनीति संस्कारको विकास गर्न जरुरी छ । यस्तो गर्नु भन्दा पनि पार्टी नेता कार्यकर्ताहरूमा पार्टीका हरेक कदमलाई स्वीकारेर अगाडि बढ्नुपर्छ भन्ने मानसिकता हाबी भएको पाइन्छ । नेपालमा अब आर्थिक क्रान्ति गर्नका लागि आम नेता कार्यकर्ताले श्रम गर्ने , उद्योग धन्धा खोन्ने, कुनै व्यवसाय अँगाल्ने क्रियाकलापमा सहभागी हुनको सट्टा आफ्नो जीवनको महŒवपूर्ण समय सामान्य राजनीतिक चलखेलमा बिताउने संस्कार स्थापित हुन पुगेको छ । यो चरम अवस्थामा पुगेपछि यसले अहिले परिवारवाद, नातावाद, कृपावाद भ्रष्टाचार, घुसखोरी, अनियमितता व्याप्त भएकोे पाइन्छ । यहाँसम्म कि मह काढ्नेले हात चाट्न पाउँछ भन्ने हाम्रो परम्परागत भोर्गाको आडमा अलिअलि दायाँ बायाँ गर्नु स्वाभाविक हो भन्ने बुझाइ आम जनतामा स्थापित भएको छ । इतिहासमा हिजो राणा,पञ्च, र काङ्ग्रेसले यसको चरम अभ्यास गरेकै कारण जनताबाट उनीहरू तिरस्कृत हुन पुगे । आज दुई तिहाईको कम्युनिष्ट सरकार समेत त्यही बाटोमा हिँडिरहेको छ । त्यही प्रवृत्तिलाई दोहोराइ रहेको स्पष्ट छ । यो प्रवृत्ति नेपालमा रहेका आम पार्टीहरूको प्रवृत्ति नै बन्न पुगेको छ ।

विकसित मुलुकहरूमा कुनै दलका नेता कार्यकर्ताहरूले बिना कुनै पेशा राजनीति मात्र गर्ने कुरालाई घृणाको रूपमा लिइन्छ । आर्थिक उपार्जन अथवा कुनै पेशा विनाका नेताहरू अन्ततः भ्रष्ट, घुसखोरी र अनियमितताका भागीदार हुन्छन् । नेपालीे जनतामा यस्तो मानसिकताको विकास भएको छ कि मानिसहरू हरेक कुरामा पूर्वधारणा तयार गरेर प्रस्तुत भएको भेटिन्छन् । हरेक कुरामा कुनै न कुनै खालको पूर्वाग्रही आँखाले हेर्न खोज्ने प्रवृत्ति हाबी भएको छ । आफ्नो पार्टीका नेता कार्यकर्ताको जस्तोसुकै खराब काम र विचारहरूलाई सकेसम्म पक्षपोषण गर्ने, संरक्षण गर्ने अवस्थामा नेता कार्यकर्ताहरू भेटिन्छन् भने अरू पार्टीको जतिसुकै राम्रो कुरालाई समेत सुन्नु हुँदैन भन्ने मान्यताबाट समेत अभिप्ररित भएका भेटिन्छन् । पाटीका शीर्ष नेताहरूले अझ पनि आफ्ना नेता कार्यकतालाई यही संस्कार र शिक्षण गरिरहेका छन् । यहाँसम्म कि आज राजनैतिक विभाजन समाजमा यति चरम छ कि विपक्ष मत भएका व्यक्ति तथा पार्टीलाई कुनै पनि सदासयता, सहनुभूति, सहयोग पुर¥याउन नहुने तथा सहकार्य गर्न नहुने मानसिकताको विकास भएको छ ।

संविधानमा जात, धर्म, लिग, अपाङ्गता र राजनैतिक आस्थाका आधारमा कुनै खालको भेदभाव गर्न नहुने व्यवस्था भए पनि समाजमा यसको बिजारोपण हदैसम्म राजनीतिलाई पेशाको रूपमा लिने प्रवृत्तिका कारण भएको छ । यसले सामान्य जनता स्वतन्त्र रहेर स्वतन्त्र निर्णय गर्नबाट वन्चित छन् । कुनै पार्टीमा नलागी आम नेपाली जनता को हैसियत नहुने जस्तो अवस्था निर्माण भएको छ । कुनै मानिसले सामान्य न्याय पाउन समेत राजनीतिको पुच्छर समाउनुपर्ने, विभिन्न पार्टीका नेता कार्यकर्ताको भनसुन गर्नुपर्ने आवस्था छ । आखिर यही अभ्यासले दलीय दासत्वको अभ्यासलाई निरन्तरता दिएको छ । यसले हरेक सामाजिक संरचनाहरूलाई समेत गाँजेको छ । विभिन्न उपभोक्ता समूह, महिला सञ्जाल, नागरिक समाज, सामाजिक सङ्घ संस्था, कला क्षेत्र, प्राज्ञिक क्षेत्र सबैलाई आफ्नो कब्जामा लिएको छ । यसले विशुद्ध समाजसेवा भन्दा पार्टीको स्वार्थ पूर्ति गर्नका लागि समूह परिचालित छन् भन्ने स्पष्ट पार्दछ ।

२. पेशागत राजनीति ( पेशामा राजनीति )
राजनीतिक पेशाको चरम अभ्यासका कारण आज हरेक पेशामा अनिवार्य राजनीति घुसेको पाइन्छ । पेशै पिच्छे राजनीति, दल पिच्छे पेशागत सङ्घ सङ्गठन निर्माण भएका छन् । आज कर्मचारी तन्त्र, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, सहकारी क्षेत्र, प्रत्रकारिता, मजुदर, स्कुल, क्याम्पस, विश्वविद्यालय कुनै यस्तो क्षेत्र छैन जहाँ पार्टी नै पिच्छे कर्मचारी सङ्गठन निर्माण नभएका हुन् । जनताको सेवा गर्ने बसेका कर्मचारीहरू पार्टीको मतियार जस्तो हुन पुगेका छन् । योग्य र संभावना भएका कर्मचारीहरू कुनै न कुनै पार्टीका पुच्छर नसमाती उनीहरूको योग्यताको कदर हुन नसक्ने अवस्था छ । पार्टीको पुच्छर समाएकै कारण केही कर्मचारीहरूले पदोन्नति लिइरहेका छन् । पाटीहरूलाई सलामी चढाएका छन् । जनतालाई सेवा दिने काम छायामा परेको छ । शिक्षा क्षेत्रमा राजनैतिक नकरात्मक प्रभावका कारण शैक्षिक वातावरण अशोभनीय हुन पुगेको छ । सामुदायिक स्कुल, क्याम्पस तथा युनिभरसिटी प्रति आम नेता कार्यकताहरू कै भरोसा उडेको देखिन्छ ।

कतिपय शिक्षक, प्रध्यापकहरूको राजनैतिक पहुँच कै आधारमा अवसर पाउने प्रथा प्रचलन छाएको छ । आर्थिक सलामी चढाएकै आधारमा आज अवसर पाउनेहरू आज युनिभर्सिटी बदनाम गरिरहेका छन् । प्राज्ञिक क्षेत्रको भावना नबुझ्नेहरूले आज युनिभर्सिटीको अङ्क, प्रमाणपत्र मात्र होइन गोल्ड मेडलसमेत बेचिरहेका छन् । आज कतिपय डाक्टरहरू अस्पतालमा कसरी जनतालाई राम्रो सेवा पु¥याउने भन्दा पनि पार्टीमा लागेर कसरी आफ्नो स्वार्थ पूर्ति गर्ने भन्ने कुरामा कुदेका भेटिन्छन् । सामान्य डिन हुनलाई लाखौं करोडौंको चलखेल भएको भेटिन्छ । इञ्जिनियरहरू पार्टीको पछि दौडिरहेका भेटिन्छन् । पत्रकारहरू जनतालाई कसरी सुसूचित गर्ने भन्दा पनि कसरी आफू संलग्न पार्टीको पक्षपोषण गर्ने भन्ने कुरामा लागेका भेटिन्छन् । मजदुर कुनै उद्योगभन्दा बढी पार्टीको मजदुर भएको भेटिन्छ ।

यस्तो प्रवृत्तिले राज्यका संयन्त्रहरू प्रभावहीन बन्न पुगेका छन् । पेशा र राजनीतिलाई अलग गर्ने कुरामा दलहरूको कुनै सक्रियता नहुँदा जनसेवा प्रवाह गर्ने निकायहरू जनतालाई सजाय दिने तथा सास्ती दिने ठाउँमा परिणत भएका छन् । यसले समाज र राष्ट्रमा परिवर्तन गर्न सकारात्मक योगदान गर्न सकेको छैन । यही परिपाटी रहिन्जेल नेपाली जनताको विकास, समृद्धि र परिवर्तनको आकाङ्क्षा पूरा हुन सक्दैन । पार्टीहरूले राज्यका निकायहरूलाई राजनीति मुक्त गर्नुपर्नेमा झन् यसलाई लादिरहेका छन् । यस्तो दलीय दासत्वबाट देश र जनता मुक्त हुनुपर्छ । पेशा र राजनीतिलाई अलग गर्न जरुरी छ । अथवा आजको सन्दर्भमा समाजलाई, देशलाई समृद्धितिर लाने हो भने पेशालाई राजनीतिबाट टाढा राख्न जरुरी छ । हो, हिजो युग परिवर्तनका लागि कुनै पेशा अपनाएका पेशाकर्मीहरूले राजनैतिक भूमिका पनि खेल्न जरुरी थियो । तर, अब देशमा परिवर्तन र आर्थिक क्रान्ति गर्न सामान्य राजनैतिक चासो लिएर आफ्नो पेशा प्रति इमानदार हुन आम पेशाकर्मीहरू तयार हुन जरुरी छ ।

३. राजनीतिमा सिन्डकेट
राजनीतिलाई पेशाका रूपमा लिने प्रवृत्तिका कारण उब्जिने प्रमुख समस्या राजनीतिमा सिन्डिकेट पनि हो । यसले नेता कार्यकर्ताको पालो प्रणालीलाई संस्थागत गरेको छ । पार्टीभित्र नेताहरूको मूल्याङ्कन पार्टीमा कसले पहिला झोला बोक्यो भन्ने कुराबाट अभिप्ररित भएको पाइन्छ । बुढाहरूले पार्टीको नेतृत्व कहिल्यै नछोड्ने, पालो प्रथामा बाँडी चुँडी आफै मात्र खाने चलन बढेको छ । समूह निर्माण गर्ने, पार्टीभित्र समूह सञ्चालन गर्ने , त्यही समूहको आडमा आफू टिकीरहने प्रवृत्ति विकास भएको छ । यसले पार्टी भित्रका क्षमतावान् युवा, नेता कार्यकर्ताले आफ्नो पालोको लागि सङ्घर्ष गर्दागर्दै पर्खँदा पर्खँदै , शीर्ष नेताहरूको ढोका चहार्दा चहार्दै आफ्नो योग्यता, क्षमता, र सम्भावना गुमाउन पुग्छन् । पार्टीमा सिन्डिकेट प्रणालीले होनाहार युवाहरूलाई अगाडि बढाउनको सट्टा रोक्ने विधिविधानहरू तयार गरेका हुन्छन् ।

यसले ऊर्जाशील तथा सिर्जनशील युवाहरूबाट देश र जनताले पाउने लाभ त्यतिकै खेर गइरहेको छ । जसरी पनि सत्ता, कुर्सीमा पुग्नुपर्छ । शक्तिको लगाम आफ्नो हातमा भइरहनुपर्छ भन्ने मान्यताले सबैभन्दा खराबी नेपाली राजनीतिमा ल्याएको छ । नेता खराब छन् भन्ने सोचाइ आम जनतामा विकास हुन पुगेको छ । राजनीतिमा समेत युवा पुस्ताको कुनै आर्कषण छैन । राज्य तथा सरकारले युवाहरूका लागि आम जनताका लागि न देशमा कुनै अवसर पैदा गर्ने काम गरिन्छ । न सुरक्षित भविष्यको ग्यारेन्टी राज्यले दिन सक्छ । यसले बौद्धिक पलायन, पुँजी पलायन, श्रम पलायनलाई समेत प्रश्रय दिएको छ । हजारांै बौद्धिक शक्ति विदेशिएका छन् । लाखौ युवा शक्ति विदेशमा शारीरिक श्रम गर्न पुगेका छन् । स्वर्गजस्तो देश सुनसान जस्तो भएको छ । अझ नरकजस्तो बनेको छ । एक पटक विदेशिएका जनता देशमा फर्किएर केही गरौं भन्दा भन्दै पनि फेरि विदेशिन बाध्य छन् । यस्तो राजनैतिक सिन्डिकेटले राजनीतिमा लागेका आम युवाको भविष्य समेत अन्धकारमय बनाएको छ ।

४. पार्टी र कार्यकता केन्द्रित राजनीति
राजनीति जहिले पनि राष्ट र जनता केन्द्रित हुनुपर्दछ । राजनैतिक पाटीहरूले आफ्नो स्वार्थ सिद्ध गर्न यस्तो जञ्जाल बुनेका छन् कि त्यसमा पिँजडामा चरी झैं आम जनता पारिएका छन् । विचारको दास हुनु नराम्रो कुरा होइन । तर, जब हामी दलीय दासत्व कायम गर्न खोज्छांै अथवा स्वीकार गर्छैां । त्यतिबेला राजनीति पार्टी र पार्टी कार्यकर्ता केन्द्रित हुन्छ । जब राजनीति पार्टी र पार्टी कार्यकर्ता केन्द्रित हुन्छ तब सबै खालका मानिसको पार्टीलाई आवश्यकता पर्दछ । पार्टीमा गुण्डा, दलाल, अथवा जस्तो सुकै आर्थिक सहयोगदाताको आवश्यकता पर्दछ । उनीहरूको सहयोग पार्टीले लिएपछि उनीहरूको स्वार्थ पार्टीले पूरा गर्नुपर्ने हुन्छ । यो गोल चक्करभित्र पार्टी, नेता, कार्यकर्ता घुमी रहँदा देश र आम जनताको हालत दयनीय हुन पुग्दछ । पार्टी मोटाउने, नेता कार्यकर्ताको भुँडी भर्ने परिपाटीको विकास हुन पुग्दछ भने देशको अर्थतन्त्र डामाडोल हुन्छ ।

आम जनताको दैनिक जनजीविका कठिन बन्छ । अहिले परिवर्तन गर्छौं भन्ने आजका पार्टीहरू यस्तै भएका छन् । केही निश्चित दलका नेता कायकर्ता केन्द्रित दलहरूलाई फाइदा र राहत होला तर आम जनता र देशलाई ठुलो घाटा छ । आम नेपाली जन्मदै ४०००० रुपैयाँको हाराहारीमा ऋण बोकेर जन्मनुपर्ने अवस्था छ । जनताले आफ्नो पेट काटेर कर तिर्नुपर्ने अवस्था छ भने त्यही कर देशलाई बोझ हुने गरी संसद सङ्ख्या, मन्त्रीको सङ्ख्या, उनीहरूको विभिन्न नाममा अरौटे भरौटे, स्थानीय निकायका प्रमुख तथा वडाध्यक्षहरूले तलब भत्ताको रूपमा सेवा सुविधा उपभोेग गरिरहेका छन् । यो परिपाटी आर्थिक हिसाबले देशले थाम्ने अवस्था छैन । यस्तै प्रवृत्तिको शिकार भई नेपालबाट बाहिरिनु परेका युवा तथा महिलाहरूले विदेशमा दुख गरेर कमाएको रेमिट्यान्सले देश चलिरहेको अवस्था छ । देशको व्यापार घाटाले झण्डै बजेटको आकार छोएको छ ।

५. अर्थ केन्द्रित राजनीति
भ्रष्टाचारले संस्थागतभन्दा अझ जटिल रूप लिँदै प्रणालीगत हुन पुगेको छ । व्यक्तिगत र संस्थागत भ्रष्टाचार, घुसखोरी तथा अनियमितताको प्रमाण भेट्न सकिन्छ । तर, जब यसले प्रणालीगत रूप लिन्छ अनि यसलाई अनुभव मात्र गर्न सकिन्छ । सामान्य प्रमाण भेट्न सकिन्न । पार्टीहरूको आर्थिक पारदर्शिता कतै छैन । पार्टीका कुन समूहले कोसँग कुन प्रयोजनका लागि रकम सञ्चालन गरेको छ, त्यो आम जनतालाई थाहा हुने अवस्था छैन । सोझा सिधा नेता कार्यकर्ताले दशकांै देखि लेबीको नाममा पार्टीलाई आर्थिका सहयोग गरिराखेका छन । करोडौ आर्थिक सहयोग पु¥याउने, व्यापारी, भूमाफिया, दलालहरूले पार्टीको आधारभूत सिद्धान्तको ज्ञानविना पार्टीमा हैकम चलाएका छन् । यस्तो प्रवृत्तिले एकातिर पार्टी भित्र इमान्दार, कर्तव्यनिष्ठ कार्यकर्ताको अपमान हुने अवस्था छ भने पार्टीहरूमा माफियाहरूको कब्जा हुने अवस्था छ ।

हाम्रो निष्कर्ष । हाम्रो धारणा । हाम्रो बाटो
आम परम्परागत तथा चालु राजनैतिक प्रवृत्तिले देशको साँचो अर्थमा विकास, समृद्धि, परिवर्तन तथा आर्थिक क्रान्तिका लागि कुनै खालको सकारात्मक योगदान पु¥याउँदैन । यस्ता खालका सबै खालको दासत्वको अन्त्य हुनुपर्दछ । दलीय दासत्वको पनि अन्त्य हुन जरुरी छ । यस्तो प्रवृत्तिबाट सबै पार्टीका नेता कार्यकर्ता तथा आम जनताले मुक्ति पाउनुपर्छ । आफ्नो योग्यता, क्षमता र संभावनाका आधारमा सबै जनतालाई सरकार तथा राज्यले अवसर दिनुपर्दछ । देश, समाज, राष्ट परिबर्तनको नाममा आफ्ना नेता कार्यकर्ता र पार्टीको बारेमा पोषण गर्नु राजनैतिक अपराध हो । यसले देशलाई कहीँ कतै पु¥याउँदैन । हिजो राणा, पञ्च, शाह , काङ्ग्रेसहरू यही कारण जनताबाट तिरस्कृत हुन पुगेका छन् । आज नेकपाको पालो सत्ताको आसन हाँक्ने समयमा पनि यस्तै चरित्र, प्रवृत्तत हाबी हुन गएको छ । यो कम्युनिष्टको मात्र होइन आम नेपाली राजनैतिक दलहरूको चरित्र बनेको छ । यसलाई समयमै सच्याउन पार्टी भित्र र बाहिर दुवै क्षेत्रबाट पार्टीका नेता कार्यकर्ता र आम सचेत जनताले मिलेर काम गर्न जरुरी छ । यसका लागि समयमै पार्टीहरूको प्रवृत्ति परिवर्तनका लागि एक स्वतन्त्र फोरम सञ्चालन हुन जरुरी छ । नत्र यसले देशलाई बर्वादीतिर धकेल्ने निश्चित छ । यही फोरम नै परिवर्तन नेपाल अभियान हुन सक्छ ।
अभियन्ता
परिवर्तन नेपाल अभियान

यौन धन्दामा लगाउने भ ...

विराटनगर /  अवैध यौन धन्दामा लगाउने एक जना भारीतय ...

१२ दल र ११ स्वतन्त्र ...

देउराली । आगामी मंसीर १४ मा हुन गइरहेको उपनिर्वाचनकालाग ...

अपडेट : दिल्ली पब्लि ...

धरान / गत भदौं २० गते राती धरान–१८ स्थित वीप ...

क्याम्बोडियन सरकारको ...

धरान / यही नोभेम्वर २१ देखि क्याम्वोडियामा हुने एस ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved